संस्मरणात्मक निबन्ध : सपना र सपनाहरू
लेखक : मधुर भट्टराई
सपनाको रङ कस्तो हुन्छ ?
शायद मानिसका अनुभूति अनुसार फरकफरक सन्दर्भमा फरकफरक जवाफ आउने प्रश्न हो यो । तर मलाई लाग्छ सपना इन्द्रेणी रङको हुन्छ । कहिले भरोसाको गाढा रातो रङ जस्तो त कहिले निराशाको श्यामश्वेत जस्तो । तर सपनाको रङ समय, काल र परिस्थिति अनुसार फरक पर्दो रहेछ ।
सपना निदाउँदा मात्रै देखिँदैन । ननिदाउँदै देखिने सपना खासमा लाक्षणिक अर्थमा सपना हो । जुन जोकोहीले देख्न सक्दैन । निदाउँदा देखिने सपना त आम मानिसहरूको दैनन्दिन अनुभूति भइहाल्यो ।
भनिन्छ सपनाले दिशा निर्देश गर्छ । सपनाले अन्तःप्रज्ञा चक्षुलाई सामयिक र बलियो बनाउँछ । त्यसैले त मानव जीवनको इतिहासमा जेजति आविष्कारहरू भएका छन्, त्यसमा सपनाको भूमिका उल्लेख्य छ ।
खुल्ला आँखाले देखिने सपनाले मानिसलाई द्रष्टा बनाउँछ, ऊर्जाशील बनाउँछ । जीवन लक्ष्यलाई स्पष्ट र सुगम बनाउँछ । तर कहिलेकाहीँ निदाउँदा देखिने सपनाले पनि केही सङ्केत गरेको हुँदो रहेछ कि जस्तो लाग्छ ।
अध्ययन अनुसार मानिसले देख्ने ९५ प्रतिशत सपनाहरू ब्युँझिनेबित्तिकै बिर्सिएर जान्छन्, तर केही सपनाहरूको आयु अलिक लामो हुने रहेछ । औसतमा पाँचदेखि बीस मिनेटका यी सपनाहरू कुनैकुनै भने निकै नै दीर्घजीवी हुँदा रहेछन् । जीवनको कुनै कालखण्डमा देखिएका कैयौँ सपनाहरूको भिडबाट केही भने फुत्त बाहिर निस्केर जीवनभर झस्काइरहने रहेछन् ।
जीवनमा लाखौँ सपनाहरू देखिए होलान् तर ती सारा विस्मरणको गर्तमा पुरिएर कता बिलाए कता । तर केही यस्ता पनि आए जसले अहिलेसम्म जिन्दगीमा गहिरो छाप छोडेका छन् । बिर्सिएर पनि बिर्सिन सकेको छैन । सपनाका तिनै विस्मयकारी हरफभित्र कहिलेकाहीँ रल्लिइरहन्छु ।
जीवनको कुनै कालखण्डमा देखिएको यस सपनाले अतीतका हरेक गल्ली-गल्छेडाहरूमा सम्झनाको झण्डा फर्फराइरहन्छ । प्रासङ्गिकताले डोर्याएको त्यही सपनाको बारेमा चर्चा गरिनु सान्दर्भिक ठान्छु ।
सपनामा म गौरीडाँडाको हाल प्रहरी कार्यालय भएको स्थानभन्दा थोरै पश्चिम तर्फको डाँडामा थिएँ । अर्थात् बर्दिबास चोकदेखि एक कि.मी. उत्तर, बनेपा-बर्दिबास हाइवेदेखि पश्चिम दिशाको डाँडामा ।
डाँडादेखि पश्चिम एउटा नदी थियो, सङ्लो नदी । नदीको उत्तरवर्ती भागमा पौडिरहेका माछाका रहरलाग्दा बथानहरू देखिन्थे । नदी किनारमा केही मानिसहरू समूह-समूहमा विभाजित भएर लुगा धोइरहेका थिए । लुगा धुँदा लुगाबाट निस्केको साबुनको फिँज र मैलो नदीमा मिसिएको थियो । उत्तरी दिशाबाट कञ्चन प्रवाहमा बगेको नदी फोहोर र मैलोले थलिएर बिस्तारै घिस्रिरहेको थियो ।
मानिसहरू यसलाई पाप धोएको र पखालेको भन्दा रहेछन् । कस्तो अनौठो दृश्य ! पाप पनि पखाल्न सकिने रहेछ आखिर । मलाई ती दृश्यको चुम्बकले बिस्तारै तान्न थाल्यो ।
आकाश उज्यालो र दिन सफा थियो । पारि वनमा मन्द बतासमा अग्ला रुखका टुप्पाहरू हल्लिरहेका देखिन्थे । अपराजिता फूलजस्तो नीलो आकाशका केही भागमा सिमलका भुवा जस्ता बादलका टुक्रा तैरिरहेका देखिन्थे । म ती सारा परिदृश्य हेर्दै यताउती विचरण गर्दै थिएँ ।
तर डुल्दै गर्दा एउटा अनौठो दृश्यले म तानिएँ । अग्घोरै विस्मयमा परेँ । डाँडाको कुनाबाट एकजना मान्छे खोलामा निरन्तर ढुङ्गा हानिरहेको थियो । ढुङ्गा खोलामा खस्दा ‘छप्ल्याङ्ग’ गर्दै पानी उछिट्टिन्थ्यो । घरिघरि उछिट्टिएको मैलो पानीले लुगा धुनेहरूलाई रुझाइरहेको थियो । उनीहरू तर्किन खोजिरहेका थिए तर सकिरहेका थिएनन् । पाप पखाल्ने स्थानमा देखिएको यस्तो व्यवधानले मेरो मनको शान्त तलाउमा एकाएक तरङ्ग फैलियो । मन नराम्रोसँग बिथोलियो । त्यो मान्छे को थियो, जो यी सारा हर्कत गर्दा खित्का छाडेर हाँस्थ्यो र बेलाबेला एक्लै ताली बजाउँथ्यो ?
