सात समुद्र तरेर उपहारस्वरूप घरमा आइफोन भित्रियो।
सित्तैमा पाए अलकत्रा भनेझैँ आइफोनमाथि घरका सबैको दाबी सुरु भयो।
‘आइफुन घरमा आई। यो आइफुन मेरा लागि अमेरिकाबाट आकी है,’ घरबुढीले आइफोनको सेटमा चुम्मा दिँदै भनिन्।
बुढीको हातबाट आइफोन थुत्दै घरबुढाले भने– ‘जान्नु न तान्नु, फोन त राम्ररी भन्न आउँदैन, फोनलाई फुन भन्नेलाई के को आइफोन। यो फोन मेरो लागि हो। आई मिन्स म। यो फोनको हकदार म हुँ। फेरि मेरो फोनसेट पनि त पुरानो भइसक्यो।’ घरबुढाले फोनमाथि जबर्जस्त दाबी पेस गरे।
घरबुढाले घरबुढीको हातबाट फोन खोसेर आफ्नो कानमा राख्दै कसैसँग बोलेको अभिनय गरे– ‘हाइ।’ अनि फेरि बुढीतिर फर्किँदै भने– ‘अङ्ग्रेजी बोल्ने देशमा बनेको आइफोन बोक्नेले कम्तीमा अङ्ग्रेजी लवजमा हाइ त भन्न जान्नुपर्यो नि।’ घरबुढाले घरबुढीमाथि खिसिट्युरी गरे।
‘ह्या! ड्याड मम्स पनि। इट्स नट ओन्ली आइफोन, इट्स माई फोन। मतलब, मेरो फोन। ड्याडस् मम्सलाई यस्तो आधुनिक भर्सनको फोन चलाउनै आउँदैन। बेकारमा के को तेरो र मेरो भनेर झगडा गरिस्या।’ छोराले बाबुको हातबाट मोबाइल सेट आफूतिर तान्दै भन्यो।
फोनलाई आमाले ‘मेरोमेरो’ भन्दै आफूतिर तानिन्, बाबुले ‘तेरो होइन, मेरो’ भन्दै आफूतिर ताने। छोराले ‘माई फोन के माई फोन’ भन्दै आफूतिर तान्यो।
एकअर्काले तानातान गर्दागर्दै हातबाट खुस्किएर आइफोन झर्यो र सिमेन्टको भुइँमा बजारियो।
आमाको आइफोन, बाबुको हाइफोन र छोराको माईफोन तीन टुक्रा भएको थियो।
भुइँबाट सबैले एकएक टुक्रा समातेर आइफोनलाई बिदाइ गर्दै एकै स्वरमा भने– ‘बाईफोन।’
–०००–


