कविता: म पागल कवि
कवि: हिमरत्न अनुराग
म बताससँगै बगेँ,
म पागल कवि,
पागल मेरो कविता ।
मैले सत्यको सहारा लिएँ
झुटको पर्दा उतारेँ,
मैले देश लेखेँ—
लेख्नुपर्ने पनि लेखेँ
नलेख्नुपर्ने पनि लेखेँ ।
व्यथा लुकाएर सगरमाथाझैँ हाँसेँ
पीर लुकाएर बाँचेँ,
म आफैँ दुःखी न्याउली
अरूको दुःख लेखेँ ।
पहाडझैँ अटल भएँ
तराईझैँ समतल भएँ
नदीझैँ बगेँ ।
विश्वास गर्नुपर्नेलाई विश्वास गरिनँ
विश्वास नगर्नुपर्नेलाई विश्वास गरेँ,
काँढालाई चुमेँ
फूललाई बोटमै छाडेँ ।
पत्थरदेखि पग्लिएँ
कोमलदेखि कठोर बनेँ,
शब्दलाई पहाड भनेँ
पहाडलाई शब्द भनेँ ।
रातलाई दिन भनेँ, दिनलाई रात भनेँ
हाँस्नुपर्ने बेला रोएँ, रुनुपर्ने बेला हाँसेँ
बोल्नुपर्ने बेला सुनेँ, सुन्नुपर्ने बेला बोलेँ ।
शब्दलाई आवाज भनेँ, आवाजलाई शब्द भनेँ
हावासँगै वहन खोजेँ,
पानीलाई ठोस भनेँ, ढुङ्गालाई तरल भनेँ ।
सजिलोलाई कठिन भनेँ, कठिनलाई सरल भनेँ
आँसुलाई सुख भनेँ, हाँसोलाई दुःख भनेँ ।
म भिरमा पनि फुल्न खोजेँ
पीरमा पनि हाँस्न खोजेँ,
हावालाई देखेँ, पानीलाई सुँघेँ ।
आकाशलाई धर्ती भनेँ, धर्तीलाई आकाश भनेँ
अँध्यारोलाई प्रकाश भनेँ, प्रकाशलाई अँध्यारो भनेँ ।
जीवनलाई झुट भनेँ, मृत्युलाई सत्य भनेँ
प्रेमलाई घृणा भनेँ, घृणालाई प्रेम भनेँ ।
जम्नुपर्ने बेला बगेँ, बग्नुपर्ने बेला जमेँ
माटोलाई ढोगेँ, शब्दलाई प्रेम गरेँ ।
अरू विदेश जाँदा देशमै बसेँ
माटोलाई मुटु भनेँ, देशलाई प्राण भनेँ—
म पागल कवि,
पागल मेरो कविता ।
कालेश्वर-०४, ललितपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



