क्लिनिकमा बिरामी आयो । पाँच दिनदेखि चरोमुसोधरि आएको थिएन; आज एकजना आयो । ‘घाट कुरे मुर्दा पाइन्छ’ भनेर उसै भनिएको होइन रहेछ ।
रिसेप्सनमा उसले विवरण टिपायो ।
रिसेप्सनिष्ट क्लिनिक चल्तीको हो भन्ने जनाउन केही प्रचलित ‘की–वर्ड’ प्रयोग गरी र भित्र पठाई दिई ।
विवरण बुझ्दै सामान्य जाँचबुझ गरें ।
बिरामीले दिएको विवरणमा सान्दर्भिक हुनसक्ने सम्मका ल्याबटेस्ट लेखें । ग्यास्ट्रिकको दवाई र पेनकिलरका केही आइटमहरू पनि लेखें । र, बिदा गरें ।
बेलुका रिपोर्ट लिएर आयो ।
सोधें– “कस्तो छ ?”
बिरामी भन्छ– “मलाई त काँडा झिकेजस्तै भयो; डाक्टर साहेब !”
रिपोर्टले पनि कुनै जटिल रोगको सङ्केत गर्दैन ।
घरभाडा महँगो छ । कर्मचारीलाई पनि थोरबहुत दिनै पर्छ । म आफू पनि कोही आउँछ कि भनेर बसेको छु । यस्ता सामान्य रोगका मात्र बिरामी आउने हो भने यो क्लिनिक कसरी चल्छ, हँ ?
भन्छु– “कतिपय रोगका लक्षण जटिल हुन्छन् । सामान्य जाँचमा देखिँदैनन् । एमआरआई लेखिदिएको छु । रिपोर्ट लिएर आउनुहोला ।”
डा. रमण भन्नुहुन्थ्यो– “पेसा टेक्निकले चल्छ । ख्याति र दाम कमाउने पनि टेक्निकले हो ।”
हो त; यति धेरै उपचार पद्धति छन् । यति विघ्न अस्पताल/क्लिनिकहरू छन् । कतिपय त धेरै एडभान्स पनि छन् । यस्तोमा क्लिनिकमा आएका पेसेन्टरूपी भगवानलाई आफूसँगै अल्झाई राख्ने टेक्निकमा चुकियो भने कसरी पेसा चल्छ ?
–०००–


