मूल घरको मूल थाम ढलेपछि
निदाल खस्यो, दलिन खस्यो,
झरे चिर्पट र तलो छापेको माटो,
खुस्कियो चुकुल, भाटा र पाखा–दलिनको ठेडी ।
मेरो पुरानो घरमा
हजुरबा नभएको जस्तै भएको छ,
साथी ! मेरो देशको हालत ।
जगदेखि हल्लिन थालेको घर
एक–एक गर्दै
ढुङ्गा, माटो झार्दै लगिरहेछ चैतको हुरीले,
भत्काइरहेछ बर्खाको पानीले,
एउटा–एउटा ढुङ्गा ओसारिरहेछ छिमेकीले,
साँध सारिरहेछ सँधियारले ।
हजुरबा नभएको मूल घरजस्तै छ,
साथी ! देशको खबर ।
मेरा हजुरबा स्वर्गीय भएको दिनदेखि
हेप्न थाले छिमेकीले,
घरभित्र छिराउन थाले मुसाका बथान,
बिच्छी, सुलसुले र
दूध पिएर विष ओकल्ने सर्पहरू ।
मेरो हजुरबा नबसेको खाली फलैँचाजस्तै छ,
साथी ! देशको दृश्य ।
मुसाहरूले भित्रभित्रै खनिरहेछन्
घरको दलानदेखि चोटासम्म र खोक्रो बनाइरहेछन् ।
बिच्छीले डसिरहेछन्, पोल्ने गरी,
सुलसुले सल्बलाइरहेछन् र सुत्न दिँदैनन्,
बितिरहेछन् अनिदा रातहरू ।
तिनको बथानले ओहोरदोहोर गरिरहँदा
दिनले उदास मानिरहेछ ।
सर्पलाई दूध पिलाएर पाले पनि विष वमन गरिरहेछ ।
घरमा मेरा हजुरबा नभएको दिन
लागेको साँझको दैलो जस्तै छ,
साथी ! देशको कथा ।
मेरो हजुरबा घरको छाना हुनुहुन्थ्यो,
त्यो पनि झिँगटीको छानाजस्तै बलियो
जसले घाम–पानी, हावाहुरी,
वर्षा–बादल सबै छेकिन्थ्यो ।
छाना ढलेपछि,
झरेको झिँगटी छिमेकीले आँखा छलेर लिएर गए ।
प्रत्येक दिन एक–एक गर्दै हराइरहेका छन्—
झ्याल, ढोकाका खापा र चौकोसहरू ।
हरायो झ्यालमाथिको रामायणको पुरानो किताब,
हरायो भोजपुरे खुकुरी,
हरायो ढिकी, मदानी र नेती ।
मेरा हजुरबाले घण्टी नबजाएको साँझजस्तै छ,
साथी ! देशको पटकथा ।
अचानक हराउन थालेका छन् पूजा चौकाको चकटी,
हरायो पूजाको खटिया,
हरायो पूजा गर्ने शालिग्राम
र शालिग्राम धोएर राख्ने पित्तलको बाकस ।
छिमेकी दुष्टहरूले भत्काइरहेछन्,
साँझको दियो जलाउने थान ।
हजुरबा सुत्ने पलङको एउटा खुट्टा
तल्लो घरको छिमेकीले लगेछन्,
अर्को माथिल्लो घरकाले लगेछन्,
बाँकी दुई खुट्टा वरपरका
मिलेर लिइरहेका छन् ।
हजुरबाले पूजा नगरिएको चौकाजस्तै छ,
साथी ! मेरो देशको सुनाउनुपर्ने पुराण ।
हजुरबाविनाको लथालिङ्ग मेरो घर
अब दुष्मनको कब्जाबाट टाढा हुनेछ ।
म मेरो घरको मालिक हुँ,
मेरो घरको शासन म आफैँ गर्नेछु,
म घरको स्वनिर्णय गर्नेछु ।
छिमेकीहरू ! हजुरबा नभएको घरको
मालिक म आफैँ हुँ भन्ने सम्झना छैन ?
बिस्तारै लाग बाटो, कुदृष्टि नलगाऊ,
तिम्रा दारा र नङ्ग्रा धारिलो नबनाऊ,
नतिखार तिम्रा भाला र झिरहरू ।
याद गर ! कुनै दिन
त्यो दुष्प्रयास विपरीत दिशामा घुम्यो भने
तिम्रो लागि घातक हुनेछ ।
–०००–
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



