बत्ती बाल्नेलाई बत्तीमै जलाऊ,
बत्ती नबाल्नेलाई उज्यालोमा ल्याऊ ।
आखिर
चमेरोलाई अँध्यारो नै मन पर्छ ।
जब घोर अन्धकार हुन्छ,
चमेरोले सबैको खजाना लुट्छ
र, घोर अन्धकारको भोजमा जुट्छ ।
यो देशमा के आउँदैन ? सबै आउँछ ।
कुनै दिन
संसद्को बहुमतले बुद्ध पिटिनेछन्,
कुनै दिन
अनागरिक बनाइनेछन् नागरिकहरू ।
सरकार छ भन्ने
अनुभूति त हुनैपर्यो जनतालाई !
दिनदहाडै गौँडा–गौँडामा
सरकारबाट जनता लुटिन सक्छन्,
कोही उठ्न सक्छ–
अँध्यारोलाई उज्यालो बनाउँछु भनेर,
झरिलो अगुल्टो ठानेर
उसैलाई पानीमुनि झोस्न सक्छन् ।
–०००–
गोंगबु, काठमाडौँ


