कविता: पुरानो क्यालेन्डर
कवि: दूरगामी माइला
आजबाट बिट मार्नु छ
एउटा कथाको
र लेख्नु छ भोलि
नयाँ शुभकामना
तिम्रो उन्नति र सफलताको ।
गुराँसे डाँडामा पिरको ढाकर छाडेर
ओर्लिनु छ गाउँ
पुरानो मुस्कानको नवीकरण गर्न
र खोज्नु छ, नयाँ गन्तव्य
जिन्दगी बिसाउने चौतारीहरू
अनि लेख्नु छ भञ्ज्याङमाथि चढेर
एक अञ्जुली शुभकामना
तिम्रो दीर्घायुको ।
फाटेका दौराहरूको कुइनो टाल्दै,
उध्रिएका सपनाको कम्मर मिलाउँदै,
मुखभित्र अमिलो ग्यास्ट्रिकको पानी उमाल्दै,
निस्कनु छ, बाँझो खेत जोत्न
अनि छोराछोरीको धमिलो भविष्यमा
सफलताको एक हिउँदे बाली उमार्न
पिरको गहिरो इतिहासमा
मुस्कानको मलमपट्टी लगाउनु छ
पत्थरको जमिनमा
प्रेमको बाली सपार्नु छ
चुँडिएका सम्बन्धहरूमा
एउटा गँसौटो गाँस्नु छ ।
तिमी सधैँलाई जाँदै गर्दा
मैले एउटा प्रतिज्ञा गर्नु छ
हिजो बिग्रेको मन,
टुटेको जिन्दगी लिएर
माफी माग्नु छ ईश्वरलाई
र सुरुवात गर्नु छ नयाँ अध्याय,
पुरानो क्यालेन्डर बिर्सिएर ।
संखुवासभा


