कवि : सबिन पौडेल
यहाँबाट धेरै टाढा
जताततै अन्धकार मात्र फैलिएको
एउटा सानो कोठाजस्तो संसार छ ।
त्यो दुनियाँमा मान्छे मान्छेलाई मार्छन्
मान्छेको नै मासु खान्छन् ।
जहाँ बन्दुक खुकुरीलाई देवता मानिन्छ
पूजा गरिन्छ
त्यहाँ मारकाटबाहेक केही हुँदैन,
त्यहाँ मान्छे मार्नेलाई बहादुर भनिन्छ ।
त्यहाँ हेर्ने हो भने
रुवाइ र चिच्याहटबाहेक केही सुनिँदैन ।
त्यहाँ बच्चालाई शारीरिक यातना दिइन्छ
र बच्चाको रोदन कलकारखानामा पिसिन्छ,
त्यसलाई बुलेट बनाइन्छ
र त्यो बुलेट आमाबुबाको छातीमा फायर गरिन्छ ।
मान्छेहरूको आँखा निकालिन्छ
त्यसको ठाउँमा गोली हालिन्छ
युद्ध मात्र देख्न सकोस् भनेर ।
त्यहाँ कविता कोर्नेको हात काटिन्छ
गीत गाउनेको जिब्रो चिरिन्छ,
कलममा शृङ्खलाको मसी भरिन्छ
र त्यसमा रगतले हस्ताक्षर गरिन्छ ।
त्यहाँ पढाउँछन् सैतानहरू
बन्दुक बोक्छन् देवताहरू
र कानुन लेख्छन् राक्षसहरू,
जहाँ जिउन कि मर्नुपर्छ कि मार्नुपर्छ ।
त्यहाँका मान्छेहरू भन्छन्—
रगतको होली खेल्छौँ
मुण्डमाला लगाउँछौँ,
हामी सिद्धिन जन्मेका होइनौँ
हामी सिध्याउँछौँ ।
कविको ठेगाना : मन्थली न.पा.-१२


