❝
जब तिम्रो इमान बेचेर,
प्रियालाई फरिया किन्छौ;
जब किन्छौ औषधि,
बाबालाई झुट बोलेर धर्मको;
किन्छौ आमाको चस्मा,
तिम्रो आँखामा पट्टी बाँधेर;
दिन्छौ बहिनीलाई उपहार,
लुटेर अस्मिता बजारको ।।
देश बनेन भन तिमी छोरासामु उभिएर,
खित्का छोडेर छोरो हाँस्छ तिम्रो अभिमान देखेर ।
छोरी भन्छे, “बेचिसकियो स्वाभिमान मेरो शिरको !”
साथीभाइले खिसी गर्छन्, “भ्रष्टको सन्तान” भनेर ।।
आज छोरो प्रस्ट छ,
तिम्रा कर्तुतहरूबाट;
छोरी ज्ञात छे,
तिम्रा उन्मादहरूबाट;
प्रियालाई थाहा छ,
फरिया लगाउँदा पनि नाङ्गिनुपरेको;
बालाई अनुभव छ,
धर्म बेचेर घमण्ड किनेको;
आमालाई चिन्ता छ,
मातृत्वको चिता बनेको ।।
जागेर हेर एकपटक;
खोलेर हेर, तिम्रो आँखाको पट्टी;
महसुस गर,
सन्तानले भोगेको मानसिक पीडा;
कल्पना गर,
इज्जत बलात्कृत आफ्नी श्रीमतीको व्यथा;
आँखा जुधाएर हेर,
पश्चात्तापमा डुबेको बा-आमाको अनुहार ।।
ए भ्रष्ट ! सक्छौ ?
साहस छ ?
उत्तर छ ?
प्रश्न छ ?
सपना छ ?
संस्कार छ ?
ए भ्रष्ट ! उत्तर दिन सक्छस् ?
❞
—०—
इलाम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

