बाल लोककथा: नयाँ युगको सुरुवात
लेखक: नन्दलाल आचार्य
धेरै धेरै टाढा, हिमालको काखमा एउटा सानो र सुन्दर गाउँ थियो । त्यहाँ गुराँसका फूलहरू मुस्कुराउँथे र चराचुरुङ्गीहरूले स्वतन्त्रताको गीत गाउँथे । त्यही गाउँको पुछारमा एउटा मेहनती र इमानदार ठिटो बस्दथ्यो । उसको नाम थियो— सङ्घर्ष । सङ्घर्षको स्वभाव उसको नाम जस्तै थियो । ऊसँग न ठुला महल थिए, न त असीमित जमिन । थियो त केवल एउटा सानो झुप्रो र एक हल गोरु अटाउने पाखो बारी; तर पाखुरामा अथाह शक्ति थियो । मनभित्र असीम उत्साह जिउँदै थियो ।
सङ्घर्ष सधैँ झुल्के घामसँगै उठ्थ्यो । धरती मातालाई ढोग्थ्यो र आफ्नो कोदालो काँधमा हालेर पाखोतिर लाग्थ्यो । उसको जीवनको उद्देश्य केवल आफ्नो पेट पाल्नु मात्र थिएन, बरु पसिना बगाएर माटोलाई सुन बनाउनु थियो । ऊ भन्ने गर्थ्यो, “मेहनत गर्नेका हात कहिल्यै खाली हुँदैनन् र इमानको बाटो हिँड्नेलाई प्रकृतिले कहिल्यै धोका दिँदैन ।”
एकदिनको कुरा हो, चैतको महिना थियो । धरतीमा टन्टलापुर घाम लागेको थियो । सङ्घर्ष आफ्नो बारीमा कोदो छर्न व्यस्त थियो । मध्याह्न भएपछि उसलाई भोकले सतायो । ऊ नजिकैको एउटा विशाल र पुरानो वरको रूखको फेदमा थकाइ मार्न बस्यो । उसले आफ्नो पटुकाको मजेत्रोमा बाँधेका कोदोका सातवटा मसिना रोटीहरू निकाल्यो । ऊसँग सितनका नाममा एउटा सुकेको खुर्सानी र थोरै ढिके नुन मात्र थियो ।
सङ्घर्षले रोटीका टुक्राहरूलाई एउटा पातमा सजायो । उसलाई निकै भोक लागेको थियो, त्यसैले रोटीका टुक्राहरू गन्दै आफ्नै सुरमा गुनगुनाउन थाल्यो, “एउटा खाऊँ कि दुइटा खाऊँ ? तीनवटा खाऊँ कि चारवटा खाऊँ ? पाँच, छ कि सातै वटा खाऊँ ?”
संयोग कस्तो पर्यो भने, त्यो वरको रूखमुनि एउटा ठुलो ओडार थियो । त्यो ओडारमा मानिसलाई दुःख दिने र समाजमा डर फैलाउने ‘अन्धविश्वास’ नामको एउटा निकै पुरानो र भीमकाय राक्षस बस्दथ्यो । त्यस राक्षसका सातजना साना बच्चाहरू थिए, जो भर्खरै ओडारको मुखमा खेल्दै थिए । सङ्घर्षले “सातै वटा खाऊँ” भनेको सुन्नासाथ राक्षस थुरथुर काँप्न थाल्यो । उसले सोच्यो— यो त कुनै साधारण मान्छे होइन, यो त मेरा सातै वटा सन्तानलाई एकै गाँसमा निल्ने शक्तिशाली वीर रहेछ !
राक्षस हतार-हतार ओडारबाट बाहिर निस्कियो र सङ्घर्षको गोडामा परेर बिन्ती गर्न थाल्यो, “हे वीर पुरुष ! दया गर्नुहोस् । मेरा निर्दोष बच्चाहरूलाई नखाइदिनुहोस् । म तपाईंलाई एउटा यस्तो उपहार दिन्छु, जसले तपाईंको जीवन मात्र होइन, यो पूरै गाउँको अभाव मेट्नेछ ।”
सङ्घर्ष अचम्ममा पर्यो, तर उसले धैर्य गुमाएन । राक्षसले एउटा चम्किलो ‘अक्षय-घडा’ दियो र भन्यो, “यस घडालाई केवल ‘सृष्टिको भकारी’ भन्नुहोस्, यसले तपाईंलाई जे माग्यो त्यही स्वस्थकर भोजन र बीउबिजन दिनेछ ।” सङ्घर्षले त्यो घडा लियो र साँझ घर फर्कियो ।
सङ्घर्षको घरछिमेकमा उसकी एउटी दिदी बस्थिन्, जसको नाम ‘लोभीमाया’ थियो । लोभीमायाको स्वभाव अलि फरक थियो । उनी अरूको प्रगति देख्न सक्दिनथिन् र कसरी अरूको वस्तु हात पारौँ भन्ने दाउमा हुन्थिन् । प्रगतिशील विचार र इमानदारी उनलाई मन पर्दैनथ्यो । सङ्घर्षले घर पुगेर त्यो घडाको चमत्कार देखायो । ‘सृष्टिको भकारी’ भन्नासाथ बास्नादार चामल र दालका दानाहरू निस्किए । यो देखेर लोभीमायाको मनमा पाप पलायो ।
त्यो रात जब सङ्घर्ष गहिरो निद्रामा थियो, लोभीमायाले सुटुक्क कोठामा पसेर सक्कली अक्षय-घडा चोरेर लगिन् र त्यसको ठाउँमा ठ्याक्कै त्यस्तै देखिने एउटा फुटेको पुरानो माटोको घडा राखिदिइन् ।
भोलिपल्ट सङ्घर्षले घडा चलाउन खोज्दा केही पनि निस्किएन । उसलाई लाग्यो, सायद राक्षसले मलाई झुक्यायो । ऊ फेरि उही रूखको फेदमा गयो र पहिलेकै शैलीमा रोटी गन्दै भन्न थाल्यो, “एउटा खाऊँ कि सातै वटा खाऊँ ?”
