रमेश खनाल
समर्पण:
“यी शब्दहरू ती सबै सन्तानका लागि, जसले माटोलाई कर्मको होइन, आत्माको रूपमा बुझे।”
लेखकको भूमिका:
“माटोका सन्तान” मेरो मनको गहिराइबाट उठेको कथा हो। यो कथा आख्यान हो, तर यसका पात्रहरू समाजको धरातलीय यथार्थका प्रतीक हुन्। यो केवल एक किसानको कथा होइन; यो माटो र मानवको, परिश्रम र पहिचानको, तथा सपना र सामाजिक वास्तविकताको अन्तर्सम्बन्धको कथा हो।
हाम्रो समाजमा हजारौँ दुर्गाप्रसादहरू छन्, जो माटोमा पसिना बगाउँछन्, तर सम्मान पाउँदैनन्। ती कथाहरू बोल्दैनन्, तर म मौनतामै चिच्याइरहेका ती आवाजहरूलाई शब्द दिन चाहन्थेँ। यसमा प्रेम छ, पीडा छ, आशा छ—र त्यो अमिट सम्बन्ध छ, जसले मानिसलाई आफ्नो माटोसँग बाँधेको छ।
अध्याय १: माटो र पसिना
सान्नेगाउँ। पश्चिमी अर्घाखाँचीको ढाकाबाङ गा.वि.स. अन्तर्गत पर्ने, कुहिरोले ढाकिएका हरिया डाँडाहरूको बीचमा रहेको एउटा सानो बस्ती। केही समथर भूभागमा खेतहरू थिए, अनि अलि माथि बारीहरू। तिनैको बीचमा, बिहानको घाम भित्तामा टाँगिएको पुरानो झ्यालबाट भित्र छिर्थ्यो—बिस्तारै, न्यानोपन बोकेर। हिउँदको चिसो बिहान, बास्नायुक्त हावाले पातहरूलाई चलायमान बनाउँथ्यो, र टाढैबाट आएको माटोको गन्ध मस्तिष्कमा टक्क बस्दथ्यो।
त्यही गाउँको एउटा छेउमा थिए—दुर्गाप्रसाद खनाल।
उनको परिवारमा उनी, उनकी पत्नी र एउटा छोरा थिए। छोरा गाउँकै श्री बाल शिक्षा निम्न माध्यमिक विद्यालयमा पढ्थ्यो। त्यो विद्यालय घरबाट करिब ३० मिनेटको उकालोमा थियो र त्यहाँ कक्षा ८ सम्म पढाइ हुन्थ्यो। उनकी पत्नीको जीवन घर, खेतबारी र कहिलेकाहीँ चार घण्टा टाढाको माइती हाँसपुरको परिधिमा घुमिरहन्थ्यो। दुर्गाप्रसादको शरीर मध्यम कदको थियो, छालामा सूर्य र माटोको रङ मिसिएको। निधारमा पसिनाका स्थायी रेखाहरू थिए। आँखा गहिरा, मानौँ मौसमको चाल पढ्न सक्थे। उनको बिहान घामसँगै हुँदैनथ्यो—घाम झुल्किनुअघि नै उनको यात्रा सुरु भइसक्थ्यो।
त्यो दिन पनि उस्तै थियो। दुर्गाप्रसादले भातसँग खुर्सानी-नुन चपाए, दुई गिलास पानी पिए, अनि ढोकामाथि टाँगिएको हलो काँधमा हालेर निस्किए। हलो, जुवा र एक थान हँसिया—यही थियो उनको जीवनको अस्त्रशस्त्र।
पाखाको बाटोमा हिँड्दा, उनले ओडारपारीको बाँझो बारी हेरिरहे। त्यो बारी, जहाँ उनले गत वर्ष मकै रोपेका थिए, मकैका बोटहरू सुकेपछि बाँझिएको थियो। तर, उनको आँखामा त्यो बारी अझै हरियो थियो। उनले मनमनै भने, “यो माटोले मलाई कहिल्यै अस्वीकार गरेन, मैले पनि यसलाई कहिल्यै बेइमानी गरिनँ।”
दुर्गाप्रसादका लागि माटो केवल भूमि होइन, एक जीवित आत्मा थियो—जससँग उनले कुराकानी गर्थे, झोँक चल्थ्यो, तर अन्ततः समर्पित हुन्थे। उनी जब हलो गाड्थे, त्यो उनको लागि पूजाजस्तै हुन्थ्यो—बीउ छर्नु व्रतजस्तै, र पानी हाल्नु तीर्थजस्तै।
अर्को डिलबाट हाँक लाग्यो—
“दुर्गा दाइ, धान रोप्नुभयो?”
उनी मुस्कुराउँदै जवाफ दिन्थे—
“धान मात्र होइन, म त माटोको माया पनि रोप्दै छु भाइ!”
