डा. नवीनबन्धु पहाडी
शकुनि पासा फ्याँकिरहन्छ
र उग्राउँछ, मूल चुसेर नपुगेपछि,
चाटिरहन्छ भाँडावर्तनको लेस पनि।
शकुनि
मेरो इमान देख्दैन,
परिश्रम देख्दैन
र देख्दैन आफ्नो बाहेक कसैको भोक।
त्यसैले,
आजकाल शकुनि हजार आँखाले हेर्छ,
सयौँ हातले टिप्छ।
के भएको छ कुन्नि उसको भोकलाई!
मैले खाएको पनि मन पर्दैन,
मैले हाँसेको पनि रुच्दैन,
र मेरो हरेक काममा ऊ
तगारो हालेर रमाउँछ।
खासमा शकुनि आजकाल
तपाईं, तपाईं, र तपाईं पनि हो?
किंवा मभित्र पनि अलिकति सल्काइदिनुभयो हँ?
वाह! शकुनि-समय!


