बाल कविता : संसार उसकै, अमिताभ जो छ
कवि : विष्णु ढकाल
भिजेर माटो, जब बीज फुट्छन्
उम्रेर ठूला, बर-वृक्ष बन्छन् ।
पानी र माटो, सँग बीज मिल्दा
देख्यौ कि नानी ! वन-वृक्ष ठूला ?
कसले स्थलैमा, किन वृष्टि भर्छन् ?
कसले स्थलैमा, किन वृक्ष दिन्छन् ?
कसले यसरी, तिन रङ्ग भर्यो ?
कसले बुटामा, फल-फूल भर्यो ?
दिएर काखै, सब पङ्ख पाल्ने
दिएर पातै, सब जन्तु पाल्ने ।
हामी रमेका, फल-फूल खाई
हामी बचेका, यिन वायु पाई ।
कसले बनायो, क्षण-काल यहाँ
कसले बनायो, दिन-रात यहाँ ?
कसले बनायो, थल-शैल यहाँ
कसले रचायो, तिन वृक्ष यहाँ ?
प्रकाश कसको ? किन दीप बल्छ ?
अभेद्य यस्तो, कुन ज्ञान हो यो ?
संसार कसको, कसले चलायो ?
अनन्त बाँच्ने, कसले रचायो ?
अभीष्ट कसको, यस मूल्य के हो ?
विज्ञान कसको, यस कीर्ति कसको ?
विज्ञान उसकै, अभिलाष जो छ
संसार उसकै, अमिताभ जो छ ।
–०००–
कन्याम, इलाम