यस्तो संवादले उनलाई खुसी दिन्थ्यो। तर, यो बाहिरी संवादभन्दा गहिरो थियो उनको भित्री अनुभूति—जुन उनी माटोसँग बाँड्थे। दिनभर हलो जोत्नु, पानी लगाउनु, गोडमेल गर्नु—उनी आफैँ बारीझैँ टुसाउँथे, हुर्किन्थे र झर्थे।
बिहानदेखि बेलुकीसम्म उनको दिन पसिनामा बित्थ्यो, र रात सपना बुन्दै। कहिले सपनामा खेतमा फुलेका लहरा देख्थे, कहिले छोरा रामले सहरमा पढेको दृश्य देख्थे। उनी आफ्नो श्रमलाई सन्तानको शिक्षामा साट्न चाहन्थे।
तर उनको दुःख पनि सस्तो थिएन। जति माटो राम्रो, उति दुःख गहिरो। खेतको भिजेको माटोमा हलो गाड्दा घुँडासम्म भासिन्थ्यो, पिठिउँको मासु दुख्थ्यो, तर उनी भन्थे— “जबसम्म पसिना बग्दैन, तबसम्म अन्नको स्वाद आउँदैन।”
साँझपख खेतको पल्लो छेउमा उभिएर दुर्गाप्रसाद आफ्नै कर्म हेर्थे—कान्लामा बगेको पानी, लहरिएका बीउका डोबहरू, माटोको चिसोपन। त्यो दृश्य कुनै राजाले हेर्ने दरबारभन्दा कम थिएन उनका लागि। उनी गहिरो सास तान्दै भन्थे— “मलाई थकाइ लाग्दैन, किनकि म माटोमाथि छु। यो धरतीले मलाई बोकेर बाँचिरहेकी छे।”
त्यही माटो, जसले उनलाई कहिल्यै धिक्कारेन।
तर त्यो समाज… त्यो समाजले कहिल्यै सम्झेन—उनले जति पसिना बगाए, जति अन्न फलाए, त्यो उनको धर्म थियो, सजाय होइन।
अध्याय २: बजारको निर्दयता
खेतमा हरियाली मुस्कुराइरहेको थियो। धानका बालाहरू लहरिएका थिए, कान्लाका सिमीहरू झुन्डिएर हावासँग नाचिरहेका थिए। बारीको पातपातमा पसिनाको छाया थियो। दुर्गाप्रसादले त्यस दिन बिहान बारीबाट डोकोभरि गोलभेँडा, काँक्रा र सिमी टिपे। सबै जना भन्थे— “दाइको फलफूल त बजारको भन्दा राम्रो! रङ, स्वाद र आकार—तीनवटै कुरामा अब्बल।”
तर राम्रो स्वादको तरकारी पनि जब बिचौलियाको आँखामा पर्छ, त्यसको मूल्य स्वादले होइन, लोभले तोकिन्छ।
साँझपख, दुर्गाप्रसादले झुत्रो बोरामा तरकारी प्याक गरे, डोकोमा राखेर पोको पारे।
“भोलि बिहान ४ बजे हिँड्नुपर्छ,” उनले पत्नीलाई भने, “बजार पुग्दा ७ बज्ला। तरकारी ताजा नै पुर्याउनुपर्छ।”
उनको स्थानीय बजार, पिपलनेटा, करिब दुई घण्टा हिँडेपछि पुगिन्थ्यो। त्यहाँ माध्यमिक तहसम्मको पढाइ हुन्थ्यो र त्यो ठाउँकै सबैभन्दा ठूलो बजार थियो।
बिहान घाम नउदाउँदै, उनले डोको पिठ्यूँमा हालेर बजारतिर पाइला चाले। बाटो छिचोल्दै, खोलो तर्दै, उकालो-ओरालोमा पसिनाको धारा बगाउँदै उनी हिँडे। बजार पुग्दा, सूर्य टाउकोमाथि आइसकेको थियो, र शरीरमा थकानको छाया थियो—तर मनमा आशाको किरण पनि।
तर त्यो आशा—बिचौलियाको वचनले झ्याप्पै निभ्यो।
“यो गोलभेँडा कतिमा दिने?”
“साहुजी, पाँच रुपैयाँ किलो।”
“धेरै भयो! अब त बजारमा जताततैबाट आइरहेको छ! तिमी किसानहरूले बुझ्नै मान्दैनौ, घाटा लाग्यो भने हामीले कहाँ बेच्नु?”
दुर्गाप्रसाद झस्किए।
पाँच रुपैयाँ? सहरमा त यही गोलभेँडा २५-३० रुपैयाँ किलोमा बिक्री हुन्छ, यहाँ जम्मा पाँच रुपैयाँ!
“दाइ, यसको भाउ यति त हो नि। लैजानुहुन्छ भने लानुस्, नत्र… अर्को खोज्नुपर्छ।”
ती शब्दहरू उनीमाथि काठको लौरोझैँ बज्रिए। तर उनलाई थाहा थियो, विकल्प छैन। बोकेर फर्कन सक्दैनथे। तरकारी बिग्रन्थ्यो। दिनभरको कमाइ पनि गुम्थ्यो। जिल्ला सदरमुकाम सन्धिखर्क जानआउने खर्च जोड्दा त तरकारी बेचेर उल्टै घाटा लाग्न सक्थ्यो।
मनमा आँधी चल्दा पनि उनी बोलेनन्। तरकारी बिचौलियालाई थमाए। पैसा गन्दै गर्दा उनले सोधे—
“पसलमा त पाँच गुणा महँगोमा बेच्नुहुन्छ, है?”
“त्यो त हाम्रो जोखिम हो नि दाइ! पसल भाडा, कर, कामदार—सबै खर्च लाग्छ।”
दुर्गाप्रसाद चुपचाप फर्किए।
डोको खाली थियो, तर मन भारी।
त्यो भारी मन उनले बजारबाट गाउँसम्म बोकेर ल्याए—बाटोभरि आफैँलाई सोधिरहे, “पसिनाको मूल्य किन यति थोरै? खेतको गन्ध किन हेपिन्छ?”
गाउँ आइपुग्दा साँझ ढलिसकेको थियो। छोरो राम ढोकानजिकै उभिएर कुरिरहेको थियो।
“बुबा, बेच्नुभयो?”
