उपहासको हाँसोले बाटो रोक्छ,
उपेक्षाको छायाले अँध्यारो ढाक्छ ।
तिरस्कारका तीरहरूले घोच्न खोज्छन्,
दमनका पर्खालहरूले थाम्न खोज्छन् ।
तर—
धैर्य मेरो साथमा छ,
विश्वास मेरो आत्मामा छ ।
समर्पण मेरो कर्ममा छ,
दृढ संकल्प मेरो जीवनमा छ ।
उपहास त एक दिन थाक्नेछ,
उपेक्षा आफैँ ढल्नेछ ।
तिरस्कार शब्दमै हराउनेछ,
दमनको पर्खाल फुट्नेछ ।
किनकि—
धैर्यले सपनालाई सिँच्नेछ,
विश्वासले अँध्यारो हटाउनेछ ।
समर्पणले लक्ष्य सजाउनेछ,
दृढ संकल्पले विजय दिलाउनेछ ।
—०—
पीएचडी शोधार्थी
सोसियल वेल्फेयर होसो विश्वविद्यालय, दक्षिण कोरिया


