शरण रेग्मी
कुबेरले भन्ने गर्थ्यो: “पैसाले मान्छे बिक्दो रहेछ; खराबलाई असल र असललाई खराब बनाउँदो रहेछ; नैतिकता, समाचार, कथा, हाँसो र खुसी सबै किन्न सकिँदो रहेछ। पैसा नै मनोबल रहेछ।”
पैसाले नयाँ क्षितिज छुने धुनमा उसले पिताको नाममा रहेको खेतबारी बिक्री गर्यो। चाउरी परेर झोलिएका अनुहार लिएर बसेका मातापितासँग बिदा भई, जन्मेको घरलाई मसानघाटमा रूपान्तरण गर्दै ऊ अमेरिकातिर लाग्यो। पैसा र आधुनिकतामा रमाउने जिजीविषा बोकेर, कस्तुरी मृगले आफ्नो सुगन्ध खोजेझैँ ऊ अमेरिका पुग्यो।
उसले बिरानो देशमा धेरै सङ्घर्ष गर्यो। आफ्नो पढाइ सकेपछि रात-दिन नभनी यन्त्रवत् पैसा कमायो। अमेरिकी नागरिकता पाएपछि त ऊ यति खुसी भयो, मानौँ संसारमा ऊभन्दा खुसी प्राणी अरू कोही छैन।
महँगो कार किन्यो, अत्याधुनिक सुविधासम्पन्न घर किन्यो र मातापिताको आग्रहलाई लत्याएर एउटी उतैकी नयाँ प्रेमिकासँग विवाह गर्यो। अफसोस! केही महिनापछि नै उनीहरूको सम्बन्धविच्छेद भयो। उसलाई आफू बसेको धर्ती नै भासिएजस्तो लाग्यो। बिचरा कुबेर! उसले सम्झिन सकेका सबै देवीदेउतालाई पुकाऱ्यो, जिससलाई पुकाऱ्यो तर कसैले नसुनेपछि क्यालिफोर्निया नै थर्किने गरी रुन मन लाग्यो। ऊ आफ्नो कार र घरमा धुरुधुरु रोयो।
उसको मस्तिष्क अतीततिर विचरण गर्न थाल्यो: पैसाप्रतिको उसको मोह, मातापिताको दुःख, उहाँहरूको नेपाल फर्कने आग्रह र उसको नफर्कने अडान, पिताको जङ्गलमा भएको मृत्यु, आमा मृत्युशय्यामा छटपटिँदा नेपाल फर्कन नपाएको क्षण, मातापितालाई दागबत्ती दिन नपाएका तीता पलहरू र अन्ततः पैसाको नतिजा। मनलाई जति सम्झाउन खोजे पनि वरिपरिको सुनसानले उसलाई निरीह र असहाय बनायो।
ऊ दिनप्रतिदिन गल्दै गयो। अल्कोहल, वाइन र ड्रग्स नै उसका नजिकका साथी बने। बिस्तारै ऊ डिप्रेसनको रोगी बन्यो। आकाशमा कालो बादल मडारिएको एक दिन; घर छिर्ने गेटको भित्रपट्टि उसको लास भेटियो।


