उसले दिदीलाई मिचेर घर उभ्यायो ।
“मलाई मिच्न सहज छ । यत्रतत्र खुलेका मुख सिए हुन्छ । तर प्राकृतिक नीति विरुद्ध जाँदा हुने जोखिम बहन गर्न तयार होऊ ।”
दिदीले गुनासो मिश्रित आशयका साथ धम्कीपूर्ण बोली निकालिन् ।
ऊ असाध्यै खुसी भयो । मख्ख परेर आफैंले आफूलाई राजा नै घोषणा गऱ्यो । सीमा अझै मिच्यो । आलिसान महल उभ्यायो । दिदी खुम्चेर त्यान्द्रो बनिन् । उसले मनमौजी धर्ती खोस्रियो । थरी थरीका महल उपद्रव गर्न छाडेन ।
रुखबिरुवाको जरै उखल्यो । रोप्ने नामै लिएन । हरियो देख्यो कि शत्रु नै उभिन लागेजस्तो गर्यो । उसले लोकलाजलाई पचायो । दिदीलाई धरधरी रुने बनायो ।
रुँदै बसेकी दिदीको पालो आयो । दिदीका दिन सप्रिए । उसका दिन बिग्रिए । दिदीले पुरानो थातथलो छाड्न चेतावनी दिइन् । उसले टेरपुच्छर लगाएन ।
अनि त उसलाई बालुवामा पुरेको मात्रै आरोप लाग्यो दिदीलाई अहिले । तर दिदीका टाउकामा पहिले बजारिएको अपमानको झटाराको ख्याल कसैलाई भएन ।
०००
रूपनगर, सप्तरी ।