पुस्तक समीक्षा
“हाम्रा संस्था: परिचय र परिचर्चा” पुस्तक पढेपछि
समीक्षक: भाष्कर मैनाली शर्मा
“हाम्रा संस्था: परिचय र परिचर्चा” पुस्तक पहिलोपटक सन् १९९२ मा प्रकाशित भएको थियो । यसको पुनर्मुद्रण सन् २००९ मा गरिएको थियो भने तेस्रो संस्करण सन् २०२५ मा प्रकाशित भएको छ । नेपाली भाषी समाजमा साहित्यिक तथा सामाजिक हितका निम्ति स्थापित विभिन्न संस्थाहरूको परिचय र योगदानलाई समेटेर तयार पारिएको यो पुस्तकका सम्पादक उत्तरबङ्ग विश्वविद्यालयका पूर्वप्राचार्य डा. मोहन पी. दाहाल हुन् । जम्मा २३ वटा शीर्षक समेटिएको यस पुस्तकमा १६५ पृष्ठ रहेका छन् । आकारका दृष्टिले यो पुस्तक मझौला देखिन्छ ।
नेपालपछि भारतमा नेपाली भाषी समुदायको सबैभन्दा ठूलो बसोबास रहेको पाइन्छ । विशेषगरी दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिक, सिलिगुडी, डुवर्स र सिक्किममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति छ । साथै असम, मेघालय, मणिपुर, नागाल्याण्ड, अरुणाचल प्रदेश, मिजोरम र त्रिपुरालगायत पूर्वोत्तर भारतका राज्यहरूमा पनि नेपाली भाषी समुदायको बसोबास रहेको छ । यस्तै हिमाचल प्रदेश र उत्तराखण्डमा समेत नेपाली समुदायको व्यापक उपस्थिति देख्न सकिन्छ । यी स्थानहरूमा नेपाली समुदायले धेरै अघिदेखि बसोबास गर्दै आएको हो ।
यिनै नेपाली समुदायले स्थापना गरेका विभिन्न साहित्यिक, शैक्षिक तथा सामाजिक संस्थाहरूको इतिहास, उद्देश्य र योगदानबारे यस पुस्तकमा विस्तृत रूपमा चर्चा गरिएको छ । अधिकांश संस्थाहरू नेपाली भाषा, साहित्य, शिक्षा र समाजको संरक्षण तथा विकास गर्ने उद्देश्यले स्थापित भएका हुन् । विगतदेखि नै यी संस्थाहरूले नेपाली समुदायलाई साहित्यिक, शैक्षिक र सामाजिक रूपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । आज पनि उनीहरूको मुख्य उद्देश्य नेपाली समुदायको उत्थान नै रहेको कुरा यस पुस्तकबाट स्पष्ट हुन्छ ।
भारतमा नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा समावेश गराउन नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, कालिम्पोङको नेपाली साहित्य अध्ययन समिति तथा खरसाङको गोरखा जनपुस्तकालयले खेलेको ऐतिहासिक भूमिकाबारे पनि यस पुस्तकमा विस्तृत जानकारी दिइएको छ । त्यसैगरी सामाजिक, साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा दार्जिलिङको गोरखा दुःख निवारक सम्मेलनको योगदान पनि उल्लेखनीय रहेको कुरा पुस्तक अध्ययनपछि थाहा हुन्छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका शिखर पुरुष हुन् । उनको जन्म, कर्म र निधन नेपालमै भए पनि उनको नाममा स्थापना भएको पहिलो संस्था भने भारतको सिलिगुडीस्थित देवकोटा सङ्घ रहेको तथ्य यस पुस्तकबाट थाहा हुन्छ । यस संस्थाले साहित्यिक गतिविधिमात्र नभई पुस्तकालय स्थापना, शिक्षाको प्रचार–प्रसार तथा दुःखी र असहायहरूको सहयोगमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।