“बेचियो बाबु, तर… बचेन।”
त्यो रात, दुर्गाप्रसादलाई गहिरो निद्रा लागेन। मनमा बारम्बार एउटै प्रश्न घन्किरहेको थियो— “जुन अन्नले पेट भर्छ, त्यो अन्न फलाउने हातलाई यो समाजले किन भोकै राख्छ?”
उनको मनले प्रश्न गर्यो— “बिचौलिया भएर किन उनीहरू राजा बने? पसिना बगाएर किन म सधैँ दास?”
तर पनि, उनी भोलिपल्ट बिहानै उठे। फेरि हलो काँधमा हालेर खेततिर लागे। किनभने उनलाई थाहा थियो—पसिनाको मूल्य बजारले नदिए पनि, माटोले दिन्छ। माटो धोकेबाज होइन। माटोले सधैँ माया गर्छ।
अध्याय ३: बाबु–छोरा र शिक्षा
आकाश खुला थियो, मौसम पनि सफा। गाउँको विद्यालयको घण्टी बजेको थियो। टोलका बालबालिका झोला बोकेर हाँस्दै-दौडिँदै स्कुल छिर्थे। तर त्यो दिन रामको अनुहार हँसिलो थिएन।
राम—दुर्गाप्रसादको एक मात्र छोरो। कक्षा ६ मा पढ्दै गरेको, पढाइमा तेजिलो, व्यवहारमा सोझो, र आँखामा सपना बोकेको बालक। उसले बुबाको पसिना देखेर ठूलो भएपछि केही गर्नुपर्छ भन्ने अठोट लिएको थियो। तर त्यो दिन उसको आत्मबलमा चोट पुग्यो।
कक्षा चलिरहेको थियो। विषय थियो “पेसा र व्यवसाय”। शिक्षकले बोर्डमा लेखे— “आदर्श पेसाहरू”—डाक्टर, इन्जिनियर, शिक्षक, बैंकर…
अनि एउटा प्रसङ्ग निकालेर भने— “पढ्नेलाई अवसरका ढोका खुल्छन्, नपढ्नेले हलो जोत्ने काम मात्रै गर्नुपर्छ।”
रामको मन चसक्क भयो। उसले मनमनै सोच्यो, ‘मेरो बाबा हली हुनुहुन्छ, खेत जोत्नुहुन्छ।’
त्यसमाथि शिक्षकले थपे, “तिमीहरू पनि नपढे हली बन्छौ, बुझ्यौ?”
रामको मुटुमा काँडाझैँ बिझ्यो त्यो वाक्य।
त्यही साँझ, घर फर्किएको रामले झोला फालेर ओछ्यानमा ढलेझैँ सुतेको देख्दा दुर्गाप्रसादले बुझिहाले— “यो चोट बाहिर देखिने होइन, मनमा लागेको छ।”
उनले छोराको अनुहार पढेर सोधे— “के भयो बाबु, आज यति निराश देखिन्छस्?”
रामका आँखा रसाएका थिए। “बुबा, सरले भन्नुभयो—नपढे हली बन्छस्। के हली बन्नु नराम्रो हो, बुबा?”
त्यो प्रश्न, त्यो सानो प्रश्न, तर जति सानो स्वरमा सोधिएको थियो, त्योभन्दा लाखौँ गुणा ठूलो घाउ बोकेको थियो। दुर्गाप्रसादको छातीभित्र कताकता चसक्क दुख्यो। उनले रामलाई काखमा ताने। कपाल सुम्सुम्याउँदै बोले—
“हली बन्नु पाप होइन, बाबु। यो माटोमा अन्न फलाएर अरूको भोक मेटाउनु त सबैभन्दा ठूलो धर्म हो। तर यो समाजले त्यो बुझ्दैन। तैँले पढ्नुपर्छ, पढेर ठूलो मान्छे बन्नुपर्छ, तर आफ्नो जरा कहिल्यै नबिर्सिनू।”
त्यो रात दुर्गाप्रसाद निदाउन सकेनन्।
निधारको पसिना त सुक्थ्यो, तर मनभित्रको पीडा—त्यो दिनानुदिन बढिरहेको थियो।
उनले सोच्न थाले— “के मैले हली बनेर गलत गरेँ? के मैले माटोलाई प्रेम गरेर पाप गरेँ?”
उनी भित्तातिर फर्किएर बर्बराए— “मैले अक्षर चिनिनँ, तर मौसमको भाषा चिनेँ। म पढ्न सक्दिनँ, तर माटोको मन पढ्न सकेँ मैले जोतेर डाँडालाई हरियाली बनाएँ। तर मैले जसको भोक मेटाएँ, त्यही समाजले मलाई हेला गर्छ।”
उनले आँखा चिम्लिए, मनमा प्रश्न आयो— “यदि म जस्ता हलीहरूले एक दिन हलो थन्क्याए भने—के ती शिक्षकहरू किताब चपाएर पेट भर्नेछन्?”
