Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

आख्यान - उपन्यास
नन्दलाल आचार्यनन्दलाल आचार्यअशोज २२, २०८२1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

वि.सं. २०३० असारमा जहडा, उदयपुरमा माता भगवती र पिता विष्णुप्रसाद आचार्यका सुपुत्रका रूपमा जन्मिएका नन्दलाल आचार्य नेपाली साहित्यका एक स्थापित स्रष्टा हुन्। हाल बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुरमा बसोबास गर्दै आएका उनले सानैदेखि नेपाली साहित्य लेखनमा रुचि राख्दै वि.सं. २०५३/५४ देखि विभिन्न पत्रपत्रिकामा आफ्ना लेख तथा रचनाहरू प्रकाशन गर्दै आएका छन्।

साहित्यमा निरन्तर सक्रिय आचार्य नेपाली भाषाका प्रायः सबै विधामा कलम चलाउँछन्। उनका नाटक, समालोचना, निबन्ध, उपन्यास, लघुकथा र कथा विधाका कृतिहरू प्रकाशित छन्। उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानका लागि एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।

हाल उनी विभिन्न साहित्यिक पत्रपत्रिका तथा संघ-संस्थामा आबद्ध रही नेपाली साहित्यको सेवामा समर्पित छन्। उनका महत्वपूर्ण कृतिमध्ये “गरुराहा” उपन्यास विशेष रूपमा चर्चित छ, जसलाई जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरले वि.सं. २०७६ मा प्रकाशित गरेको थियो। सो उपन्यासलाई “हाम्रो कथाघर डट कम” अनलाइन पत्रिकाले डिजिटल रूपमा पुनः प्रकाशन गरेको छ।


ज्योति ! आज म तिमीलाई पुरानो कालखण्डमा विचरण गराउँदै छु । अब त्यो स्मरणमा मात्र छ । विगतका पाटाहरू सम्झेर ल्याउँदा मन खल्बलिन्छ । नलेखी नहुने भएर मात्रै कलम सार्दै छु । एउटा सत्य पाटो भण्डाफोर भयो भने त्यसबाट विश्लेषण गरेर अनेकौँ परिबन्दका विवशता खुल्दछन् भन्दै छु ।

घना जङ्गलको छेउमै एउटा सानो गाउँ । गाउँसँगै जोडिएका फराकिला खेतका फाँटहरू । गाईवस्तु चरिचराउका लागि पर्याप्त फराकिलो हरियो चउर । खान लगाउनका लागि कसैको मुख कसैले ताक्नु नपर्ने अवस्था । पुर्ख्यौली पेसा रहरका लागि मात्र । आफ्नै खेतबारी सम्हाल्दा सम्हाल्दै र पाल्तु पशुको हेरचाह गर्दागर्दै कसैले सास फेर्न नपाउने अवस्था । महाजनहरूका बस्तीहरूमा मरेका गाईवस्तुको सिनो फाल्न बोलाउने गरेको तर पारिश्रमिकको व्यवस्था नभएको अवस्था । वर्षैनी चाडपर्व वा त्यस्तै माङ्गलिक कार्यहरूमा निम्तोबमोजिम पुग्ने र दिएको दक्षिणा स्वीकारेर उनीहरूलाई पुण्य कमाइदिनुपर्ने अवस्था । जसका घरमा छोराहरूको ताँती, त्यसैका घरमा हात्तीघोडा रहन सक्ने हैसियत हुने सामाजिक मनोविज्ञानको समय । छोरा जन्माउने होडबाजी । दाइजो लेनदेनको समय बिल्कुलै नआएको अवस्था । भनूँ न दाइजो दिने र लिने प्रथाको श्रीगणेश नै नभएको पवित्र समय । सन्तानको सुख–शान्तिका लागि भाकल पूरा गर्दा, पूजापाठ गर्दा अनि भोजभत्तेर गर्दा पुर्खाको हड्डी बिक्री भएको पत्तो नपाउने अवस्था । भूतप्रेत, बोक्सीबाट त्रस्त हुने मानसिकता । धामी–झाँक्रीप्रति अकाट्य आस्था र विश्वास गर्ने चलन । अघि बढेकाहरूलाई खुट्टा तान्ने, पछि परेकाहरूलाई उठ्नै नदिने प्रवृत्तिले जरा गाडेको मनोविज्ञान । धन नहुनेहरूले मालिकहरूलाई नै प्रसन्न तुल्याएर जीवन धान्नुपर्छ, मालिकहरूको जस्तोसुकै अत्याचारलाई पनि पुरस्कार सम्झनुपर्छ भन्ने दासमनोवृत्तिले राम्ररी साम्राज्य कायम गरेको समय ।

