सुष्मा दाहाल
चिसो रात थियो। बादलले आकाश ढाकेको थियो। सडकका बत्तीहरू उज्यालो फ्याँक्न नसक्ने गरी धमिलो भइसकेका थिए। ती बत्तीहरूको नियति नै यस्तो थियो— उज्यालो दिन खोजे पनि अँध्यारोमै डुब्नुपर्ने।
कृष्ण पुलमुनि बसेर थरथर काँपिरहेको थियो। उसको जिन्दगी पनि ठ्याक्कै ती बत्तीहरूजस्तै थियो— जति प्रयास गरे पनि उज्यालोको यात्रा पूरा गर्न नसकेको।
बिहानै मालिकले कारखानाबाट निकालिदियो। पन्ध्र वर्षको नोकरी एक शब्दमै टुङ्गियो— “अब तिमी आवश्यक छैनौ!”। कृष्ण झस्कियो। उसको उमेरले अब नयाँ कामका लागि ढोका खोल्दैनथ्यो। साहुहरूलाई ताजापन चाहिन्थ्यो, सस्तो श्रम चाहिन्थ्यो।
संसार अँध्यारिँदै गयो। चौरमा ठिङ्ग उभिएको एउटा रूखले उसलाई नियालिरहेको जस्तो लाग्यो। हावाको झोक्काले त्यसका पातहरू फरफर उडाइरहेको थियो, मानौं भन्दै थियो— “जिन्दगी पनि यस्तै हो, जति सम्हाल्न खोजे पनि उड्न बाँकी नै रहन्छ।”
ऊ भोकले चिमोटिरहेको पेट थिचेर उठ्यो। एउटा होटलको पछाडि थुप्रिएको फोहोरमा उसले केही खोज्न थाल्यो। केही सुक्खा रोटी भेट्यो र झिँगा भन्किरहेको बासी तरकारीको पोको बटुल्यो। उसले गन्धलाई उपेक्षा गर्यो, स्वादलाई भुल्यो। यो कुनै पहिलो पटक थिएन।
त्यही बेला छेउबाट एउटा गाडी गयो। चिल्ला सिसाभित्र सुट-बुटधारी व्यक्तिहरू रसरङ्गको उन्मादमा झुमिरहेका थिए। चर्को हाँसोको आवाज बाहिरसम्म आइरहेको थियो। कृष्णले आफ्नो हातको खाना र गाडीको झिल्कोमा परावर्तित आफ्नो धमिलो अनुहारलाई एकसाथ हेर्यो। उसले त्यहाँ एउटा भोकै छटपटाइरहेको शरीर देख्यो, जसको छायाँसमेत धमिलिएको थियो।
“के जिन्दगी यस्तै हो?” उसले मनमनै सोध्यो।
रात थप गाढा भयो। उसले अँध्यारो सडकमा पाइला अघि बढायो। यतिबेलासम्म आकाशका तारा पनि लुकेर गइसकेका थिए।
ऊ हिँडिरह्यो। तर उसलाई थाहा थिएन, अँध्यारोतर्फको उसको यो यात्राले कुन गन्तव्यमा पुर्याउने हो।


