लघुकथा: दबदबा
“के भयो, हँ के भयो ?” पहिलोले सोध्यो ।
दोस्रोले छनक कसेर जवाफ फर्कायो, “अरूको बुद्धिमा लागेर करोडपति हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुनु बेस! कमसेकम कसरी जोगी भएँ भन्ने अनुभव त रहन्थ्यो!” ऊ कड्कियो ।
चर्को घामले उकुसमुकुस बनाएको थियो । उनीहरू चौतारीको छहारीमा बसेर पसिना पुछ्दै थिए । केही बेरको बसाइपछि शीतलताको आभास भयो अनि फेरि कुराकानी सुरु भयो । अहिलेको युवापुस्ता गफमा विश्वास गर्दैन, केवल परिणाम खोज्छ । उनीहरू परिणाममुखी छन् । विषय यति रोचक थियो कि सुन्नेहरूले पनि कान ठाडा पारेर सुनिरहेका देखिन्थे ।
दुई पुस्ताबीच कचहरी चल्यो । पुरानो पुस्तासँग विचारको द्वन्द्व चर्कियो । बुढापाकाको हरेक प्रसङ्ग केवल पद वा हैसियत टिकाइराख्ने कुरामा मात्र सीमित थियो । ‘घुमिफिरी रुम्जाटार’ भनेझैँ जसरी हुन्छ साँठगाँठ मिलाएर आफ्नो अस्तित्व बचाउने ध्याउन्नमा उनीहरू केन्द्रित थिए ।
वृद्धले सम्झाउँदै भने, “ल सुन केटा हो! तिमीहरूलाई केही थाहा छैन । आलाकाँचा छौ, विवेक पलाएकै छैन । आफ्नो सत्ता बचाउन पकड मजबुत हुनुपर्छ क्या! नत्र अरूले हेप्छन्, तल परिन्छ, बुझ्यौ ?” उनले सबैका अनुहारमा एकपटक पुलुक्क नजर दौडाए ।
पहिलोलाई असह्य भयो । ऊ रनक्क रन्कियो र निधार खुम्च्याउँदै बोल्यो, “तपाईंहरू नै विकासका बाधक हुनुहुन्छ अनि सधैँ सलाम र नमस्तेका भोका हुनुहुन्छ । युवाको जस्तो जोस, जाँगर र दृष्टिकोण अरू कसमा हुन्छ र ? ‘हाम्रो’ होइन ‘राम्रो’ मान्छे रोज्नुहोस्, अनि पो देशले चाहेको निकास पाउँछ!”
तर वृद्धले उसको कुरै सुनेनन् । ‘मेरो गोरुको बाह्रै टक्का’ गर्दै रवाफ देखाए, “माउभन्दा चल्ला बाठा भनेको यही हो, नउम्रिँदै तीनपाते! बोलिसक्नु छ र ? आफूलाई फाइदा हुने काम गर्नुपर्छ भन्दा पनि बुझ्ने होइन!” उनी झन् भड्किए ।
सबै कुरा सुनिरहेको दोस्रोले परिस्थिति नियाल्यो । उसले फिस्स हाँस्दै ऐना देखाइदियो, “यो दबदबा पनि एउटा मनोरोग नै रहेछ क्यारे! हरेक कुरालाई शङ्काकै दृष्टिले हेर्नुपर्ने, आखिर किन यतिविघ्न डराएका ?”