त्यसबेला गरुराहा गाउँको चमार बस्ती यस्तै थियो । आफूलाई चिन्न नसक्ने तर अरूलाई चिनाउन खोज्ने प्रवृत्ति हाबी थियो ।

ल त, कुराको चुरोमा प्रवेश गर्दै छु । मेरा पितापुर्खाको स्मरण बेगर मेरो विद्रोहको कारण विन्दु बुझिन्न । म ‘राजदेव’ भएर रहन नसक्नुका कारक तत्त्वहरू फेला पार्न सकिन्न । म हिँडेको बाटो रहरको नभई बाध्यता र आवश्यकताको थियो भन्ने पुष्टि हुन्न ।

मलाई एकफेरा त्यस युगमा प्रवेश गर्न देऊ, जुन युगमा सैनी मोचीका हजुरबुबासँग दर्जन जति घोडा थिए । अन्य पाल्तु पशुको गणना गरी साध्य थिएन । अचल सम्पत्तिको बखानमा घण्टौँ बितेको पत्तो पाइन्नथ्यो ।

सुरुआतमा त्यसै गाउँका सैनी मोची गाउँकै धनाढ्य कहलाउँथे । सौखका लागि घोडाहरू राखेका थिए । बाहिरफेरोको कामकाज नोकर तथा ज्यालादारहरूबाट गराउँथे ।

आफ्ना परिवारका कुनै सदस्यलाई घर बाहिरको काममा खटाउँदैनथे । प्रत्येक दिन आधा दर्जन जति नोकर तथा ज्यालादारहरू उनीकहाँ काम गर्थे । बस्तीका मुद्दा फैसलामा उनैलाई मुखिया बनाइन्थ्यो । उनकै दलान न्यायालयझैँ प्रतीत हुन्थ्यो ।

त्यस गाउँका मान्छेले आयआर्जनका लागि भारत भासिनुपर्ने अवस्था बिल्कुलै थिएन । अझ, अरू बस्ती चहार्नुपर्ने अवस्था समेत आएको थिएन । कसैले अन्यायमा पर्नु परेको थिएन । कोही अन्याय गर्दागर्दै पानीमाथिको ओभानो भई धेरै दिन टिक्न सक्दैनथ्यो । भनाँैं न राज्यको उपस्थितिको नाममा मालपोत उठाउन ठेकेदारहरू वर्षैनी आउँथे । त्यसपछि काम तमाम गरेर वर्ष दिनका लागि बिदा हुन्थे ।

मालपोत तिर्न सक्नेको जग्गा जोगिन्थ्यो । नसक्नेहरूको जग्गा कामतवालाहरूको अधीनमा जान्थ्यो । कामत पनि तिनै मालपोते ठेकेदारहरूको हुन्थ्यो । स्थानीय ठूलाठालु महाजनहरू नै कामतका मालिक हुन्थे । उनीहरू नै सरकारी प्रतिनिधि कहलिन्थे । त्यो क्षेत्र उनीहरूकै प्रत्यक्ष–परोक्ष नियन्त्रणमा हुन्थ्यो ।

सैनीको समयावधिभर त्यस्तो अप्रिय केही देखिएन । उनको अवसानसँगै परिवारको अमनचयन अपहरणमा पर्दै आयो । उनका छोराहरू असर्फी र अगमलाल मेरा हजुरबा हुन् । उनीहरूकै समयमा नै हाम्रो सिरिखुरी उड्दै गयो । परिवारमा एकपछि अर्को गर्दै सङ्कटहरू आउँदै गए । समस्याहरूको छेकबार गर्ने बुद्धि उनीहरूमा थिएन ।

