कवि : सलिन विष्ट
म एउटा पुरुष,
मैले रगतलाई केवल
चोटसँग जोडेर हेरेँ,
जसले रातो रङ्गलाई विजय
वा क्रोधको प्रतीक मानेँ ।
मैले कहिल्यै बुझिनँ;
एउटा शरीरभित्र हरेक
महिना एउटा सृष्टि भत्किन्छ,
र…
त्यो भत्किएको पीडाबाट अर्को
जीवनको आधार निर्माण हुन्छ ।
हो…,
म पुरुष खोइ कहाँ बुझ्न
सक्थेँ र महिनावारीको व्यथा !!
तिमी भान्साको कुनामा खुम्चिँदा,
वा ओछ्यानमा ‘ऐया’ भन्दै
कोल्टे फेर्दा, मैले त्यसलाई
सामान्य ‘पेट दुखाइ’ को नाम दिएँ ।
मैले बुझिनँ;
कम्मरदेखि खुट्टासम्म झमझमाउने
त्यो बिजुलीको झड्कासरी अनुभूति,
तल्लो पेटमा भइरहने त्यो
निरन्तरको ऐँठन, र अन्तःस्रावको
छालले मनमा ल्याउने त्यो
अनौठो उथलपुथल ।
मैले त केवल तिम्रो झर्कोफर्को
र मौनता मात्र देखिरहेँ ।
मैले त रगत लागेको कपडा
लुकाउनुलाई ‘लाज’ ठानेँ,
भान्सा र मन्दिर वर्जित
हुनुलाई ‘परम्परा’ मानेँ ।
तर तिमीले त त्यो
कमजोरीमा पनि साहस बटुलिरह्यौ,
आफ्नै शरीरको प्राकृतिक
चक्रसँग युद्ध गरिरह्यौ ।
मैले सफा सर्ट र तातो खानाको
आशा गरिरहँदा, तिमी भित्रभित्रै
एउटा मौन ज्वालामुखी
थामेर बसेकी थियौ ।
आज महसुस हुँदै छ;
महिनावारी केवल ‘रगत’
बग्नु मात्र रहेनछ,
यो त धैर्यको पराकाष्ठा रहेछ ।
यो सृष्टिको त्यो अध्याय रहेछ,
जोबिना मेरो अस्तित्व
नै सम्भव थिएन ।
तिमीले हरेक महिना मर्ने र
बाँच्ने क्रम जारी राख्यौ,
र म भने तिमीलाई ‘अशुद्ध’
को छाप भिराएर रमिते बनिरहेँ ।
क्षमा गर प्रिय….. ।
मेरो पुरुषार्थले तिम्रो त्यो
कोमल तर कडा सङ्घर्ष
देख्नै सकेन,
किनकि म पुरुष खोइ कहाँ
बुझ्न सक्थेँ र महिनावारीको व्यथा !!
कविको ठेगाना : बनेपा-१२, काभ्रे


