मिना अधिकारी
झन्डै-झन्डै नजिकिएको
मृत्युसँगको घमासान युद्ध जितेपछि,
काखमा जितको अनुपम उपहार लिँदै,
ह्वीलचेयरबाट सरर गुड्दै
उदाउँदै गरेका नवआमाहरू!
वाह! जिन्दगीको जित!
विजयी अनुहारमा छचल्किएको मातृत्व,
त्यो सुत्केरी आभा!
जिम्मेवारीको सेतो कोटभित्र सजिएका
नर्सहरूका रङ्गीन किशोरी सपनाहरू,
सिप र शिक्षाले निखारिएका
तिनका परिपक्व व्यवहार,
कस्तो सादगीपन!
ती गाजल नलगाइएका आँखाहरूको सुन्दरता!
प्रसूति गृह जानुभएको छ?
जीवनभोगाइको उत्कर्ष र जीवनको सरलता बुझ्न
एकपटक जानैपर्ने तीर्थ हो, प्रसूति गृह!
जहाँ नारी-शरीरको संवेदनशीलता
र वास्तविक अर्थ पढ्न सकिन्छ।
जहाँ प्राकृतिक लाग्छन्,
नारी-स्तन र योनिहरू,
बरु अनावश्यक रूपमा शरीरमा थोपरिएको
लाजचाहिँ अप्राकृतिक लाग्छ।
मुटु भएको मान्छे भए त
एकचोटि चोखिन्छ दृष्टि,
जसले नारीलाई शरीर नदेखेर सर्जक देख्छ।
नत्र थाहै छ तपाईंलाई,
मांसपेशी र छालालाई लिएर
कति भ्रममा छ दुनियाँ!
बागमती नगरपालिका-५, राजघाट, सर्लाही


