रोशन सिलवाल
समाजले हामीलाई आत्मा होइन, शरीर देख्यो,
कसैले थर राखिदियो, कसैले धर्म च्यापिदियो।।
ज्ञान वंशबाट होइन,
अनुभूतिबाट जन्मिन्छ भन्ने सत्यलाई बिर्सियो,
किनभने ऊ त धर्म होइन,
संस्कारको व्याख्याकार थियो।।
तर धर्म त्यो हो:
जहाँ अर्जुनको प्रश्नमा कृष्णको उत्तर
जात होइन, कर्तव्य हुन्छ।
बुद्ध, जो क्षत्रिय थिए,
उनको ज्ञानको उज्यालो भिक्षा लिएर फैलिन्छ।।
तर धर्मगुरुहरूले
यस्तो धर्म बनाए—
जो कसैको हात छुनेबित्तिकै अपवित्र हुन्छ।
यस्तो मोक्ष बनाए—
जो थर सोधेर ढोका खोल्छ।
यस्तो जात बनाए—
जो निराकार ईश्वरलाई नै बाँड्न खोज्छ।
जब
मन्दिरको दैलो सबैका लागि उस्तै खुल्नेछ,
‘मानव’ शब्द आफैँमा पवित्र ठहरिनेछ,
करुणा पूजाभन्दा उच्च हुनेछ,
अनि
तुलसीको मठमा दलितका छोराछोरी
संस्कृतमा वेद पाठ गर्न थाल्छन्,
नदीको तटमा सबै थरका मलामी
एउटै घाटमा चिता बाल्न आउँछन्,
तब धर्म फेरि जन्मिन्छ
र सत्य सास फेर्न थाल्छ।


