१.
घरभित्रै छु
तर घर हराइसक्यो
गुमनाम अँध्यारोमा !
घरको कोठामै
कम्प्युटर भेषमा ठिङ्रिङ्ग उभिएर
आदेश दिँदै छ बोसले
घरको कोठा नै
बिरानो देश भएको छ परिवारलाई
र लिनुपर्छ भिसा प्रवेशको लागि ।
०००
२.
घरभित्र पसेपछि
सहरभरिको थकाइ मेटिन्थ्यो
कुरा साटासाट हुन्थ्यो मनका अन्तरकुन्तरको
चरीको भाका सुनिन्थ्यो सिकुवाहरूबाट
छिमेकीहरू देखिन्थे झ्यालबाट या आँगनबाट
पूरै घाममा सुकाइन्थ्यो मनका चिसा दर्दहरू
काम टाढा थियो
कठोर काम सकेपछि मन फर्कन्थ्यो घरभित्र
र नाच्थ्यो, गाउँथ्यो परिवारसँग चोटाकोठामा ।
काम नै घरमा पसेपछि
लहरै निस्किए घरबाट मनका मीठा खुसीहरू
बल्लतल्ल थकाइ मार्न आँटेको बेला
काम नै आइपुग्छ अघिल्तिर
र, टुलुटुलु हेरिरहन्छ थकित अनुहार ।
०००
३.
काममा आवतजावत गर्न
गाडी गुडेको छैन
सहर चाहरेको छैन
तर क्षणक्षणमा दौडिरहन्छ गाडी सपिङ मलतिर
क्षणक्षणमा झर्किरहन्छ किचन चुल्होका आवाजहरूले
क्षणक्षणमा दौडिरहेछन् पाइलाहरू
भ्याकुम क्लिनर र ग्रास कटरका धुनहरूमा ।
घरभित्रको काम
हुरीको पत्कर उडिरहेछ ।
०००
४.
सबैतिरबाट भागे पनि
सबैले लखेटे पनि
भरोसाको सास फेर्ने ठाउँ थियो घर
अहिले काम नै घर ढाकेर बसेपछि
खोज्दै हिँड्नुपरेको छ सुस्ताउने ठाउँ ।
वर्क फ्रम होमले
अफिस त टाढियो नै
घर पनि रहेन घरजस्तै ।
०००
५.
होमवर्क गर्ने अल्छ्याइँले
बूढो बनेको विद्यार्थी,
हाफ पाइन्ट पहिरेर
समाचार पढिरहेको समाचारवाचक,
माथितिर स्मार्ट सर्ट र कोट
र, तलतिर ट्राउजर पहिरेर
बोर्ड मिटिङमा बोलिरहेको कर्मचारी,
सबै उस्तै उस्तै हुन् आखिर !
०००
६.
कफीको बाफले
भिजिसकेको छ बिछ्यौना
घाम अस्ताउँदा पनि बाँकी थियो अन्तिम परिच्छेद
घाम उदाउँदा पनि पल्टाइँदै छ अन्तिम परिच्छेद ।
आखिर हतार छैन नि–
ब्रेकफास्ट खान
लन्च खान
र, अफिस जान ।
०००
–०००–
गोंगबु, काठमाडौँ, हाल: अमेरिका
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



