कार्यक्रमको अध्यक्षता सङ्गम पुस्तकालयका अध्यक्ष भरत खड्काले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने, विशिष्ट अतिथिहरू टीकाप्रसाद पौडेल, दीपक पौडेल तथा समीक्षकहरू नन्दलाल आचार्य र पुण्य कार्की हुनुहुन्थ्यो। देशका विविध क्षेत्रका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति र सहभागिता उल्लेखनीय थियो।
‘बलिदानका कथाहरू’मा माओवादी द्वन्द्वपछिको सामाजिक विघटन, राजनीतिक अस्थिरता र मानव पीडाका गहिरा चित्रहरू प्रस्तुत छन्। समीक्षकद्वयले कथाहरूलाई “हाँसोभन्दा बढी आँसुका भाषा” भन्दै घिमिरेको लेखनलाई समयको चेतनाद्वारा सञ्चालित साहित्यिक दस्तावेज भन्नुभयो।
त्यस्तै, ‘शिखण्डी’ खण्डकाव्यमा हिमालय पौडेलले पौराणिक मिथकलाई आधुनिक विद्रोही स्वरमा ढाल्नुभएको छ। समालोचकहरूले यसलाई “कविता मात्र नभई युगको अव्यक्त पीडाको भाष्य” भनी मूल्याङ्कन गरे। प्रा.डा. न्यौपानेले भन्नुभयो, “शिखण्डी यथार्थ र विद्रोहको गहिरो समागम हो— खण्डकाव्यको नाममा युगको पुनर्परिभाषा।”
कविता वाचनतर्फ कवि ताराबहादुर बुढाथोकीको ‘झोला’ले कार्यक्रमको माहोललाई झस्कायो। प्रवास, राजनीति र विडम्बनालाई समेट्ने यो व्यङ्ग्यात्मक रचना दर्शकहरूका लागि एक झट्का थियो।
अनुसन्धाता कौशल चेम्जोङले भन्नुभयो, “लेख्नु भनेको विवेकको निवेश हो, विवेकबिना सुन्नु र लेख्नु दुवै बेमतलब हुन्।” यस्तै, प्रमुख वक्ताहरूले साहित्यिक कार्यक्रमलाई जीवन र समयको संवादस्थलका रूपमा व्याख्या गर्नुभयो।
कार्यक्रममा सांसद सम्झना पाख्रिन, साहित्यकार विन्दु दाहाल, कवयित्री मायामितु न्यौपाने, राममणि पोखरेललगायतले मन्तव्य राख्नुभयो। आयोजक संस्था सङ्गम पुस्तकालयका सल्लाहकार महेन्द्र राईले स्वागत मन्तव्यमा उक्त पुस्तकालयलाई सिर्जनात्मक अभ्यासको थलो बनाउने विश्वास व्यक्त गर्नुभयो।
समापनमा अध्यक्ष भरत खड्काले भन्नुभयो, “आज हामीले केवल दुई कृतिविमोचन गरेनौँ, समयसँग संवाद गर्ने दुई सशक्त स्वर नेपाली साहित्यमा थप्यौँ।”
यस दिन गाईघाट साहित्यको राजधानीजस्तै देखियो। ‘बलिदानका कथाहरू’ले समयलाई शब्दमा बाँध्यो भने ‘शिखण्डी’ले मिथकको आवरण च्यातेर युगको तर्क बोकेको आवाज बन्यो। उदयपुरको त्यो बिहान, शब्दहरू शक्तिमा रूपान्तरण भए— साहित्यले फेरि प्रमाणित गर्यो कि विचार नै परिवर्तनको अन्तर्नाद हो।


