❝
म दिउँसै ढल्न सक्छु
बन्दुकको गोलीबाट ।
लड्न सक्छु, पछारिन सक्छु ।
खबरदार ! देश विरोधी षड्यन्त्र रच्नेहरू !
म छाड्ने छैन घूस खानेहरूलाई !
छातीमा गोली लागेर शहादत प्राप्त गरेँ भने,
“देशका लागि बलिदान दियो” भन्दिनू ।
आमा ! तपाईं नरुनू ।
भाइ ! तिमी फुस्रो अनुहार नबनाउनू ।
बहिनी! तिमी रुन्चे अनुहार नबनाउनू ।
देशमा परिवर्तन गर्नु छ,
दुराचारी भ्रष्ट मनुष्यको छाया
यो देशबाट हटाउनु छ,
क्रान्ति गर्नु छ !
प्रिय साथीहरू,
यो बेला जे पनि हुन सक्छ,
बन्दुकबाट गोली चल्न सक्छ,
म दिउँसै ढल्न सक्छु ।
म खोजिरहेको छु यतिबेला
देश सिँगार्ने नवयुवकहरू ।
मुक्तिचोकको बीच सडकबाट नियाल्दै छु,
मुक्ति नपाए पनि नाम पाएको चोकबाट ।
अनशन, आन्दोलन, थुप्रै कोणसभा सुरु भए,
अन्त्य पनि यहीँ भए ।
खबरदार ! देश विरोधी शासकहरू हो !
नेता, सांसद, मन्त्रीहरू हो !
मेरो देशलाई कुदृष्टिले नहेर ।
मेरो देश स्वाभिमानको निमित्त,
मेरो रगतका छिटाहरू छरिन सक्छन् ।
यहीँ धर्तीमा उभिएर झन्डा फरफराउँछु,
खुन-पसिना यहीँ बगाउँछु ।
तर म छाड्ने छैन,
शहीदको सूचीमा आफूलाई लेखाउँछु ।
त्यसैले म दिउँसै ढल्न सक्छु ।
❞
—०—
बिर्तामोड, झापा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

