कुमार दाहाल ‘कुसुम’
छन्द: तोटक
गण सङ्केत: iis iis iis iis
जति जीवनको अवतार भयो
त्यति संस्कृतिको नवधार भयो
जति चिन्तनले सपना सजियो
त्यति सुन्दर जीवन सार्थक भो
||१||
अविराम नदी पनि जीवन हो
शिरपोस हिमाल त कञ्चन भो
हिउँ मार्ग भयो नभका पथमा
सब पुग्न सकून् नभका तटमा
||२||
रविको पहिलो रचना शिरमा
दुलहीपनमा सजियो गरिमा
सब लालन पालनमा छ धरा
अब उर्वर हुन्छ सधैँ पहरा
||३||
जब मृत्यु बुझेँ रजनीतलमा
भयभीत हुँदै म उठेँ बलमा
धमनी र शिरा अविनाश थियो
अनि मात्र बचेँ मनमा रचियो
||४||
धनले मन पूर्ण भएन सधैँ
तर लोभ अझै लुकिदिन्छ कतै
नभनूँ मन मान्छ कहाँ यसरी
म भनूँ त कटाक्ष खपूँ कसरी?
||५||
मनभित्र विशाल छ विश्व अझै
जगमा भवसागर सूक्ष्म सबै
कटु रङ्ग सधैँ घुलियो रसमा
रस पाउन चित्त भयो वशमा
||६||
क्षण मात्र सुवासित जीवन यो
परिपाक हुने मन कर्मठको
महिमा गतिलो छरियोस् जगमा
शुभ सोचसँगै शुभ होस् सबमा
||७||
बागमती, सर्लाही