त्यही बेला उनको अन्तरमनमा एउटा तस्बिर झल्कियो—राम पढिरहेको, कलम चलाइरहेको, तर बुबाको हातबाट माटोको सुगन्ध सुँघिरहेको।
दुर्गाप्रसादले आँखा खोले। आँखामा दृढता थियो, हृदयमा अठोट।
“म त केवल माटोको छोरो हुँ। तर मेरो छोरा—ऊ माटो र किताब दुवै चिन्ने बनोस्।”
अध्याय ४: सपना सहरको, आत्मा गाउँको
साँझपख आकाशमा रङहरू मिसिँदै थिए। गाउँको आँगन चिसो हुँदै थियो। टुकीको मधुरो उज्यालोमा दुर्गाप्रसाद आफ्नो छोरा रामको झोला मिलाइदिँदै थिए—काठमाडौँ पठाउने तयारी।
“अब तँलाई यहाँ पढेर पुग्दैन बाबु,” दुर्गाप्रसादले भने, “सहर जानुपर्छ, पढ्नुपर्छ, ठूलाबडाहरू जस्तै बन्नुपर्छ।”
रामले कक्षा ८ गाउँमै उत्तीर्ण गरेपछि नजिकैको बजार पिपलनेटामा डेरा बसेर कक्षा १२ सम्मको अध्ययन पूरा गरिसकेको थियो। गाउँका धेरैका लागि शिक्षा त्यहीँ अन्त्य हुन्थ्यो। तर दुर्गाप्रसादले छोरालाई अझै पढाउने निधो गरे। काठमाडौँमा होटलमा काम गर्ने रामका एक मामासँगै बसेर पढ्ने व्यवस्था दुर्गाप्रसादले मिलाइदिए।
राम चुपचाप थियो। ऊ उत्साहित पनि थियो, तर एक प्रकारको असजिलो महसुस पनि गरिरहेको थियो—गाउँ छोड्न गाह्रो लागिरहेको थियो।
दुर्गाप्रसादले भने— “म खेत जोतिरहन्छु, तँ किताब जोत्। तर एक दिन, माटोलाई पनि चिन्ने विद्वान् बन्नु।”
अर्को बिहान, राम सहरतिर लाग्यो। उसको साथमा थियो—पुरानो झोला, सानो सिरक, थोरै पैसा, र धेरै सपना।
काठमाडौँ—ठूला घरहरू, तीव्र सवारी चाप, चिल्ला बाटाहरू, नयाँ अनुहारहरू।
पहिलोपल्ट जब रामले चाबहिलको गल्लीमा आफ्नो कलेजको गेट देख्यो, उसले गाउँको पहाड सम्झ्यो। “कहाँ त्यो माटोको गन्ध! कहाँ यो सिमेन्टको शीतलता।”
शिक्षकहरू फरक थिए। साथीहरूका बोली, कपडा, आनीबानी—सबथोक फरक। राम सुरुमा झस्कियो। यहाँ कसैका हातमा बाबुको जस्तो माटोको गन्ध थिएन।
एक दिन अङ्ग्रेजी शिक्षकले सोधे— “What does your father do?” (तिम्रो बुबा के गर्नुहुन्छ?)
रामले केही बेर रोकिएर जवाफ दियो— “He is a farmer… he works in the field.” (उहाँ किसान हुनुहुन्छ… खेतमा काम गर्नुहुन्छ।)
कक्षामा फेरि त्यही पुरानै खिसीयुक्त हाँसो गुञ्जियो।
तर राम अब पुरानो राम थिएन। उसले मुस्कुराउँदै भन्यो— “Yes, he is a farmer. He feeds many—including people like you and me.” (हो, उहाँ किसान हुनुहुन्छ। उहाँले तपाईं र मजस्ता धेरैलाई खुवाउनुहुन्छ।)
कक्षा स्तब्ध भयो।
त्यो दिनबाट, रामको आत्मबल बढ्न थाल्यो। उसले सहरलाई बुझ्न सिक्यो। उनै सहपाठीहरू, जसले पहिला उसका बुबाको पेसालाई हाँसोको विषय बनाएका थिए, पछि उसको विवेक र दृष्टिकोणका प्रशंसक बने।
राम अब एउटा क्याफेमा काम गर्दै आफ्नो गुजारा चलाएर पढाइलाई निरन्तरता दिइरहेको थियो। उसले विश्वविद्यालयमा समाजशास्त्र पढ्न थाल्यो। कक्षाहरूमा उसले वर्गीय विभाजन, ग्रामीण शोषण, कृषकको पीडा, भूमिको असमान वितरणजस्ता विषयहरू पढ्यो। तर किताब पढ्दा उसको मन जहिले पनि बारी, डोको, हलो र बुबामै पुग्थ्यो।
त्यही दौरान, रामको भेट एक सहरिया युवती—श्रेयासँग भयो। श्रेया—रामजस्तै तेज, तर फरक पृष्ठभूमिको। श्रेयालाई रामको ग्रामीण सरलता, बोली र दृष्टिकोण मन पर्थ्यो। दुवैको मित्रता गहिरियो। कहिलेकाहीँ रामले श्रेयालाई सुनाउँथ्यो— “मेरा बुबा हलो जोत्नुहुन्छ। तर उहाँको ज्ञान कुनै किताबभन्दा कम छैन।”
श्रेयाले एक दिन मुस्कुराउँदै भनिन्— “तिमी किताब पढ्ने, तर माटोको गन्ध बोकेको केटा हौ। तिमीमा त्यही त खास कुरा छ।”
राम खुसी थियो। उसले सहरलाई अँगालिसकेको थियो, तर गाउँलाई कहिल्यै छोडेको थिएन।
तर एक बिहान, गाउँबाट फोन आयो।
“राम बाबु, खेतको डिल भत्केको छ। बुबाको ढाड फेरि दुख्न थालेको छ। पानीको कुलोमा बिँडालो लागेर बन्द भएको छ।”
फोन संवादले रामको मन भतभती पोल्यो। उसले आफैँलाई सोध्यो— “मैले के पाएँ सहरमा? ज्ञान? हैसियत? प्रेम? तर मैले बुबाको माटो छोडेर आएको छु—त्यो मेरो आत्मा हो।”
त्यही रात, रामले गहिरिएर निर्णय गर्यो— “म बुबालाई दुःखबाट पार लगाउन कडा मिहिनेत गर्नेछु।”
अध्याय ५: चिल्लो जीवन र चिसो सत्य
काठमाडौँको वसन्तपुरको एउटा चियापसल।
साँझपख, भीडको हल्ला र सवारीको गडगडाहटबीच एक कुनामा राम र श्रेया चिया पिउँदै थिए। दुवैको आँखामा आशा थियो, मनमा भविष्यका योजनाहरू—सँगै पढेका दिनहरू, सँगै हिँडेका बाटाहरू, र सँगै देखेको जीवन।
“राम, अब हाम्रो पढाइ सकियो,” श्रेयाले भनिन्, “हाम्रो सम्बन्धलाई एउटा नाम दिनुपर्ने बेला भयो, होइन र?”
