संस्मरण : संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गःप्रति
लेखक : ईश्वर थोकर
शङ्कैशङ्कामा तिर्मिराएका आँखाहरू
मेरो ‘प्लिक्सी’ (कवितासङ्ग्रह) प्रकाशित भइसकेको थियो ।
कवि काशीराम विरसले एक दिन मलाई उहाँको कार्यालयमा डाक्नुभयो । म भक्तपुरको लायकुमा
अवस्थित उहाँको कार्यालयमा तुरुन्तै पुगेँ । उहाँले मलाई भक्तपुर साहित्यिक समाजद्वारा प्रकाशित ‘स्वर्णगजूर’ साहित्यिक मासिकको एउटा अङ्क
दिनुभयो । ‘स्वर्णगजूर’ पल्टाउनासाथ मेरो आँखा ‘शङ्कैशङ्कामा तिर्मिराएका आँखाहरू’ शीर्षकको कवितामा गएर टक्क अडिए ।
कविता संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गःको थियो । मैले पहिलो पटक पढ्न पाएको उहाँको सिर्जना पनि यही थियो— ‘शङ्कैशङ्कामा तिर्मिराएका आँखाहरू’ ।
त्यसपछि मैले उहाँका सांस्कृतिक, दार्शनिक तथा कवितात्मक चेतले ओतप्रोत भएका निबन्धहरू खोजीखोजी पढ्न थालेँ ।
चराको गुँडझैँ जन्मस्थल : मेरो भक्तपुर
लेखक तथा पत्रकार जितेन्द्र श्रेष्ठ ‘रसिक’ एक पटक म बसिरहेको भक्तपुरको व्यासीस्थित डेरामा आउनुभयो । म पुस्तकहरू मिलाउँदै थिएँ । उहाँले भन्नुभयो, “ईश्वरजी, म अहिले संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गःलाई
भेट्न जाँदै छु । तपाईं पनि जानुहुन्छ कि ?”
पुस्तकहरू मिलाउन छाडेर मैले पुलकित हुँदै सुनाएँ, “जान्छु ।”
त्यस बेला संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गः भक्तपुरको इन्द्रायणीपीठमा अवस्थित जेसिज माध्यमिक विद्यालयको प्रधानाध्यापक (प्रिन्सिपल) हुनुहुन्थ्यो ।
भेटका क्रममा लेखक तथा पत्रकार रसिकले मेरो परिचय दिँदै संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गःलाई उहाँकै कार्यकक्षमा यति भन्नुभयो, “उहाँचाहिँ कवि ईश्वर थोकर । मेरो साथी । भक्तपुरलाई असाध्यै माया गर्ने कवि । उहाँका हरेक कवितामा भक्तपुर जहाँतहीँ झुल्किरहन्छन् ।”
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गःले पनि उत्साहित हुँदै सुनाउनुभयो, “मैले पनि ईश्वरजीले जसरी नै भक्तपुरमाथि कविताहरू लेखेको छु । ती कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा यत्रतत्र छरिएर बसेका छन् । मेरो एउटा कवितासङ्ग्रह प्रकाशोन्मुख अवस्थामा छ— ‘चराको गुँडझैँ जन्मस्थल : मेरो भक्तपुर’ ।”
निष्ठाछेँ
बालकथाकार रश्मी खागीले एक दिन बहिनी याङ्जी र मलाई भक्तपुरको सूर्यविनायकमा अवस्थित ‘निष्ठाछेँ’ मा उहाँसँगै लिएर जानुभयो ।
निष्ठाछेँ अर्थात् संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गःको निवास । उहाँ हाम्रै व्यग्र प्रतीक्षामा हुनुहुन्थ्यो । निष्ठाछेँमै उहाँकी जीवनसाथी ध्रुवेश्वरी कायस्थसँग पनि परिचय गर्यौँ ।
भेट हुनासाथ मैले संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गःलाई मेरो दोस्रो कवितासङ्ग्रह ‘नोरी’ प्रदान गरेँ । उहाँ खुसी हुनुभयो ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गः मेरी गुरुआमा अमृत्यश्वरी दैवज्ञको काका हुनुहुँदो रहेछ । कुराकानीका क्रममा मैले यो कुरा थाहा पाएँ । उहाँले यस विषयमा जोड दिँदै अगाडि भन्नुभयो, “अमृत्यश्वरी र जगदम्बेश्वरी त मेरा भतिजीहरू हुन् ।”
“उहाँहरू दुवै जना मेरी गुरुआमा हुनुहुन्छ ।” मैले पनि भनेँ ।
छुट्टिने बेलामा उहाँले आफ्नो एकमात्र कवितासङ्ग्रह ‘चराको गुँडझैँ जन्मस्थल : मेरो भक्तपुर’ उपहार दिनुभयो । मैले कृतज्ञतापूर्वक स्वीकार गरेँ ।


