रमेश खनाल
कुन सर्जकको अनुपम सिर्जना हो यो—
प्रकृति?
जसले रचेको छ संसारको सबैभन्दा शान्त,
सबैभन्दा सूक्ष्म चमत्कार!
सायद,
उसको उत्कृष्टतम कृति— फूल हो,
जो आफ्नो अस्तित्वको घोषणा
सुगन्धमार्फत मात्र गर्छ।
शब्द बोल्दैन,
दम्भ गर्दैन,
चुपचाप ओइलाउँछ,
र माटोमै विलिन हुन्छ।
तर,
त्यसै सर्जकको
सबैभन्दा त्रुटिपूर्ण रचना—
मानव हो सायद!
जो निरन्तर लडिरहन्छ उसैका विरुद्ध,
जो सृष्टिकर्ता हो।
जित्ने सपना देख्छ
तिनै मूलहरूमाथि,
जसले उसलाई जीवन दिएका थिए।
तर त्यो नासमझ मानवले
नबुझेको एउटा सत्य छ—
जब प्रकृति मौनता भङ्ग गर्छ,
जब ऊ ताण्डव नाच्छ,
मानव— केवल दर्शक मात्र रहन्छ;
असहाय, निरीह,
अनि विस्मित!
भूमिकास्थान–१, अर्घाखाँची


