❝
म दिउँसै ढल्न सक्छु
बन्दुकको गोलीबाट ।
लड्न सक्छु, पछारिन सक्छु ।
खबरदार ! देश विरोधी षड्यन्त्र रच्नेहरू !
म छाड्ने छैन घूस खानेहरूलाई !
छातीमा गोली लागेर शहादत प्राप्त गरेँ भने,
“देशका लागि बलिदान दियो” भन्दिनू ।
आमा ! तपाईं नरुनू ।
भाइ ! तिमी फुस्रो अनुहार नबनाउनू ।
बहिनी! तिमी रुन्चे अनुहार नबनाउनू ।
देशमा परिवर्तन गर्नु छ,
दुराचारी भ्रष्ट मनुष्यको छाया
यो देशबाट हटाउनु छ,
क्रान्ति गर्नु छ !
प्रिय साथीहरू,
यो बेला जे पनि हुन सक्छ,
बन्दुकबाट गोली चल्न सक्छ,
म दिउँसै ढल्न सक्छु ।
म खोजिरहेको छु यतिबेला
देश सिँगार्ने नवयुवकहरू ।
मुक्तिचोकको बीच सडकबाट नियाल्दै छु,
मुक्ति नपाए पनि नाम पाएको चोकबाट ।
अनशन, आन्दोलन, थुप्रै कोणसभा सुरु भए,
अन्त्य पनि यहीँ भए ।
खबरदार ! देश विरोधी शासकहरू हो !
नेता, सांसद, मन्त्रीहरू हो !
मेरो देशलाई कुदृष्टिले नहेर ।
मेरो देश स्वाभिमानको निमित्त,
मेरो रगतका छिटाहरू छरिन सक्छन् ।
यहीँ धर्तीमा उभिएर झन्डा फरफराउँछु,
खुन-पसिना यहीँ बगाउँछु ।
तर म छाड्ने छैन,
शहीदको सूचीमा आफूलाई लेखाउँछु ।
त्यसैले म दिउँसै ढल्न सक्छु ।
❞
—०—
बिर्तामोड, झापा


