उनी छिन-छिन पाउजु अनि
छुन-छुन चुरा बजाउँदै
कहिले यता कहिले उता
गरिरहन्छिन्
मेरो दैलोलाई किनार बनाएर तरिरहन्छिन्
हिल जुत्ताको ट्वाक ट्वाक आवाजमा सररर
सारीको पारी र सप्को पारिरहन्छिन
कहिले स्वांक्क बनाउँछिन् पर्दा अनि
ढ्वाक्क बनाउँछिन् ढोका
कहिले झ्यालको पर्दाबाट चियाउँछिन् बाहिर
कहिले लमतन्न ओछ्यानमा पल्टिरहन्छिन !
पाउजुले मेरा कान ठाडा बनाउँछन्
चुराले झन कम्पन बढाउँछ
जुत्ताको ट्वाक ट्वाक ले
मेरा मुटु ढ्वाक ढ्वाक बनाउँछ
धन्न सारीको सप्को र पारिले स्थिर बनाउँछ ..!
ड्याम्म ढोका थुनेर झ्यालको पर्दा तानेर
मधुरो पहेंलो बत्ती बालेर मध्यरात्रीमा
घुरमाहिलो आफ्नो प्रतिबिम्ब हेर्छिन होलि
दराजमा टाँस्सिएको ऐनामा नग्न भएर !
म पनि यस्तै सोच्छु मध्यरात्रीमा
मेरो कोठै छेऊ अर्को कोठामा बस्ने
ए परम सु:स्त्री
म आँखा उठाएर हेर्ने आँट गर्दिन तिम्रा नितम्बमा
उठ्दैनन मेरा हातहरु अभिवादन भनेर
हेर्दैनौ सिधा नजरले एक झलक
झुकेका मेरो आँखाहरूमा
अब
नझस्काउ मेरो मष्तिस्कलाई नग्न भएर
नतर्साउ म एकाग्र तिमीलाई कल्पिरहेको बेलामा
मलाई भोग्न देऊ
मेरा कल्पनामा धमिलो पहेंलो बत्तिमा
घुरमहिलो तिम्रो नग्न प्रतिबिम्बमा मलाई डुब्न देऊ
ए परम स्त्री मलाई डुब्न मन लागेको
तिम्रो आँखा कस्तो छ ?
मलाई चुम्न मन लागेको
तिम्रो अधर कस्तो छ ?
मलाई भर्न मन लागेको
तिम्रो अंगालो तातो चिसो कस्तो छ ?
कि आइदेउ मेरो दैलोको किनार नाघेर
ढोका ढकढकाएर पर्दा सघेटेर
बिरालोको चाल मारेर
आउँछौ भने भन म सजाउने छु
मेरो मनको भित्ताहरुमा
आँप चांप पिपल र लालपत्ताको तोरेनले सजाउँदै गर्छु
तिमी रुद्री पुजा बनेर आउनु
नत्र नतोड मेरो एकाग्र
मेरो लक्ष्य अर्कै छ
मेरो बाटो अर्कै छ
ए परम सु:स्त्री
मेरो बाटो अर्कै छ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।