गोठभरिका गाईभैंसी, बाख्रापाठा कसरी हराउँदै र नासिँदै गए । ती दुवै हजुरबुबा वयस्क हुँदा नहुँदै परिवारले खेप्नुपरेको दुःखको नालिबेली कहालीलाग्दा नै छन् । सोच्नै नसकिने घडीहरू आए । आयस्था र सुविस्थाका सबै पलहरू बिलाउँदै गए । जेनतेन वंश जोगियो । त्यसैले त आज तिम्रा अगाडि उभिएर भलाकुसारी गर्न पाइएको छ ।

ज्योति ! कुरो गहिरो छ । गाउँलेहरू भन्थे– सैनीले सह नै लिएर गयो । असर्फी र अगमलाललाई दुःख मात्र पिलाउने काम गऱ्यो । उसले दुःख पनि गऱ्यो । सुख पनि पायो । दुःख फ्याँक्यो । सुख साथमा लिएर गयो । उपकारी थियो । नोकरचाकरलाई छोराछोरी सम्झन्थ्यो । उसकहाँ काम गर्नेहरू नै धनी भए । काम गर्नेको शरीरमा पसिना आउनुपर्छ तर आँखामा आँसु आउनुहुन्न भन्ने सिद्धान्तमा ऊ अडिग थियो ।

उनीहरू यसो पनि भन्न भ्याउँथे– सैनीका लागि परिवारका सदस्य बरु टाढा थिए । काम गर्नेहरू नजिक थिए । श्रमिकले सन्तोष पाएमा मालिकका विजयका दिन सुरु हुन्छ । सबैबाट चमार गाउँकै राजा हो भन्ने सम्मान पाएको थियो । उसले बिगार केही गरेको छैन । सन्तानलाई सुखमा राख्नु नै उसको अपराध ठहरिएको हो । सकस जति आफ्नो थाप्लोमा लिने र सुख जति परिवारका पाउमा राखिदिने त्यसको उपकारी व्यवहार नै कालान्तरमा पुर्ख्यौली साख बन्यो ।

अरूले पनि त्यसैलाई पछ्याइरहे । त्यसकै कारणले सुखको सूर्य डुब्यो । बदलामा दुःखको चन्द्रग्रहण देखापऱ्यो । अलिक त दलित वर्गमा सुझबुझको कमी रहेकाले पनि हातमा आएको फल चिन्न सकेनन् । ठूलो मन बनाएर सङ्कटसँग पौंठेजोरी खेल्न सकेनन् ।

उनीहरू यसो पनि भन्थे– वनका बाघसँग कुस्ती खेल्नु परे पनि बरु आँट थियो । तर, गाउँघरका लुच्चाहरूसित जुध्ने साहस गरेनन् । ठूलाठालुहरूको खटनपटनमा बस्नु नै पर्छ भन्ने मानसिकता पनि बनाएन ।

अगाडि उनीहरू थप्थे– यो कुरो त बल्ल बुझिँदै छ । आफ्नै समझलाई फराकिलो पार्न सकेको भए सैनीले चमार जातिप्रतिको हेय दृष्टिकोणलाई उहिल्यै नै उल्टाउने थियो । समाजमा जड बनेर रहेको जातीय भेदभाव र छुवाछुतको जरोलाई उहिल्यै उखालेर फाल्ने थियो ।

कोही त यसो पनि भन्थे– ऊ कहिल्यै कसैको दैलोमा उभिएन । बरु उसकै दैलोमा थुप्रै मान्छे उभिए । प्रायः स्वजाति उभिए । अन्य जाति समेत नउभिएका होइनन् । तर, ती सबै महाजनहरूका पैतालाले कुच्याइएकाहरू मात्र थिए । जन्मले छुत थिए तर व्यवहारले हामीझैँ अछुत थिए । हाम्रो पीडा एकातिर थियो । उनीहरूको पीडा भने अर्कैतिर थियो । आखिरमा पीडा न हो, दुवैको रङ एकै थियो ।

