म उमेरको अन्तिम पहाड चुम्दै छु।
थुप्रै साना-ठूला पहाडहरूको आरोहण गर्दै
अनेकन् कठिन खोलानाला र जङ्घारहरू तरी
यहाँसम्म आइपुगेकी छु।
हुन सक्छ,
आजको रात नै मेरो अन्तिम रात साबित हुनेछ।
भोलिको सूर्योदयअघि नै म अस्ताउने छु।
जीवनका अनेकन् आरोह-अवरोह पार गर्दै
अनेकन् सफलता र असफलतासित जोरी खेली
तीतामीठा र सुखद् पलहरूसित कानेखुसी गरी
सांसारिक मोहमाया र सम्बन्धहरूसित हातेमालो गरी
जीवनको अन्तिम शिखर अवरोहण गर्दै
उमेरको हदबन्दीको घेराभित्र जकडिएकी छु।
म
निख्रनै लागेको यो जिन्दगीमा
पूर्णिमाको जूनभित्र लुक्न चाहन्छु।
बादलभित्र लुकामारी खेली
इन्द्रेणीको माला पहिरिन चाहन्छु।
आफूसित आफैँ मीत लाएर
प्रीत गाँस्न चाहन्छु।
मयूरझैँ पङ्ख फिजाई घुमीघुमी नाच्न चाहन्छु।
चरीझैँ रनवन डुली गीत गाउन चाहन्छु।
नदीझैँ सुसाउँदै दुवै किनार छुन चाहन्छु।
मलाई कसैले बाधा नहाल।
मैले उडान भरिरहेका यी पङ्खहरू नकाट।
यो जीवनको अन्तिम घडीमा मन फुकाई
मलाई गीत गाउन देऊ।
मादल र बाँसुरीको तालमा नाच्न देऊ।
जून-तारा हाँसेको यो स्वर्गजस्तो देशमा
धित मरुन्जेल रमाउन देऊ।
मेरो प्राण पखेरु उडेर जानुअघि
केही बेर सुस्ताउन देऊ।
सारा माया, मोह, लोभ र
यो सम्बन्ध घेरालाई तोडेर
सजिलोसित बिदा देऊ।
जीवनको भारी बोक्नै नसक्ने गह्रौँ भार
सदाका लागि बिसाउन देऊ।
सदाका लागि अब मलाई विश्राम लिन देऊ।
–०००–
काठमाडौँ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



