कवि : उज्ज्वल पौडेल
मेरो चेतनशीलता गुमिसक्यो संवेदनाहीन छु ।
जिब्रो शब्दविहीन मौन छ गला आवाजमा दीन छु ।।
माटोले भरथेग माग्छ तर हेर्दैछु बनेर लाचार म,
आमाको वध टुल्ल हेर्छु निमुखा कस्तो कुलङ्गार म ।।
मेची भन्छ म रोगले गलिसकेँ ल्याऊ छिटो ओखती,
काली माग्छ गुहार हाय ! भयले सन्त्रस्त छन् सन्तति ।।
पाखा, टार, उपत्यका व्यथित छन् थाप्तै छु सत्कार म,
आफ्नाको क्षयमा रमाइरहने कस्तो कुलङ्गार म ।।
मेरो लेखनसीप मान पदवी ओसार्नमा लिप्त छ,
माग्ने लुब्ध निधार चर्म सजिने शृङ्गारमा लिप्त छ ।।
दाँज्ने गर्छु पदार्थमा सृजनको भावार्थ झङ्कार म,
कौडीमा पनि बेचिने र किनिने कस्तो कुलङ्गार म ।।
भोका छन् जनता म उत्सव गरी नेतृत्वमा नाच्दछु,
रोगी छिन् धरती महासमरले आठै किल्ला भाँच्दछु ।।
कुर्सीको व्यवसायमा जिउनुको देख्दै छु आधार म,
लाखौँका शवमाथि नाचिरहने कस्तो कुलङ्गार म ।।
ए आकाश, तँझैँ विशाल मन दे कल्याणको स्थान दे,
मेरो ध्वस्त गरेर यो मगजमा ‘हाम्रो’ हुने ज्ञान दे ।
सल्काई ममता मनुष्य हुनुमा गर्दै छु हुङ्कार म,
छानामाथि चिता जलाइरहने कस्तो कुलङ्गार म ।।
कविको ठेगाना : धादिङ


