सुमन स्मारिका ‘साहेबा जी’
❝
न त उसको आँखा हुन्छ,
न त आँसु,
तर उसको रुने आवाज दिगो हुन्छ
भित्तामा टाँसिएको तस्बिरको जस्तै।
शोक,
कसैको मृत्युसँग मात्र होइन—
बाँचिरहेको यादसँग पनि लडाइँ गर्छ।
निस्किँदैन पूर्ण रूपले,
बस्, कुनामा बसेर सम्झनाहरूको गन्ध सुँघिरहन्छ,
एउटा बाँच्न नपाएको प्रेमजस्तो।
एक्लै रोइरहन्छ शोक,
न शवघरमा न चिहानमा।
प्यालामा बाँकी चिसो चिया हेर्दै,
पढिनसकेको चिठीको अक्षर टुलुटुलु नियाल्दै,
रातको तीन बजेको मौनतामा हाम्फाल्दछ,
एक्लै, जसको रुने कुनै काख हुँदैन।
शोक कहिल्यै कराउँदैन,
तर त्यो चिच्याहट ऊभित्रभित्रै गुञ्जिरहन्छ—
जसरी चुकचुकाउँदै पोल्छ धुवाँरहित आगो।
र हामी भन्छौँ—
“सब ठीक हुन्छ।
समयले सबै निको पार्छ!”
तर
समयको औषधी शोकलाई असर गर्दैन,
ऊ त जिउँदो लासजस्तै सास फेर्छ,
मुटुबिनाको धड्कनमा।
एक्लै रोइरहन्छ शोक—
जुन कुरूप भएर पनि सजिएको हुन्छ सिन्दूरको थालमा,
कुनै नलेखिएको कविताको अन्तिम अनुच्छेदमा,
कहिल्यै नफर्किने मान्छेको कोटको गन्धमा।
कसैले देख्दैन शोकको बास्ना—
तर उसले सिरानी पनि भिजाउँछ,
बिस्तारामा पखेटा फैलाउँछ,
संसार निदाएको बेला त्यो भित्र पस्छ—
र सपना च्यात्न थाल्छ।
शोक सहरको भीडमा पनि अलपत्र बस्छ,
एउटी एक्ली आमाजस्तो,
जसले चिठी पर्खिएकी हुन्छिन्,
तर बुझ्नेहरू सन्देश पठाउँदैनन्,
किनकि
शोकसँग संवाद गर्नु,
यो युग अब बेकार मान्छ।
शोकलाई आजकल मान्छेले
फेसबुकमा पोस्ट गर्छन्—
‘रिप’ लेखेर,
तर शोक ‘लाइक’ गनेर बाँच्दैन,
शोकलाई त
ती झलझलाउँदा सम्झनाले गिज्याउँछ,
जहाँ उसले आफूलाई विपनामा साँचो ठान्छ,
र फेरि एक्लै कुहिँदै,
रुँदै बस्छ।
आज पनि एउटा पुरानो कमीजको,
गोजीमा शोक सुँक्क-सुँक्क गरिरहेको छ,
एउटा खोसिएको हाँसोको अवशेष,
एउटा पत्र—
जसको अन्तिम शब्द थियो:
‘म फर्कन्छु।’
तर शोक जान्दछ—
कोही फर्किँदैन र हरेक फर्किने बाटो मृत्युले लछारिएको हुन्छ।
शोक,
संसारकै सबैभन्दा एक्लो साथी हो,
जो विदाईको अभावमा जन्मिन्छ,
र
भेटको सपना बोकी हररात,
एक्लै रोइरहन्छ।
काठमाडौँ


