कविता: आऊ छलफल गरौँ
कवि: दूरगामी माइला
आऊ, एक पटक छलफल गरौँ
जीवनका भोगाइहरूको
र निष्कर्षको बिन्दुमा टेकेर
अर्को अद्भुत जिन्दगी जन्माऔँला ।
फाटेका मनहरू टाल्दै बहस गरौँला,
भोका पेटहरू भर्दै सहकार्य गरौँला,
अनिँदा रातहरू छल्दै आँखा बिसाऔँला,
तिम्रा हरेक असहमतिको जरो पहिल्याऔँला
र सहमतिको हस्ताक्षर गरौँला ।
अनि भेटौँला एक पहाड,
लेखौँला जीवनका गीतहरू,
भरौँला सङ्गीत एक मिठासपूर्ण प्रेमको ।
तिम्रा दिलका दैलाहरूमा
स्वतन्त्रताको प्रवेश गराऔँला
र घोषणा गरौँला प्रजातन्त्रको ।
क्रान्तिका कलश यात्रा बोकेर
निस्कौँला लामो हिउँदे बिदामा,
मनाऔँला हनिमुन उत्सव,
र फुकौँला तुरही विजयको ।
तिम्रो प्रतिबन्धित सहरमा
रोपौँला बिरुवा सद्भावको,
सुरुवात गरौँला नीलो क्रान्तिको ।
अनि फर्काऔँला
ओठमा एउटा सुमधुर मुस्कान,
लगाऔँला घैया टारीहरूमा,
उमारौँला जुनेलो बारीहरूमा ।
गाँसौँला साइनो दुई मनको,
जोतौँला मनका बाँझा गराहरू
र फुलाऔँला एक मुठी वसन्त
शिशिर यामका जाडोहरूमा ।
म बिग्रेको सम्बन्ध सुधार्न आएको हुँ,
एक पटक विचार गर
र अगाडि बढ्न देऊ तिम्रा हातहरू ।
किनकि अब फुलाउनुपर्छ चैत,
नयाँ पालुवा पलाएको छ,
प्रकृति बदलिएको छ,
मौसम बनिएको छ ।
ताजा छन् याद,
अब याद रोपेर
याद उत्पादन गर्न तयार छन्
मनका कारखानाहरू ।
सङ्खुवासभा


