एउटा जङ्गलमा जङ्गली जनावरले भ्रष्ट शासक हटाउन ठूलो क्रान्ति गरे । रगतको खोला बग्यो । जनावरहरूको माग अनुसार स्वतन्त्र आयो । केही समय सबैले सुख र शान्तिको अनुभूति पनि गरे ।
केही समयपछि तिनै नेताहरू भ्रष्ट बन्दै जान थाले । जनावरहरूलाई असाध्यै गाह्रो पर्न थाल्यो । भ्रष्टाचारको हल्लाखल्ला अन्य जङ्गल-जङ्गल फैलियो । त्यो जङ्गलको नाम भ्रष्टको सूचीमा १ नम्बरमा पुग्यो । तर नेताहरूले पाप गर्न र जनता झुक्काउन छाडेनन् । विरोध गर्नेलाई आसेपासे, भरौटेहरूले अप्ठ्यारोमा पारिदिन्थे । त्यसैले जनावरहरू चुपचाप सहेर बस्थे । तर शासकहरूले जनावरहरूमाथि धेरै पाप गर्न थालेपछि आफूले भोगेको दुःख सन्तानले नपाऊन् भनेर अरू जङ्गलतिर आफ्ना युवाहरू पठाउन थाले । वृद्धावस्थाकाहरू मर्ने र युवाहरू परदेश जाने हुँदा जनावरको सङ्ख्या घट्न थाल्यो । ती भ्रष्ट, पापी शासकहरू पनि वृद्ध भएर मरे ।
तर लुकाएर राखेको धन भने प्रयोग गर्न पाएका थिएनन् । यमराजको ढोकामा पुगेपछि ठूला बडा र सम्मानित व्यक्तित्वहरू भनेर यमराजले सम्मान गरे । यतै स्वर्गको सुखमा बस्ने कि फेरि पृथ्वीमा जाने भनेर रोज्न दिए । लोभी र पापी शासकहरूले लुकाएर राखेको धन भोग गर्न नपाएकाले हात जोडेर विनम्र भावमा भने, “हामी एकपटक फेरि पृथ्वी जान्छौँ प्रभु, फर्कन चाहन्छौँ ।” “हामीलाई शासन गर्ने इच्छा हुँदाहुँदै वृद्ध भएर मर्नुपर्यो” भनेर हात जोडे ।
यमराजले विचारै नगरी सम्मानित व्यक्तिहरू सज्जन नै होलान् भन्ने ठाने, ‘तथास्तु’ भनिहाले । फर्कन तयार भएका शासकहरूलाई रोक्दै भने, “महोदयहरू ! एकछिन पर्खनुहोस् ।” खाता हेरेको छैन । अब भने सबैले शिर झुकाएर काम्न थाले ।
यमराज रिसले आगो भए, “पिपमा डुबाएर राख्नु पर्ने पो रहेछौ । मेरो सत्य वचन भैसक्यो । जाऊ पृथ्वीमा” भनी पठाइदिए । सबै भ्रष्टहरू खुसी हुँदै फर्किए, फेरि शासक बन्ने आशामा । तर छेपारो भएर मरुभूमिमा जन्म लिन पुगे, जङ्गल देख्नै पाएनन् ।
–०००–
लमजुङ