मलाई किनकिन त्यो परिदृश्यले द्रवित बनायो । के गर्ने होला- सोच्न थालेँ । समस्या समाधान गर्न उपायका गोरेटो पहिल्याउन खोजेँ । सोच्दासोच्दै अकस्मात दिमागमा तीव्र गतिको बिजुली चम्क्यो । नौलो सोच र योजनाको घुर्मैलो डोरीमा म डोरिन थालेँ । उभिएको स्थानभन्दा पूर्वोत्तर दिशातर्फ मेरा खुट्टाहरू अनायासै लाग्न थाले ।
डाँडाकै सर्वाधिक उच्च स्थान थियो त्यो । त्यहाँ एउटा थुम्कामाथि दक्षिणाभिमुख देवाधिदेव महादेव अर्थात् शिव विराट स्वरूप धारण गरेर ध्यानस्थ मुद्रामा बसेको देखेँ । शिवको मुखाकृति शान्त थियो तर अनुहारबाट अपलक प्रवाहित आभाले मुहार जाज्वल्यमान थियो । साँच्चै नै अद्वितीय र दुर्लभ दृश्य थियो त्यो ।
विस्मयले आङ ढक्क फुल्यो । आँखाको चेपबाट हर्षका आँसु तप्पक्क खसे । म ध्यानमग्न शिवअगाडि उभिएँ र केही झुकेर नमस्कार गरेँ । शिवले आँखा बिस्तारै खोल्दै सोध्नुभयो, “के भो बालक, किन यहाँ आयौ ?” मैले हात जोड्दै बिन्ती गरेँ, “प्रभु, पाप पखाल्ने नदीमा एकजनाले ढुङ्गा प्रहार गरेर दु:ख दिइरहेको छ । केही गर्नुपर्यो, प्रभु ।”
शिव मुस्कुराउँदै भन्नुभयो, “तिमी यसको चिन्ता नगर । म सम्झाउँछु त्यसलाई । बरु पार्वती भित्रै होलिन्, जाऊ केही मागेर खाऊ ।”
“हस् प्रभु” भन्दै यताउती हेर्न थालेँ । शिवको ज्योतिर्मय आभाले म विचारशून्य हुन पुगेँ । कता जाने हो सोध्नुपर्थ्यो, सोध्नै बिर्सिएँ । समय, काल र परिस्थिति शून्यको स्थितिमा पुगे जस्तो भयो । म उभिएको दाहिनेतर्फ अलि पर गुफा जस्तो संरचना देखेँ । म त्यतैतर्फ लागेँ । शिव पुनः ध्यानमा लीन हुनुभयो ।
मलाई यस्तो लाग्दै थियो कि म त्यो स्थानसँग पूर्ण रूपमा परिचित थिएँ । कुनै अपरिभाषित पूर्वस्मृतिले मलाई लखेटिरहेको थियो । तर यकिन गर्न सकिरहेको थिइनँ, त्यो के थियो ।
गुफाको सम्मुख पुगेर टक्क अडिएँ । गुफाको द्वार सुन्तले रङको लहरे फूलले ढाकिएको थियो । केही लहरे घाँस गुफामाथिबाट लत्रिरहेका देखिन्थे । गुफाभित्र मधुरो प्रकाशमा छाया चल्मलाएको मात्र देखिएको थियो । गुफाको मूलद्वार नजिकै के पुग्न लागेको थिएँ, अचानक ब्युँझि त गएँ । बाहिर चराचुरुङ्गी कराएको सुनेँ । बिहान भइसकेको रहेछ । सपना पूरा हुनै पाएन । माता पार्वतीसँगको दर्शन-भेट अधुरै रह्यो ।
अहो, कस्तो विचित्रको सपना देखेँ मैले ! शिवको विराट रूप ! निकै दिनसम्म त्यही सपना दिमागमा भुमरी परेर घुमिरह्यो । गौरीडाँडाको थुम्कोमा शिव-गौरीको बास देखेको थिएँ सपनामा ।
सपना दैनन्दिन सोचको परिणति हो भन्थे, तर त्यस्तो सोच मेरो दिमागी पर्दामा कहिल्यै झुल्किएको थिएन । सपना अनौठो त थियो तर बारम्बार सम्झिरहनु जस्तो । त्यो समय म आई.ए. पढ्दै थिएँ । त्यो सपना मेरो निम्ति एक अद्भुत परिघटना थियो । त्यसको दीर्घकालीन केही सम्बन्ध मेरो जीवनसँग थियो कि थिएन थाहा भएन । तर वर्षौँअघि देखेको सपना अझै पनि भर्खरै हेरेको सिनेमाझैँ कथानकताको धागोमा तानिँदै आउँछ । पुर्याउँछ स्वप्न भूमिमा, पुग्छु त्यो अलौकिक लोकमा । स्वप्न नगरीको जादुले अचेल पनि यदाकदा लठ्याइरहन्छ ।