राम मुस्कुरायो। मनमा मीठो कम्पन थियो।
“मसँग थोरै पैसा छ श्रेया, तर धेरै माया छ।”
श्रेयाले हाँस्दै भनिन्, “तिमी सधैँ यस्तै भन्छौ—माया बोकेको किसानको छोरा…”
राम गम्भीर हुँदै भन्यो— “हो, म कृषकपुत्र हुँ। मेरा बुबा अझै पनि हलो जोतिरहनुभएको छ। र मलाई त्यो भन्न कुनै लाज लाग्दैन।”
त्यही बेला श्रेयाले आफ्ना बाबु-आमासँग कुरा गर्ने निर्णय गरिन्। एक सानो परिवारभित्र रामलाई भित्र्याउने सपना उनी बुनिरहेकी थिइन्।
श्रेयाको घर—बानेश्वरको चिल्लो फ्ल्याट। बुबा—सरकारी उच्च अधिकृत। आमा—विश्वविद्यालयकी प्राध्यापक।
श्रेयाले रामको बारेमा उत्साहपूर्वक भनिन्— “ऊ पढाइमा अब्बल छ, गाउँबाट आएको हो, तर उसको सोच र दृष्टिकोण निकै गहिरो छ।”
बुवाले सोधे— “के गर्छ उसको परिवार?”
“बुबा हली हुनुहुन्छ। किसान हुनुहुन्छ।”
केही समयको मौनता। बुवाको अनुहारको रेखा कडा भयो।
“एक कृषकको छोरा? सहरमा तिमीलाई अरू कोही भेटिएन? आजको जमानामा एक किसानको छोरा हाम्रो परिवारमा?”
शब्दहरू चिसा थिए, स्वर रूखो। श्रेया मौन भइन्। रामलाई बोलाएर कुरा गर्न आग्रह गरियो।
राम श्रेयाको घरमा आइपुग्दा, सभ्यतापूर्वक स्वागत भयो, तर संवाद साक्षात्कारमा बदलियो।
“हामी तिमीलाई योग्य ठान्दछौँ,” श्रेयाकी आमाले भनिन्, “तर वर्ग, स्तर र संस्कार पनि मिल्नुपर्छ। हाम्रो छोरी सहरमै हुर्केकी हो। उसको जीवन चिल्लो बाटोमा छ। तिमी त्यो बिँडालो लागेको माटोबाट आएर स्याबासी त पाउँछौ, तर यो समाजले माटोमा लतपतिएको जीवनलाई सजिलै अँगाल्दैन।”
राम चुप लाग्यो। मनमा शब्दहरू थिए, तर बोल्न सकेन। मनभित्रको दुर्गाप्रसाद जाग्यो— “के म माटोको छोरो भएकै कारण माया गर्न पनि अयोग्य भएँ?”
श्रेयाले रामलाई पछ्याउँदै भनिन्— “म तिमीलाई साथ दिन तयार छु, राम!”
रामले आँखा भिजाउँदै जवाफ दियो— “तिमी मेरो माया हौ, तर म तिमीलाई यो समाजसँग लडाउन चाहन्न। म तिमीलाई माटोमा ल्याउन सक्दिन। म आफैँ माटो हुँ—गन्हाउने, पसिनाले भिजेको।”
त्यो साँझ, राम एक्लै फर्कियो। हात खाली थियो, तर मनमा गर्व थियो। उसले गहिरो सास फेर्यो, आँखाले टोलाउँदै टाढाको पहाडतिर हेर्दै आफैँसँग कुरा गर्न थाल्यो:
“भर्खर संविधान बन्यो भन्थे…
सङ्घीयता आयो भन्थे…
सबैलाई समानताको ग्यारेन्टी भयो भन्थे…
तर आज—
म खेत जोत्नेको छोरो भनेर हेपिएँ,
गाउँबाट आएको भनेर हाँसोमा उडाइएँ,
माटोको गन्ध बोकेर आएको यो शरीरलाई
सहरको धुलोले घृणा गर्यो।
खै त समानता?
खै त त्यो अधिकार, जसको सपना देखाएर संविधान लेखिएको थियो?
उसले त आँखा अगाडि टेरेन,
किनभने म अङ्ग्रेजीमा स्पष्ट बोल्न सक्दिनँ…
मैले फाटेको चप्पल लगाएर आएको छु भनेर
मलाई मान्छे नै नठानेझैँ गर्यो।
हो, म कृषकको छोरो हुँ,
माटोले हुर्काएको मान्छे हुँ,
तर त्यसको अर्थ के म दोस्रो दर्जाको नागरिक हुँ?
