“दुई दिनपछि हाम्रो ठाउँमा माननीयज्यू आउँदै हुनुहुन्छ । उहाँको स्वागत भव्य र यादगार हुनु पर्छ । के कसरी गर्ने? छलफल गरौँ ।
“युवा क्लबका अध्यक्ष समीरले साथीहरूसंग प्रस्ताव राख्यो ।”
क्लबका सबैजना मिटिङमा बसे । छलफल सुरू भयो ।
कसैले ठूलो रेस्टुरेन्टमा लगेर खाना खुवाउने भने, कसैले लजमा वा पार्टी कार्यालयमा बसौँ भने ।
अशोक जुरूक्क उठ्यो र भन्यो,
‘सबैभन्दा राम्रो त उहाँको आगमनको अवसरमा कुनै कार्यक्रम राखौँ । त्यसो गर्दा उहाँ पनि खुसी हुने हामीले पनि स्वागत् गरे जस्तो हुने भयो ।’
सबैले सहमति जनाए । कार्यक्रम सफल पार्न व्यापक सहभागिता जुटाउने प्रयासमा प्रचार-प्रसार सुरु भयो, घरदैलोमा पुगेर सबैजनालाई उपस्थिति जनाउन अनुरोध गरे ।
नजिकैको चौतारीमा तोकिएकै समयमा माननीयज्यूको आगमन भयो । स्वागत कार्यक्रम सुरू भयो । उद्घोषकले अतिथि आशन ग्रहण गराए । मञ्चामुखभन्दा मञ्चासिन धेरै भए । कार्यक्रम सञ्चालकले अतिथिहरुलाई क्रमश: मन्तव्यका लागि समय दिदै थिए, माननीयज्यूले खुसुक्क अध्यक्ष समीरलाई सोध्नु भयो,
“खै त, मानिस यत्ति हुन् ?”
समीरले पनि खुसुक्कै जवाफ दियो,
“बोलाउन त सबैलाई बोलाएको हो । आइदिएनन् के गर्नु ? को आफ्नो, को पराई ? जनता अब विश्वासका लायक भएनन् । केही भन्यो कि उल्टै खाउँला जस्तो पो गर्छन् ।”
कुरा सुनिरहेका माननीयज्यू टाउको निहुर्याएर सोच्दै थिए,
“जनता पहिलाका जस्ता भेडा रहेनछन् । अब राजनीति गर्न गाह्रो छ ।”
गैंडाकोट ४ नवलपुर