सपनाको रङले कहिले जीवनको रङ उत्ताल बनायो, कहिले उदास । तर सपनाको क्षेत्रफल भने समयक्रमसँगै बढ्दै जान थाल्यो । सपनाको संसार रमाइलो लाग्न थाल्यो । डरलाग्दा सपना देख्दा भने अत्यासका पहिरोले सहजताका बाटाहरू छोप्थे । मुटुमा दमाहा बज्थ्यो । फोक्सोको खलाँतीले छिटो-छिटो हावा छोड्थ्यो ।
कहिले उडिरहेको सपना देख्थेँ, बादलझैँ आकाशमा तैरिरहेको । आमा भन्नुहुन्थ्यो, “यस्तो सपना प्राय: बढ्दो उमेरमा देखिन्छ ।” सर्पले लखेटेका सपना त झन् कति कति ! सपनाका सर्पहरू अस्तित्वका सन्त्रास थिए या अरू केही, त्यो त थाहा थिएन तर सपनाको भूगोल भने फैलिँदो क्रममा थियो । सपनाको विविधताका रङहरू इन्द्रेणी बन्ने क्रममा थिए ।
केटाकेटीमै सुनेको थिएँ, निद्रामा ऐठन हुँदा एउटा बिरालो आएर घाँटी समात्छ अनि ऐठन हुन्छ । दिमागमा त्यही संकथनको जरा गहिरोसँग गाडिएको रहेछ शायद । मलाई पनि यदाकदा ऐठन हुँदा तन्द्रामै एउटा बिरालो आएर खुट्टा सुँघेको देख्थेँ । त्यो बिरालो बिस्तारै छातीतिर सर्थ्यो र घाँटी समाउन पुग्थ्यो । त्यसपछि बोल्न खोज्दा वा चिच्याउन प्रयास गर्दा एकहोरो ‘हुँ..हुँ..’ आवाज मात्र निस्किन्थ्यो । केही क्षणपश्चात् बिरालोले घाँटी छोड्थ्यो र बल्ल सामान्य अवस्थामा फर्किन्थेँ । प्राय: यस्तो बेला उत्तानो परेर छातीमा हात राखेर सुतिरहेको हुँदो रहेछु । गाउँघरमा सुनिने भूतप्रेतका कथाको बिरालो दिमागमा अझै बसिरहेकै रहेछ । मौका पाउनेबित्तिकै घाँटी समाउन आइपुग्थ्यो । यदि अन्य जनावरको बारेमा यस्तै कथानकता बनेको भए त्यही जनावर सपनामा ओर्लिएर आउँथ्यो होला । यसर्थ, धेरै सपनाहरू त हाम्रै सामाजिकताले स्थापित गरेका मान्यताहरूबाट अवचेतनका माध्यमबाट सपनामा आउने रहेछन् ।
सपनाले यथार्थमा कहिल्यै नभोगेको अनुभवको रङ्गीन संसारमा विचरण गर्न सघाएको थियो । कहिले त लाग्थ्यो, त्यही सपनाकै संसारमा बाँचिरहूँ जस्तो, त्यसकै संसारमा हराइरहूँ जस्तो । तर सपना त सपना न हो, यथार्थ के हुन सक्थ्यो र ? सम्झूँ जस्तो लाग्ने बिर्सिहालिन्थ्यो, बिर्सूँ जस्तो लाग्नेले सम्झनाको ढोका खोलेर चियाइरहन्थ्यो ।
तथापि स्वप्नभूमिको विराट साम्राज्यको मालिक बनाउन अवचेतन मनले हररात कुनै न कुनै योजनाको तुरुप छोडेर जान्थ्यो । शायद त्यही पूर्वयोजनाले थापेको तुरुपको अङ्कुशले सपनाको संसारमा पुर्याउँथ्यो, चाहेर वा नचाहेरै पनि । अनि म देख्थेँ थरिथरिका सपनाहरू ।
–०००–
बर्दिबास-१४, महोत्तरी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