राक्षस फेरि डराउँदै बाहिर आयो । उसले सोच्यो— अघिल्लो उपहारले पुगेनछ । यसपटक उसले एउटा सेतो बाख्रो दियो र भन्यो, “यो ‘उन्नति’ नामको बाख्रो हो । यसलाई मायाले सुमसुम्याएर ‘सुनौलो भविष्य’ भन्नुभयो भने यसले बहुमूल्य धातु र रत्नहरू दिनेछ ।”
सङ्घर्ष खुसी हुँदै बाख्रो डोर्याएर घर आयो । तर, त्यो रात पनि लोभीमायाले आफ्नो पुरानो बानी दोहोर्याइन् । उनले सक्कली बाख्रो आफ्नो गोठमा लुकाइन् र एउटा दुब्लो-पातलो मर्न लागेको बाख्रो सङ्घर्षको दैलोमा बाँधिदिइन् ।
सङ्घर्षलाई अब शङ्का लाग्न थाल्यो । ऊ तेस्रो पटक फेरि त्यही रूखमुनि पुग्यो । यसपटक राक्षस निकै आत्तिएको थियो । उसले सङ्घर्षको अगाडि एउटा विशेष लौरो राखिदियो । यो लौरो सामान्य थिएन । राक्षसले भन्यो, “हे मेहनती युवा, यो ‘न्यायको लौरो’ हो । यदि कसैले तपाईंलाई धोका दिएको छ वा समाजमा अन्याय गरेको छ भने, यसलाई ‘बजा लौरी डाङडुङ’ भन्नुहोस् । यसले सत्यको रक्षा गर्नेछ र अन्यायीलाई तह लगाउनेछ ।”
सङ्घर्षले लौरो लिएर घर फर्कियो । उसलाई थाहा थियो कि कतै न कतै आफ्नै घरभित्रैबाट आफूमाथि अन्याय भइरहेको छ । उसले त्यो रात सुतेको नाटक गर्यो । मध्यरातमा जब लोभीमाया सुस्तरी कोठामा पसिन् र त्यो लौरो चोर्न खोजिन्, सङ्घर्ष जुरुक्क उठ्यो । उसले दृढ आवाजमा भन्यो, “बजा लौरी डाङडुङ ! जसले मेरो मेहनत चोरेको छ, उसलाई सत्यको पाठ सिका !”
लौरो हावामा नाच्यो र लोभीमायालाई ठटाउन थाल्यो । लोभीमाया चिच्याउन थालिन्, “मलाई माफ गर सङ्घर्ष ! मैले तिम्रो अक्षय-घडा र बाख्रो चोरेकी हुँ । म अहिल्यै फिर्ता गर्छु !” लौरोको प्रहारले उनको लोभ र पापको अहङ्कार चूर्ण भयो । उनले तुरुन्तै ती सबै सामग्रीहरू फिर्ता गर्न राजी भइन् ।
सङ्घर्षले लौरोलाई रोक्न आदेश दियो । उसले भन्यो, “दिदी, यो उपहार मेरो व्यक्तिगत सुखका लागि मात्र होइन । यो त हाम्रो पूरै गाउँको अभाव हटाउनका लागि प्रकृतिले दिएको वरदान हो । तपाईंले चोरी गरेर होइन, सहकार्य गरेर सुख पाउनुहुनेछ ।”
त्यसपछि सङ्घर्षले ती दिव्य वस्तुहरूको प्रयोग गरेर गाउँमा ठुलो परिवर्तन ल्यायो । अक्षय-घडाबाट आएको उत्तम बीउबिजन उसले सबै गाउँलेलाई बाँड्यो । सुनौलो बाख्रोबाट प्राप्त धनले गाउँमा पाठशाला र अस्पताल बनायो । ‘न्यायको लौरो’ गाउँको चौतारीमा राखियो, जसले गर्दा गाउँमा कसैले कसैलाई ठग्न र अन्याय गर्न डराउन थाले ।
यसरी, एउटा मेहनती युवाको साहस, धैर्य र न्यायप्रतिको निष्ठाले एउटा गरिब गाउँलाई समृद्ध र शिक्षित समाजमा बदल्यो । राक्षस जस्तो देखिने अन्धविश्वास पनि बिस्तारै हटेर गयो र गाउँमा नयाँ युगको सुरुवात भयो । मानिसहरूले बुझे कि वास्तविक जादु कुनै मन्त्रमा होइन, मेहनत र सामूहिक हितमा लुकेको हुन्छ ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठ जाला, भन्ने बेलामा तातातै आइजाला ।
–०००–
२०८२ पुस ५ गते
श्री जनता प्राविधिक माध्यमिक विद्यालय, गोलबजार–४, सिरहा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