जे होस्, त्यस समयमा मान्छे नबुझेर बाँचिरहेका थिए । कतिपय मामलामा अहिले मान्छे बुझेर पनि बुझ पचाउँदै बाँचिरहेका छन् । बुझेर पनि शोषण–दमन सहेर बाँचिरहेका छन् ।

अहिले गाउँले बुजु्रकहरूको बुझाइ र विश्लेषण यस्तै छ । पुर्खाले दुःख पिइदिँदा र सुख मात्र सन्तानलाई दिँदा सुख टिक्न सकेन, दुःखले भाग्न मानेन ।

हेर ज्योति ! एक समय मेरो मानसिकतामा पनि थियो– ‘म त समाजको सदस्य नै होइन । हुँ नै भने पनि शिर उठाउन नपाउने, एका बिहानै मुख देखाउन नमिल्ने वर्ग हुँ । मान्छेजस्तो भएर पनि जन्मले नै मान्छे हुनबाट ठगिएको प्राकृतिक अभागी हुँ । आफ्नो खुसीलाई दबाएर अरूको खुसीका लागि कम्मर कसेर लाग्ने वर्ग हुँ । मैले हक खोज्नुहुन्न । मुखौले कानुनको जालमा बेरिनुपर्छ । समाजको ठाडो आदेशलाई ईश्वरीय महावाणी सम्झनुपर्छ । गाउँको दुर्गन्ध फ्याँक्नुपर्छ । गाउँका टाठाबाठाको सुखलाई गन्तव्य मान्नुपर्छ । चाडबाड आएको उद्घोष ढोलक बजाएर गर्नुपर्छ । समाजलाई चनाखो पार्नमा भूमिका खेल्नुपर्छ । पुर्ख्यौली पेसालाई गर्वको आधार बनाउनुपर्छ ।’

यस्तै मानसिकतामा हाम्रो समुदाय सुतेको थियो । नयाँ धार र दृष्टिकोणबाट आफूलाई निरीक्षण गर्न त्यसले कहिल्यै सोचेन । अरूकै सुख र खुसीमा आफ्नो सर्वस्व लुकेको महसुस गर्दो भयो । जसले जति हेपे पनि, चेपे पनि त्यसलाई सामान्य ठान्दो भयो । दुःख पर्दा कर्मको फल भन्दो भयो ।

×××

समय एक नासको किन रहन्थ्यो र ! २००२/०३ सालमा रौदी भयो । २००७ सालमा हैजा फैलियो । यी दुवै प्रकोपले गरुराहाको चमार बस्तीको सिरिखुरी उड्यो । अब ती दिन कहिल्यै आउँदैनन् । त्यो सुख–शान्ति र वैभव फर्कला भन्ने सपनामा पनि कल्पना गर्न सकिन्न ।

परिस्थितिलाई काबुमा ल्याउने हिम्मत कसैको थिएन । एकातिर ज्ञान थिएन । अर्कातिर आँट पनि थिएन । मात्र भित्रभित्रै पाक्नु अनि थाक्नुमै ती वर्षहरू बिते । घर चलाउने मुलीहरू नै परमधाम हुनु भनेपछि कत्रो विपत्ति हो, त्यो आफैँले बुझ्दा हुन्छ ।

ज्योति ! भोग्नेलाई नै सम्पूर्ण कुराको ज्ञान हुन्छ । ‘नमरी स्वर्ग देखिन्न’ भनेझैँ हामी सुन्नेलाई सानो लाग्ला तर मेरी बचेकी एक मात्र लहानवाली खटरी दादीको मनमा महाभारत अडिएको थियो ।

ती महाभारतका शृङ्खलाहरू मैले सुनेको छु । ती दृश्यहरूलाई मनमस्तिष्कमा खिचेर राखेको छु । त्यो भयावह दृश्यको चर्चा कताबाट सुरु गरूँ ! म शब्द खोज्दै छु । जस्तो थियो त्यस्तै खिच्न सक्ने शब्द पारखी हुन सकिएन । अतः मेरो प्रयास मात्र हो । बुझ्ने तिमी आफैँले हो ।

