जीवन आचार्य
ऐनामा हेर्यौ भने तिमीले,
भर्खर फक्रिन लागेको
अनुहारमा सजिएको मुस्कानको रङ
अनुहारसँगै फिक्का देख्छौ,
फरक प्रतिबिम्बित!
थकित आँखाहरू— त्यही ऐनामा हेर्छन्,
आफैँसँग डराउँछन्।
ऐना भन्छ: “म सत्य हुँ”—
तर सत्य पनि त
कसैले मानिदिएपछि मात्र स्थापित हुन्छ,
यो कसैका लागि सत्य हो,
कसैका लागि असत्य।
म त सोच्छु—
शायद हेराइ होइन,
ऐना बदलिएको छ।
ऐनामा ऐनामात्र छैन,
समाजले कोरेका रेखाहरू छन्,
सभ्यताहरू छन्
र समस्याहरूको निकास छ।
हो, ऐनाले सधैँ उस्तै देखाउँदैन—
शायद ऐनाको प्रकृति फरक छ।
बागमती, सर्लाही