सङ्घीयता भनेको केन्द्र बाहिरको आवाज सुनिनु होइन र?
तर म बोल्दा त यस्तो लाग्यो—मेरो बोली नै बेठीक हो…
संविधानमा लेखिएको समानता त किताबको अक्षर मात्र रहेछ,
सहरका अग्ला पर्खालभित्र त्यो लागू हुँदैन जस्तो लाग्यो।
अब म आफूलाई सोध्न थालेको छु—
म कहाँको हुँ? कुन वर्गको हुँ?
साँच्चै, यो देश मेरो पनि हो कि होइन?”
रातभर उसले बुबाको अनुहार सम्झियो। त्यो अनुहार, जसले कहिल्यै मायाको व्यापार गरेन। रामले डायरी खोलेर लेख्यो:
“म किसानपुत्र हुँ। माया पाउन सकिनँ, हैसियतले हारेँ। तर म माटोप्रेमी हुँ—बिचौलियाको संसारमा पनि सत्यलाई रोज्ने। मेरो प्रेम अधुरो भयो, तर मेरो माटोप्रेम कहिल्यै अधुरो हुने छैन।”
“यो देशले मलाई के दियो त?
रोजगारी? अवसर? सम्मान?
न त खेतमा काम गर्न मल-बीउ पुग्छ,
न त सर्टिफिकेट बोकेर सरकारी ढोकामा पुगेको मान्छेले जवाफ पाउँछ।
दिन-रात पढेँ, बत्तीको उज्यालोले आँखै दुख्यो,
किताबका अक्षर घोटेँ, परीक्षा दिएँ,
अनि के पाएँ?
सर्टिफिकेटको थुप्रो!
यी मैले कहाँ प्रयोग गर्ने?
यहाँ त जागिर खान ‘सोर्सफोर्स’ चाहिन्छ,
ज्ञान होइन, चिनजान र शक्तिले काम बन्छ!
गाउँ फर्केर बा-आमासँग खेत खनौँ भने—
खेत सुक्खा छन्, पानी छैन, मल छैन,
पसिना बगाएर मात्र पेट भरिन्न।
जीवन निर्वाह मात्रै हुन्छ।
अब म परदेश जान्छु…
हो, म विदेश जान्छु!
देशमा नभएको ‘काम’ कमाउन
परदेशको मरुभूमि जान्छु।
तर त्यो कमाइ मेरो होइन—
त्यो त आमाबुबाको सहाराको नाममा हुनेछ।
किनभने उहाँहरूले मलाई मानिस बनाउने सपना देख्नुभएको थियो,
म त सर्टिफिकेट बोकेर बेरोजगार भई बाँच्न सक्दिनँ!
म विदेश जान्छु!
अब म परदेशमै श्रमिक बनेर
यिनै कृषक बा-आमाका लागि जीवन समर्पण गर्नेछु।
किनकि यो देशले सन्तान जन्माए पनि
सपना पाल्न सकेन!
म फर्केर आउनेछु त्यो माटोमा, केही समयपछि फेरि पसिना बगाउन।”
त्यसै रात रामले निर्णय गर्यो—ऊ विदेश जानेछ। बुबाको ऋण तिर्न, खेतको उब्जनी सुधार्न, र भविष्य बनाउने आशामा।
“सहरले मलाई अस्वीकार गर्यो, तर अब म आफ्नो गाउँलाई नयाँ आँखाले हेर्नेछु।”
अध्याय ६: टाढाको श्रम, नजिकको मृत्यु
गाउँको रात एकदमै शान्त थियो।
दुर्गाप्रसादको टुकुटुके मोबाइलमा रामको फोन आयो। रामले भन्यो, “बुबा, म मलेसिया पुगेँ। एउटा फलफूल प्याक गर्ने कम्पनीमा जागिर पाएँ। यहाँ गाह्रो छ, तर म तपाईंका पाइलाहरू सम्झेर लड्न सक्छु। म पैसा कमाएर तपाईंको ढाडको पीडा सधैँका लागि हटाइदिन्छु।”
दुर्गाप्रसादले आँसु पुछे। उनको छाती गर्वले फुल्यो, तर ओठ चुपचाप थिए।
मलेसिया—रामको नयाँ संसार। ठूला भवनहरू, अजनबी भाषा, र सधैँको घण्टी—“बिहान ६ बजे, लाइन लाग, काम सुरु।”
रामको दिन सुरु हुन्थ्यो फलफूलको क्रेट उठाउँदै, कन्भेयर बेल्टको गतिमा प्याकिङ गर्दै। हातका छाला कडा बन्दै गएका थिए, तर मन—अझै बारीको सिमानामा बगिरहेको थियो।
बिहानदेखि बेलुकासम्म, हप्ताको सातै दिन। रामले पैसा बचाउँथ्यो—चिया घटाउँथ्यो, मोबाइल रिचार्ज कम गर्थ्यो। “बुबाको लागि बाख्रा किन्नेछु। आमाको लागि चस्मा। खेतमा प्लास्टिकको टनेल लगाउनेछु।”
समय र परिवेश फेरिइसकेको थियो। रामले आफ्नो कमाइले दुर्गाप्रसादलाई भिडियो कल गर्न मिल्ने मोबाइल पठाइदिएको थियो, जसबाट उनीहरू दिनहुँ कुरा गर्थे। देशको राजनीति पनि विस्तारै फेरिँदै थियो।
रामले बेलाबेला डायरीमा केही लेख्थ्यो, जहाँ उसका सपनाहरू हुन्थे। उसले लेख्यो:
“म फर्किन्छु आमा… फर्कने सपना…”
त्यो साँझ परदेशको तातो बालुवामा उभिँदै,
मैले हातको खाजा बक्स खोलें।
भित्र थियो—
भातको साटो कारखानाको रोटी,
तर सम्झनामा थियो—
आमाले पकाएको गुन्द्रुकको झोल।
आज धेरै दिन भयो,
गाउँको माटो छुन नपाएको।
फेसबुकमा हेरेको थिएँ—
बाको आँखामा बाक्लो चस्मा लागेछ।
र आमा?
