लाग्छ,
घामले आफ्नो उज्यालो
राजनीतिक पर्खालको रङमा बेचिदिएको छ।
सत्यको मुहार कालो धब्बाले छोपिएको छ।
जनताको आशा अब
चिहानमा टाँगिएको कुनै रुद्राक्षझैँ
मौन प्रार्थनामा चुप लागेर बसेको छ।
जनआकाङ्क्षाका शब्दहरू
नोटको भारीमा तराजुका पल्लामा जोखिँदै छन्।
जनताको आँसु नदी भएर बग्दा तिनको किनारमा दलालहरूको महल उभिएको छ।
रातो रगतले भिजेको झन्डा
अदृश्य पर्खालभित्रै मुर्दाझैँ फर्लङ ढलेको छ।
उज्यालोको आँगनमा नै पुतलीहरू बेपत्ता छन्।
अक्षरहरूको फूल अँध्यारोमा कुहिएको छ।
अन्यायविरुद्धको आवाज
क्रूरताको हुङ्कारले गला थिचेर
निस्सासिएको छ।
रातको सडकमा बत्ती होइन,
युवाको सपना जलिरहेको धुवाँ छ।
उनीहरूको भविष्य
दलाल र बिचौलियाको हाँसोमा
सस्तो वस्तुजस्तै लिलाम भएको छ।
झुपडीको भाँडोमा पाक्दै गरेको भात
भोकको धुवाँ बनेर छत पार गर्दै गर्दा
बुढा बा-आमाका फुटेका खुट्टा
विदेशी दूतावासको ढोकामा
निरिह बनेर उभिएको अभ्यस्त दृश्य छ।
र समय मोबाइलको पर्दामा
स्वप्नको लाससँग खेलिरहेको छ।
गाउँका सिकुवा, पेटी र चौतारीमा
बुढीआमाको कथा अब सम्झन सक्दैन समय।
इतिहासको गह्रौँ ग्रन्थ
धूलोले कतै मुर्दाघरमा छोपिएको छ।
कसैले पढ्दैन, कसैले खोल्दैन
जस्तै हाम्रो आत्मा अब
शून्यतामा आफ्नै चिहान खन्दै छ।
हामी सबै
प्रगतिको नाउँमा,
सभ्यताको शरीरमा
भर्खरै बनेका घाउका दुखाइहरू बोक्दै,
विश्वास र भरोसालाई झुत्रो कपडाजस्तै च्यात्दै,
नैतिकताको शवयात्रामा सद्भावलाई जलाएर,
नदीको रुवाइ र आगोको अँगालोबीच
नाङ्गो र दिशाहीन बनेर हिँडिरहेका छौँ।
–०००–
तेह्रथुम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



