लघुकथा: अदृश्य शक्ति
— सुरेशकुमार पाण्डे
“के हुँदै छ नारायण?” दिवाकरले नारायणको नजिकै गएर सोधे। त्यहाँ केही मानिसहरू जुटेका थिए। आज दिउँसो सबै जुट्ने कुरा थियो।
“सर! अब चुनाव लागेको छ गाउँमा। त्यसैले होला आज विभिन्न पार्टीहरूका बीचमा छलफलको कार्यक्रम छ। उनीहरूले गाउँलेहरू समेतलाई बोलाएका छन्। म पनि गाउँलेकै नाताले यहाँ उपस्थित भएको हुँ,” नारायणले भन्यो। दिवाकर नारायणका गुरुमध्येका एक सर्वमान्य वृद्ध व्यक्तित्व हुन्।
“होइन मैले बुझिनँ, विभिन्न पार्टी र गाउँले समेतलाई बोलाएर के गर्न खोजेका रहेछन्? आयोजना कुन संस्थाले गरेको छ?” दिवाकरले बुझ्न खोजे।
“खै सर! मैले बुझेअनुसार नयाँ पुस्ताले यसको आयोजना गरेको बताइन्छ। भनिन्छ, ‘गैरराजनीति युवा मञ्च’ले यसको नेतृत्व गरेको छ। सबै पार्टीहरूबाट उनीहरूको घोषणापत्रमा उल्लेख भएका मुख्य बुँदाहरूलाई नोट गराउने र पार्टी अध्यक्ष तथा उम्मेदवारबाट लिखित सहीछाप लगाउने,” नारायणले आफूलाई जानकारी भएको कुरा बतायो।
“त्यो त ठिकै पनि होला तर गैरराजनीतिको नाउँमा झन् ठूलो राजनीति हुँदै छ जस्तो लाग्यो। उसले काम गरेको-नगरेको बारेमा रेखदेख गर्ने जिम्मा त अहिले पनि विपक्षको अधिकार हो। कामहरू पनि राजनीतिक दलको चुनावी घोषणापत्रमा सबै उल्लेख हुन्छन्। जवाफ लिने-दिने जिम्मेवार व्यक्तिहरू छँदै छन्। अनि त्यो नयाँ पुस्ताले कसरी उनीहरूलाई घेर्न सक्छ, जब कि उनीहरूले राजनीति नै गर्दैनन्? उनीहरूसँग कस्तो अधिकार हुन्छ र कसले छानबिनको पावर दिन्छ उनीहरूलाई?” दिवाकर गर्दन मरोड्दै अपत्यारिलो भाव प्रकट गर्दै भन्छन्।
“कुनै सञ्जाल वा अदृश्य शक्ति छ कि सर? बुझ्न सकिएन!” नारायणले आशङ्का व्यक्त गर्दै भन्यो।
“त्यस्तै लाग्यो तिम्रो कुरा सुन्दा त!” दिवाकर यति भनेर हिँडे।
–०००–
दाङ, घोराही-१८