हिजो भिडियो कलमा सोध्नुभयो—
“तँ आउँदा गोरु किन्ने कि, ट्याक्टर?”
गाउँ सम्झँदा, हृदय हल्लिन्छ—
जसरी हावाले उडाउँछ रूखका पातहरू।
बाल्यकालमा हिँडेका गल्लीहरू अझै उस्तै होलान्,
तर त्यो गल्लीमा हिँड्ने म,
अब थाकिसकेको छु—
कमाउने सपना काँधमा बोकेर।
साथीहरू सबै सहरमा,
कोही विदेशमै।
गाउँ सुनसान छ रे—
बारी बाँझो, पिँढी खाली,
चुलोमा धुवाँ छैन रे।
आज मैले आफैँलाई सोधेँ—
“यो कमाइ केका लागि?”
महल बनाउन?
कि माटो बिर्सन?
मेरो आत्मा अझै त्यो बेँसीको खोला हो,
जहाँ मैले पौडिएर हाँसेको थिएँ।
शरीर भएनी परदेशको भूमिमा,
तर मन—
माघ महिनाको बिहानजस्तै, गाउँमै चिसिएको छ।
बिहान काममा जाँदा आमाको बोली सम्झिन्छु—
“बिहानै नखाइकन जानु हुन्न, छोरा!”
तर यहाँ—
भोक पेटको होइन,
भावनाको लाग्छ।
म फर्किन्छु आमा,
फर्किन्छु त्यो बाँझो खेत जो मसँगै रुँदैछ।
म फर्किन्छु बा,
तपाईंको काँधबाट कोदालो साट्न।
म फर्किन्छु गाउँ—
जसले मलाई मान्छे बनायो,
अनि मैले उसलाई खाली छोडें।
“म फर्किन्छु आमा…”
यो शब्द मात्र होइन,
यो मेरो हरेक सासको प्रतिज्ञा हो।
तर नियतिलाई यति धेरै सपना मन परेन।
एक दिन, प्लास्टिकको छानामुनि काम गर्ने क्रममा, क्रेनबाट एउटा गह्रौँ फलफूलको क्रेट खस्यो।
झन्याक्क!
क्रेट सोझै रामको टाउकोमा बज्रियो। साथीहरू चिच्याए। त्यो खबरको चिच्याहट गाउँसम्म आइपुग्दा दुर्गाप्रसाद मौन भए।
गाउँमा एक दिन, फोन आयो— “राम अब फर्किँदैछ—बाकसमा।”
दुर्गाप्रसादले त्यो खबर सुने, तर केही बोलेनन्। पृथ्वी घुमिरहेको थियो, तर उनको समय रोकिएको थियो।
तीन दिनपछि, गाउँको चौतारीमा—एउटा काठको बाकस।
भित्र रामको शरीर—ढाकिएको, तर अनुहार देखिन्थ्यो।
शान्त, सुन्दर, तर सधैँका लागि मौन।
दुर्गाप्रसाद बाकसको छेउमा घुँडा टेके। छोराको निधारमा हात राखेर भने—
“बाबु, तैँले किताब पनि जोतिस्, पसिना पनि। तँ माटोका लागि टाढा गइस्, तर माटोमै फर्किस्। यो समाजले तँलाई बुझेन, तर मैले बुझेँ। तँ हारेको होइनस्… तँ आफ्नो जरा समाएर मरेको छस्।”
त्यो साँझ, दुर्गाप्रसादले बाकससँगै आएको एउटा डायरी हातमा लिए। पढ्न नजान्ने भए पनि उनले त्यो डायरी आफूसँगै राखे। पछि छिमेकीकी नानीलाई पढ्न लगाए।
रामले लेखेको थियो:
“म मरे पनि, मेरो बुबाले हलो थन्क्याउनुहुन्न। किनभने त्यो हलोले मलाई सपना देखाएको थियो। मलाई माफ गर्नुहोला बुबा, म तपाईं जस्तो साँचो ‘धरती-पुत्र’ बन्न सकिनँ।”
अध्याय ७: माटोको गन्ध, आत्माको सुगन्ध
गाउँ—अब त्यति शान्त छैन, न त त्यति पुरानै। बिस्तारै बारीहरूमा प्लास्टिकका टनेलहरू देखिन थालेका छन्, केही युवाहरू गाउँ फर्कन थालेका छन्। तर खेतको डिलमा उभिने ती बूढा मान्छे उनै थिए—दुर्गाप्रसाद।
शरीर झुकिसकेको थियो, आँखामा चस्मा, हातमा लौरो। तर हृदयमा अझै रामको सपना बाक्लिएको थियो।
रामको डायरी आज पनि उनको कोठामा थियो। त्यसको एक-एक पाना उनका लागि धर्मग्रन्थजस्तै थियो। पढ्न नजाने पनि ती पानाहरू सुम्सुम्याइरहन्थे। त्यहाँ लेखिएका शब्दहरू याद गर्थे: “यदि म मरेँ भने पनि मेरो माटो बाँचिरहोस्।” “गाउँलाई बिर्सिने होइन, फक्राएर फुलाउने हो।”
उनलाई रामले परदेश जानुअघि भनेको कुरा याद आयो:
“हामीलाई रोजगारी सहरमै चाहिएको थिएन। हामीले काम गर्ने ठाउँ हाम्रै माटोमा खोज्नुपर्छ। तर उपयुक्त वातावरण भएन। म फर्किएर त्यो वातावरण बनाउनेछु। माटोमै रमाउनेछु।”
दुर्गाप्रसादका आँखा रसाउँछन्। उनी आकाशतिर हेर्छन्—
“हे छोरा, तेरो सपना अब आउने पुस्ताले पूरा गर्लान्।”
त्यो साँझ, दुर्गाप्रसादले मनमनै भने,
“म माटोको छोरो हुँ। म अब बूढो भएँ। तर आज म मरे पनि मलाई चिन्ता छैन। किनकि मेरा सन्तानहरूले अब माटोलाई कर्मको होइन, गौरवको थलो ठान्न थालेका छन्। सहरले जे देखेको थिएन, त्यो अब गाउँलेले देख्न थालेका छन्—माटोको गन्धमा आत्माको सुगन्ध छ।”
यो कथा अब समाप्त भएजस्तो लाग्छ, तर वास्तवमा यो एउटा सुरुवात हो—माटोप्रतिको नवीन चेतनाको। “धरतीको पुकार” सुन्न सक्ने कानहरू आज अघि सरेका छन्। अब हाम्रा युवाहरूले माटोलाई श्रमको होइन, गौरवको थलो ठान्न थालेका छन्। अब नयाँ पुस्ताका बोध भएका युवाहरूले बुझेका छन्:
हामी बिहान उठ्नेबित्तिकै चाहिन्छ—पानी, चिया, अन्न।
तर कहिल्यै सम्झिँदैनौँ—यी सबैको जरा कहाँ गाडिएको छ?
माटोमा।
कृषकको पसिनामा।
जुन माटोले हामीलाई जीवन दिन्छ,
जुन हातले हाम्रो भोक मेट्छ—
त्यो माटो आज बाँझो हुँदैछ,
ती हातहरू आज पदेशको मरूभूमिमा छन्।
कृषि अब गरिबीको पर्याय बनेको छ।
कृषक हुनु अपमानजस्तो लाग्न थालेको छ।
राजनीतिक भाषणमा कृषकको नाम आउँछ,
तर उसको खेतसम्म पानी पुग्दैन।
तर सत्य यो हो—
कृषक छैन भने पेट भरिँदैन।
कृषि छैन भने देश चल्दैन।
हामी भवन बनाउँदैछौँ,
तर भित्ताभित्रको भोक बिर्सिँदैछौँ।
साँचो विकास त त्यो हो—
जहाँ कृषक सम्मानित छन्, र माटो फलदायी छ।
अब पनि नबुझ्ने हो भने,
भोलि हाम्रो जीवन साँच्चिकै बाँझो हुनेछ।
आज पनि यदि तपाईं माटोलाई चिन्न सक्नुहुन्छ भने, तपाईं दुर्गाप्रसादको उत्तराधिकारी हुनुहुन्छ। माटोको गन्ध सुँघ्न सक्नु नै आत्माको सुगन्ध पाउनु हो।
समापन सन्देश
माटो… त्यो केवल धरतीको एउटा टुक्रा होइन, त्यो हाम्रो आत्माको अन्तिम आश्रय हो। जहाँ पसिनाले भिजेका खुट्टाहरू गाडिन्छन्, जहाँ सपना देख्ने आँखाले विश्राम पाउँछन्, त्यहीँबाट हाम्रो पहिचान जन्मिन्छ। तर हामीले धेरै पटक त्यो माटोको मौन पुकारलाई सुनेका छैनौँ, जसले गर्दा हाम्रो आफ्नै आत्मा गुमनाम बनेको छ।
यो कथा तिनै हराएका आवाजहरूको हो—जसले आफ्नो माटोमा प्राण दिए, तर सम्मान र पहिचान पाएनन्। हराइरहेको त्यो माटो र मान्छेको प्रेम, त्यो पीडा र त्यो अधुरो आशा हाम्रो हृदयको गहिरो चोट हो। तर यसै चोटबाट उठ्ने आँसुले हाम्रो मनको भित्री आवाजलाई बल दिन्छ, त्यो आवाज जसले हामीलाई सम्झाउँछ—
“तिमी जहाँ भए पनि, यो माटोको रगत तिम्रो नसामा छ। यो माटोले तिमीलाई पुकारिरहेको छ, आफ्नो सन्तानका रूपमा।”
सपनाहरू त्यहीँ छन्, जहाँ हाम्रो माटो छ, जहाँ हाम्रो गाउँ छ। हामीले आफ्ना पुर्खाका पाइलाहरूलाई सम्झनैपर्छ, माटोले दिएको जीवनलाई सम्मान गर्नैपर्छ। जबसम्म त्यो आत्मीयता बाँकी छ, हामी कहिल्यै हराउने छैनौँ।
यो कथा हो जीवनको—नपचाएका आँसुहरूको, साटिएका सपनाहरूको र त्यो अविचल माटोको, जो हामीबाट कहिल्यै छुट्टिन खोज्दैन।
माटोको पुकार सुनौँ, सुनेर त्यसलाई आत्मामा बोकेर अघि बढौँ।
किनभने माटो, त्यो हाम्रो साँचो घर हो।
भुमिकास्थान न. पा.-१, अर्घाखाँची
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।