असर्फी र अगमलाल पुर्ख्यौली धन स्याहारेर बसेका थिए । दुःख आएर दैलोबाट चियाउन खोज्थ्यो । उनीहरूले भित्र पस्न दिएका थिएनन् । पहिलो वर्षको रौदीलाई जेनतेन पचाए । बिमार–सिमार, भैपरीलाई जसोतसो टारे । त्यस वर्ष अनिष्ट भित्रिएन । बुझाउनुपर्ने मालपोत बुझाए । कामतवालाको मुखमा बुझो लगाए ।

अर्को वर्ष समेत पानीको थोपो खसेन । अनिकालले यत्ति सतायो कि तीन छाकमा एक छाक पनि खान पाएनन् । अर्काको घरमा काम गर्न जान पनि नसक्ने, अरू सदस्यलाई जान पनि नदिने ! असर्फी र अगमलाललाई परिवार धान्न चर्को पऱ्यो । हुँदाहुँदै मालपोत तिर्न सकेनन् ।

दुःख लुकाउँदैमा लुक्न सकेन । पैँचो अन्न खोज्न थाले । घरभरि बालबच्चा थपिँदा थिए । आम्दानी फिटिक्कै थिएन । पाल्तु पशुहरू पनि मासिँदै गए । कुनै मरेर गए, कुनै खर्च धान्न बेचिए । चारैतिर विपत्तिको बादल मडारिइरह्यो ।

खेतबारीमा दुबोबाहेक अर्थोक उम्रन सकेन । त्यही दुबो टिपेर उसिनेर खान थालियो । वयस्कहरूका लागि त जेनतेन पेटमा चारो पथ्र्यो । बच्चाहरूका लागि भने दुबोको रसले काम गर्दैनथ्यो ।

भोकभोकै मर्न दिन मिल्दैनथ्यो । वनजङ्गलका गिठ्ठा–भ्याकुरहरू सकिँदै गए । चुलाको पाकेको माटो, नदी–खोला र खेतको चिम्ट्याइलो माटो, सुकेको माटाका पाप्राहरू खाएर भए पनि जेनतेन प्राण बचाएका थिए ।

बच्चाहरूलाई भने मडुवाको पिठो र कनिकाको खोले खुवाएर भए पनि ज्यान बचाउनु आवश्यक थियो । त्यो पनि जुटाउनु चानचुने कुरा थिएन । कहिलेकाहीँ जुटाए पनि सधैँ जुटाउन सक्तैनथे ।

स्वजातिमा ऐँचोपैँचो गर्न सकिने अवस्था बिल्कुलै थिएन । सबै घरका मुलीहरू तनावमा थिए । एक मन अन्न पैँचो ल्याइयो भने अर्को साल डेढ मन अन्न तिर्नुपथ्र्यो । अर्को साल पनि तिर्न नसक्दा डेढ मनको सावा–ब्याज गरी जम्मा अढाई मन तिर्नुपथ्र्यो ।

प्रत्येक वर्ष डेढा ब्याज थपिँदै जाँदा सिरिखुरी जान धेरै समय कुर्नु पर्दैनथ्यो । सरकारको उपस्थिति हुने कुरै थिएन । गाउँकै साना सरकारहरूको हैकमअनुसार चल्नुपथ्र्यो ।

अर्को वर्ष त अन्न फल्ला भनेर पैँचो लिएको अन्न लगातार तीन वर्षको खडेरीले तिर्न सकिँदै सकिएन । अझ ऋण दिन प्रतिदिन थपिँदै गयो ।

मालपोत समेत तिर्न नसकेका कारण जग्गाजमिन स्थानीय कामतवालाको हुँदै गयो । ऋणबाट मुक्त हुने उपाय छँदै थिएन । ऋण तिर्न नसक्नेले मालिकको घरमै निःशुल्क काम गर्नुपर्ने अवस्था आयो ।

त्यस्ता ऋणी दिनभर मालिकको सेवा गर्थे । साँझमा जुठोपुरो खाएर घर फर्कन्थे । कुनै–कुनै दिन कोदाको पिठो, कनिकाको पोको लिएर आउँथे । त्यही खाना हुन्थ्यो घरका सदस्यहरूको । यस्तै दिनचर्या थियो त्यस बेलाको ।

