म श्रम गर्छु,
पसिना बगाउँछु,
ऊ स्वर्ग र नर्कको
डर देखाउँछ।
म खेत जोत्न जान्दछु,
ऊ झुटो बोल्न जान्दछ।
मसँग सीप छ,
पेट पाल्छु,
उसँग शास्त्र छ,
मान्छेको पुरै जिन्दगी खान्छ,
मरेपछि पनि छोड्दैन।
मेरो रगतमा
वैज्ञानिक चेत, ज्ञान छ,
उसँग मन्त्रबाहेक केही छैन।
मेरो श्रम र पसिनाले
बाँझो खेतमा अन्न फल्छ,
उसको मन्त्रले
मानिसको दिमागमा
डर र त्रासको बीउ रोप्छ।
मेरो मेहनत धेरै छ,
उसको थोरै छ।
म रातदिन
मेहनत गरेर
पसिना बेच्छु,
थोरै पाउँछु,
ऊ फररर मन्त्र भन्छ,
दान, दक्षिणा धेरै पाउँछ।
किनकि यो देश
मानिसलाई स्वर्ग र नर्कको
डर देखाउनेहरूले खाए।
ए !
मन र मस्तिष्क भएका मान्छे,
अब त कुरा बुझ,
विज्ञान प्रविधिको
यो दुनियाँमा
विज्ञानबाहेक
सबै झूटा हुन्।
त्यसैले त
म चुप बस्दिनँ,
झूटोविरुद्ध
लेखिरहन्छु,
बोलिरहन्छु,
लडिरहन्छु।
–०००–


