के छ हो ?
तिम्रोतिरको प्रकृतिको कायापलट
हाम्रोतिर त-
भू-माफियाको कहरले
पाखा र पहाडलाई पखाला चलेर
खोलाखोल्सी महिनावारी बेहोर्दैछ ।
छैन नि हो बरै !
फाँटहरूका सुन्दर अनुहारमा चमक
खेतका गराहरूमा परेको छ अलकत्र
फल्न छाडेका छन्
प्राण धान्ने अनगिन्ती तरकारी र बाली
बरु बदलामा फल्दैछन्
अनेक आकारका चिरिचट्ट परेका इँटा ।
हुँदै छ नि हो बिजोग-रमाइलो
झुर झेलीहरूको निगाहमा दबेर
बिचरा खोलाहरू
बाटो खोज्दै बस्तीमा छिर्दै छन् ।
बस्तीका युवाहरू
आधारभूत खुसी किन्न
आफूलाई आफैँ बेचिरहेछन्
पराई मुलुकहरूमा…!