मेरा हजुरबाहरू चाहिँ जङ्गल मात्र धाउँथे । कन्दमूल खोजेर ल्याउँथे । कहिल्यै भेट्थे, कहिले रित्तै हात फर्कन्थे । र, पानी तताएर पिएर सुत्थे । बच्चाहरू मध्यरातमा ब्युँझन्थे र खाना माग्थे । अभिभावकहरू आफ्नै आँखाको आँसु पुछ्दै बच्चाको बोली नसुनेको बहाना गर्न विवश थिए । बच्चाले उठाउन झकझकाए मस्त निद्रामा भएको आभाष दिन खोज्थे ।

बच्चाहरू निक्कैबेर रुन्थे र सुक्क–सुक्क गर्दै भुसुक्कै निदाउँथे । अनि मात्र अभिभावकहरू उठेर आफ्ना नानीहरूलाई सुम्सुम्याउँथे । र, अभागी–दरिद्र आमाको कोखमा जन्म लिएर तैँले गल्ती गरिस् भन्थे ।

त्यस अवस्थामा पनि हजुरआमाहरूलाई कसैको घरमा काम गर्न जान मनाही गरिएको थियो । कुनै उपाय नभएपछि हजुरबुबाहरूका आँखा छलेर हजुरआमाहरू मालिक्नीहरूको सेवामा जुट्न थाले । जुठा भाँडा माझ्ने, खुट्टामा चिल्लो घस्ने, चामल केलाउने, करेसाबारी गोडमेल गरिदिने जस्ता कामहरू गर्थे ।

बदलामा मालिक्नीहरूबाट पुराना कपडा, कनिका र पिठो पाउँथे । लालाबालालाई त्यसकै खोले पकाएर खुवाउँथे । खोले खान पाएको रात बच्चाहरू मध्यरातमा ब्युँझेर कोकोहोलो मच्चाउँदैनथे । मस्तले निदाउँथे ।

चारैतिर धूलो बाहेक अर्थोक उड्दैनथ्यो । मालिकहरूलाई समेत अन्न नफलेर धौधौ परेको थियो । तर, उनीहरूको पर्याप्त जग्गाजमिन भएको र सामान्य पानी परेको बेलामा पनि सिँचाइ गर्न सकिने असल जग्गा समेत भएकोले केही अन्न अवश्य फल्थ्यो । धान–गहुँ राम्ररी नफले पनि कोदो त अवश्य फल्थ्यो । पाल्तु पशु प्रशस्त थिए । तिनै बेचेर र भारतबाट अन्न किनेर पनि गुजारा चलेकै थियो ।

अर्कातिर पैँचो लगेर तिर्न नसकेका वर्गहरू निःशुल्क नोकर भइदिएकै थिए । आम्दानी धेरै नभए पनि खर्च पनि कमै हुन्थ्यो । घरभरि पर्याप्त नोकरचाकर भएकाले आनन्दै थियो ।

ती दलित बस्तीमा राम्रा अनुहारका छोरीबुहारी हुनुहुन्नथ्यो । हुर्कनासाथ मालिकका सेवामा पेस हुनुपथ्र्यो । सेवामा जान नमान्नेहरू कसरी मृत्युको मुखमा पुग्थे, त्यो कसैलाई थाहा हुन्नथ्यो ।

बाबुविना नै पेट बोक्न पुगे भने त्यसको तुरुन्तै विवाह गरिदिनुपथ्र्यो । बुहारीखाललाई त जे गर्दा पनि भएकै थियो । भोकै मर्नुभन्दा मालिकहरूलाई रिझाएर नै प्राण धान्नु ठीक छ भन्ने मनोवृत्तिले जरो गाडेको थियो ।

दिनहुँ जसो साहू आएर खाएको ऋण तिर्न उर्दी जारी गथ्र्यो । असर्फी र अगमलालले धेरै पटक समय मागे । अब समय माग्ने ठाउँ पनि थिएन । बाँझो खेत सुकेको थियो । आम्दानीको आधार नै त्यही खेत थियो । यद्यपि खेतमा झार समेत उम्रन सकेको थिएन ।

