कवि : विद्यानन्द बेदर्दी
ए लालीगुराँस !
तिम्रो ओठमा हिमालको चिसो गुलाबी छ,
तिम्रो गालामा कुहिरोको चुम्बन,
तर म तिमीलाई देख्न चाहन्छु —
माटोको आलिङ्गनमा
जहाँ बिहानीको स्वागतमा ‘पराती’ गुञ्जन्छ
जहाँ न्यानो मायाको पछ्यौरीमा तिमीलाई बेर्छु,
ए लालीगुराँस ! जाऊ, हिँड मिथिला ।
लालीगुराँस ! तिमीलाई
हिमाल र पहाडमा मात्र फुल्ने बानी छ
तर मिथिलामा फुल्नलाई तिमीले
खेतबारीलाई आफ्नो सखी बनाउनुपर्छ
र चुल्होको धुवाँबाट
गृहिणीको मायाको गन्ध चुस्नुपर्छ ।
मिथिलाको आँगनमा तिमीलाई
लोकगीतले अँगालोमा भर्नेछ ।
मिथिला चित्रकलाले
तिम्रो रूप भित्ताहरूमा उतार्नेछ,
छठको घाटबाट
मोहित गर्नेछ मातृत्वको सौरभ
जितिया, चौरचन र जुडशीतलमा
बुझ्नेछौ सन्तान हुनुको गौरव ।
गहबर, तुलसीचौरा, डिहबार-थानसँग
तिम्रो लागि सप्को फिँजाएर
आमाले आशीर्वाद माग्नेछिन् ।
लालीगुराँस !
तिमी मेरो प्रेम मात्र होइनौ,
राष्ट्रको अभिमान पनि हौ ।
त्यसैले तिमीलाई भित्र्याउनेछु
चाडपर्वको बीचमा
जहाँ रङ होलीमा मात्र होइन,
जीवनको रगतमा बग्ने गर्दछ ।
लालीगुराँस !
तिमीलाई मिथिलाको धरतीमा रोपेर
म एउटा फूल मात्र होइन,
एकता रोप्नेछु ।
तिमी यहाँ फुल्नेछौ —
माटोमा मात्र होइन,
सिङ्गो देशको मुटुमा ।
तिमी सजिनेछौ सधैँ —
प्रेम र पहिचानको शिरबन्दी बनेर ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका-४, सप्तरी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।



