स्तन –
सिर्फ शरीर होइन,
सृष्टिको पहिलो द्वार हुन् ती,
जहाँ ब्रह्मको धार
दूध बनेर बग्छ ।
यहीँबाट बालकले सिक्दछ—
आमाको अर्थ,
स्पर्शको धर्म,
र प्रेमको आरम्भ ।
यिनैभित्र लुकेको छ त्यो गुप्त सङ्गीत,
जसले पुरुषको चेतना जगाउँछ,
र स्त्रीको करुणा
देवत्वको रूप धारण गर्छ ।
स्तन –
वासना पनि हुन्, वात्सल्य पनि ।
जसरी अग्नि – पोल्छ पनि,
न्यानोपन दिन्छ पनि ।
दर्शन भन्छ –
शरीरको बीचमा रहेको यो युग्म
सृष्टिको द्वैत लीला हो,
जहाँ रति र मातृत्व
एउटै सासमा भेटिन्छन् ।
जब पुरुष
वासना दृष्टिले हेर्छ –
ऊ संसारमा बाँधिन्छ ।
जब प्रेम दृष्टिले हेर्छ –
ऊ मुक्त हुन्छ ।
किनकि स्तन
स्त्रीको शरीर मात्र होइन,
जीवनको चिरन्तन घोषणा हुन् –
“म सृष्टिकर्ता हुँ,
म अन्न हुँ,
म अमृत हुँ ।”
–०००–
इटहरी, सुनसरी