अन्ततः घरखेत नै साहूलाई सुम्पेर वन पस्ने समय आयो । पुर्ख्यौली साखलाई पैतालाले नकुल्ची भएन । उनीहरू मुटुमाथि ढुङ्गा राखेर मालिककहाँ ऋणको ब्याजस्वरूप हलीको काम गर्न थाले । र, आफ्नो घरखेत जोगाउँदा भए ।

आफ्नो मात्र काम गरेका मान्छे, अर्काको घरमा काम गर्नुपर्दा दुवैको शिर निहुरियो । आँखाबाट अश्रुधारा रोकिएन । साहूकै घरमा खान पाए पनि बिहानको खाना रुखोसुखो हुन्थ्यो । साँझमा भोकै घर फर्कंदा उही एक मानो अन्न बाहेक केही पाइन्नथ्यो । त्यो पनि सधैँ कि कोदाको पिठो हुन्थ्यो कि चामलका कनिका हुन्थ्यो ।

तीन महिना निःशुल्क काम गर्दा पनि साहूको मन नभरिएपछि अगमलाल चाहिँ निकै क्रोधित भए । एकदिन उनले साहूकै जीवनलीला समाप्त गरिदिने मन भएको कुरा गरे ।

हत्त न पत्त असर्फीले उनको मुख थुने । र, सतर्क हुन चेतावनीको भाषामा भने– “विनासकाले विपरीत बुद्धि जँका नई कर । तुँ सभके जीवन बरबाद करैले सोचैछी ?”

अगमलालको मनको आँधी शान्त हुनै सकेन– समाजमा बेथिति विरुद्ध आवाज समेत दिन नसक्ने हो भने सधैँ दबिएरै निःशुल्क काम गर्नुपर्छ । एउटा पिँढीले गरेको कमजोरीको सजाय पछिल्ला धेरै पिँढीले भोग्नुपर्छ । एक्लो बृहस्पति झुटो ठहरिने भइगयो । सामूहिकरूपले अघि बढ्न बाधक अरू नभई आफ्नै मान्छे छन् । आफैँबाट सुरुआत नगरे परिवर्तन किमार्थ सम्भव छैन ।

उनको मनको आँधीले रोकिने नाम लिएन । सामान्य झलक मालिककहाँ पुग्यो । उनीहरू पनि सचेत भए । सम्भावित खतरालाई ढाकछोप गर्नका लागि साँझमा दिने एक मानो अन्नमा सुधार ल्याए । पिठो र कनिकाको साटो चामल पनि दिन थाले ।

एक जनालाई एक छाकका लागि दिएको अन्नको खोले पकाएर सम्पूर्ण परिवारलाई दुवै छाक पुऱ्याउन थालियो । अझ साहूहरूको बोलीमा समेत मिठासपन झल्कन थाल्यो ।

एक किसिमले निःशुल्के कामदारहरूको मनमा साहूहरूप्रति वितृष्णाको साटो आस्था र विश्वास पो पलाउन थाल्यो । मजदुरहरू पनि दुई भागमा विभक्त भए– एक थरी साहूको नियमलाई अन्धो भई स्वीकार्ने, अर्का थरी अगमलालको पक्षमा उभिने ।

आफूहरूले पारिश्रमिक पाउनुपर्ने र खाएको ऋण चुक्ता भइसकेपछि बँधुवा मजदुर हुनबाट मुक्त हुनुपर्ने अगमलालका आवाजमा सहमति जुट्दै गयो । यद्यपि कार्यान्वयन भने हुन सकेन ।

∎∎∎∎∎
क्रमशः


उपन्यासकारको सम्पर्क:
— नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
nandalalacharya@gmail.com
मो. नं. ९८४२८२९२०६


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

उपन्यास गरुराहा नन्दलाल आचार्य

यो पनि पढ्नुहोस्...

लघुकथा: सजाय | ईश्वर पोखरेल | हाम्रो कथाघर

लघुकथा: आइफोन | डा. टीकाराम पोखरेल | हाम्रो कथाघर

लघुकथा: पेसा | कल्पना मरासिनी | हाम्रो कथाघर

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

लघुकथा: पारदर्शीता | विवेक दुलाल क्षेत्री “दमक” | हाम्रो कथाघर

लघुकथा: समाज | ईश्वर पोखरेल | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.