अङ्ग्रेज शासनकालमा नेपाली समुदाय शैक्षिक रूपमा निकै पछाडि परेको अवस्थामा शिक्षा विस्तारमा विभिन्न संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका थिए । उदाहरणका रूपमा गोरखा जनपुस्तकालय, खरसाङले स्थापना गरेको शैक्षिक संस्था पछि खरसाङको प्रसिद्ध पुष्परानी विद्यालयका रूपमा विकसित भएको थियो । यसै संस्थाले नेपाली विषयमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गर्ने परम्परा पनि कायम राखेको छ ।
खेलकुद, नाटक तथा अन्य सांस्कृतिक गतिविधिमा पनि गोरखा दुःख निवारक सम्मेलनको योगदान उल्लेखनीय रहेको कुरा पुस्तकमा उल्लेख गरिएको छ । साथै नेपाली साहित्यमा संस्थागत रूपमा पहिलो पटक विद्यावारिधि प्राप्त गर्ने डा. जगत क्षेत्रीले नेपाली साहित्य सम्मेलनको साहित्यिक तथा भाषिक योगदानमाथि अनुसन्धान गरी विद्यावारिधि प्राप्त गरेको तथ्य पनि यस पुस्तकबाट थाहा हुन्छ । यसले नेपाली साहित्य सम्मेलनको ऐतिहासिक गरिमा र महत्त्वलाई अझ स्पष्ट पार्दछ ।
सिक्किमको अपतन साहित्य परिषद्ले नेपाली साहित्यको विकासका साथै भुटिया र लेप्चा भाषाको साहित्यलाई पनि समान रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो । यसले आफ्नो उदार तथा समावेशी दृष्टिकोण प्रस्तुत गरेको देखिन्छ ।
त्यसैगरी डुवर्स नेपाली साहित्य विकास समितिले नेपाली साहित्यकारहरूसँगै रवीन्द्रनाथ ठाकुरजस्ता बंगाली साहित्यकारलाई पनि सम्मान गरेको तथ्यले नेपाली भाषी समाजको उदार सोचलाई प्रतिबिम्बित गर्दछ ।
यस पुस्तकमा असम गोरखा सम्मेलनबारे पनि चर्चा गरिएको छ । त्यस क्रममा अखिल भारतीय गोर्खा लिग असम पुगेपछि त्यहाँ गैरराजनीतिक संस्थाका रूपमा कसरी विकसित भयो र असमका नेपाली समुदायका लागि कसरी योगदान पुर्यायो भन्ने विषय पनि समेटिएको छ ।
भारतीय नेपाली भाषा–साहित्यका अग्रणी व्यक्तित्व पादरी गङ्गाप्रसाद प्रधानको योगदानको उचित सम्मान गर्दै कालिम्पोङको नेपाली साहित्य अध्ययन समितिले पहिलोपटक गङ्गाप्रसाद प्रधान जयन्ती मनाउन थालेको, पारसमणि प्रधान पुरस्कार स्थापना गरेको तथा आईसीएसई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्ने परम्परा सुरु गरेको तथ्य पनि यस पुस्तकबाट जानकारी हुन्छ ।
यीबाहेक उत्तराखण्ड, हिमाचल प्रदेश, कोलकाता, वाराणसी तथा नेपालका विभिन्न प्रमुख साहित्यिक र सामाजिक संस्थाहरूको परिचय र योगदानसमेत यस पुस्तकमा समेटिएको छ । यी संस्थाहरूले नेपाली भाषा, साहित्य, शिक्षा र समाजको उन्नतिमा पुर्याएको योगदान उल्लेखनीय रहेको देखिन्छ ।
यस पुस्तकमा जम्मा २३ वटा लेख समावेश छन् । तीमध्ये ११ वटा लेख पुस्तकका सम्पादक डा. मोहन पी. दाहालले लेखेका छन् भने अन्य लेखहरू डा. जगत क्षेत्री, डा. राजकुमारी दाहाल, चन्द्र शर्मा, कमल दीक्षित, आर. पी. लामा, डा. मेघनाथ क्षेत्री, कुमार क्षेत्री, विष्णुलाल उपाध्याय, नव सापकोटा, युवराज काफ्ले र सूर्यमणि शर्माले लेखेका छन् ।
समग्रमा, “हाम्रा संस्था: परिचय र परिचर्चा” नेपाली भाषी समाजका विभिन्न संस्थाहरूको इतिहास, योगदान र महत्त्व बुझ्नका लागि अत्यन्तै उपयोगी तथा सङ्ग्रहणीय पुस्तक हो । नेपाली समाजको सामाजिक, शैक्षिक, साहित्यिक र सांस्कृतिक विकासमा संस्थाहरूले खेलेको ऐतिहासिक भूमिका बुझ्न चाहने प्रत्येक पाठकका लागि यो पुस्तक अनिवार्य रूपमा अध्ययनयोग्य छ ।
दार्जिलिङ


