❝
कसरी टुसायो एउटा बीज
मरुभूमि भएको मनको गरामा ?
कतिखेर अंकुरित भइसकेछ
एकपाते सुइरो बनेर ?
सायद,
नयनबाट झरेका जलको
ओसिलो स्पर्श पाएर हुनसक्छ,
बीजले जीवन पाएको ।
यदि नयनबाट झरेको जल
प्रेम र विश्वासको हुँदो हो त,
मरुभूमि भएको मनको गरामा
गुलाफ फक्रिन्थ्यो होला ।
तर,
अविश्वास र घृणाले झरेको जलको
ओसिलो स्पर्शले टुसाएको बीज
क्याक्टस भएर झाँगिएछ ।
❞
—०—
हेटौँडा-८, कमाने


