कविता: मनैदेखि किन थाक्छ मान्छे ?
कवि: सुष्मा दाहाल
शरीर त
समयको आदेश पालना गर्ने
एक आज्ञाकारी छाया मात्र हो !
थकान त्यहाँ हुँदैन,
थकान त मनको
सबैभन्दा गुप्त कोठामा
पुरानो सिसाको फ्रेमको
धुलोझैँ बनेर थुप्रिन्छ,
जहाँ अधुरा इच्छा
कब्रिस्तानका नामविहीन शिलालेखझैँ
एक-आपसमा ठोक्किँदै
रातभरि चिच्याइरहन्छन् ।
मान्छे थाक्छ
जब सपनाहरू
आफ्नै उचाइबाट खस्छन्,
जब आशाहरूमा
उज्यालो न्यानो प्रकाशभन्दा
रेतको चिसो सिरेटो हाबी हुन्छ ।
यतिबेला इकारसका प्वाँखहरू
घामको तातो रापले होइन,
तुषारापातको डरले पग्लिन्छन्–
फर्फराएर उड्नुअघि नै ।
ऊ थाक्छ
नबोलिएका वाक्यहरूको भिडले ।
मौनताले यहाँ विश्रामभन्दा बढी पोलेको हुन्छ,
दुखिरहेको घाउमा नुन-चुक छर्किएझैँ ।
जहाँ सुन्दर आत्मा
हरेक रातका हरेक प्रहर
आफ्नै परिचयसँग अपरिचित बनेर शङ्का गर्दै
ऐँठन परेझैँ झस्केर ब्युँझिरहन्छ ।
लाग्छ,
उसको जीवन
सिसिफसको पुनर्लेखन हो;
आशाको गरुङ्गो ढुङ्गा
आफ्नै छातीमा बोकेर
नियतिले हरेक साँझ त्यही ढुङ्गा
फेरि मनमाथि खसाल्छ,
र प्रमाणित गर्छ कि–
परिश्रमभन्दा निरर्थकता
अझ क्रूर हुन्छ ।
मन थाक्छ
अपेक्षाको तीखो क्रुसमा टाँगिँदा,
जहाँ आफ्नै मान्छेहरू
निर्दयी र मूकदर्शक बन्छन्,
अनि उपेक्षा सबैभन्दा हिंस्रक हतियार बनेर
आत्मविश्वास बगाउँछ ।
ऊ थाक्छ
बारम्बार मान्छे साबित हुनु परिरहँदा,
हरेक पाइलापिच्छेका सम्झौतासँगै
आत्माबाट एउटा आवाज
सदाका लागि काटिन्छ,
र मन
बोल्न नसक्ने शून्यको अभ्यास गर्न थाल्छ ।
अन्ततः थकान
कुनै क्षणको परिणाम होइन,
यो त निरर्थक बाँचिरहनु परेको
लामो सजाय हो ।
यस्तै सोचहरूको थिचाइले
मनैदेखि थाक्छ मान्छे ।
किनकि,
मनले सबैभन्दा धेरै सहेर पनि
जिउँदो रहनुपर्छ घाउ लुकाएर,
दरारहरू मुस्कानले सिलाउँदै
भोलिको नाउँमा फेरि एक पटक
आशा उठाएर ।
तेह्रथुम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



