कवि : जीवन सोनी
तिमी
स्वघोषित अजेय प्राणी,
भन्यौ—
‘पराजय मेरो नियति होइन’ ।
आँधी, तुफान, ज्वालामुखी र
सामुद्रिक उछालहरू पनि
आफ्नै मुठ्ठीमा रहेको भ्रममा
मस्त-मगन बनेर झुमिरह्यौ,
न सुन्यौ कसैलाई, न गन्यौ कसैलाई ।
तर,
नियतिलाई तिम्रो नियत
स्वीकार्य नभएपछि
तिमीले अस्वीकार गर्दैमा
कहाँ फेरिन्थ्यो नियति !
किन !
कहिल्यै पल्टाएनौ तिमीले
घमण्डको पराकाष्ठामा ठडिएका साम्राज्यहरू
नियतिको समय-चक्रमा गर्ल्यागुर्लुम्म ढलेका
इतिहासका पानाहरू ?
आज तिमी,
रित्तो आसनमा बसेर
गीत गुनगुनाइरहेछौ षड्यन्त्रको
तर बिर्सन्छौ—
बालुवाको महल
जतिसुकै अग्लो भए पनि
महासागरको एउटै लहरले
एक निमेषमै भत्काउन सक्ने यथार्थ ।
नबिर्स,
समयको एकै रापिलो लप्का नै पर्याप्त छ,
तिम्रो ‘अजेय’ भ्रमलाई खरानी बनाउन ।
कविको ठेगाना : सल्यान, कर्णाली प्रदेश


