शताब्दीयौँको इतिहास
बिरुवाहरु मानिसलाई
फूलहरु मानिसलाई
फलहरु पनि मानिसलाई
नदीहरु मानिसलाई
पहाडहरु पनि मानिसलाई
आकाश पनि मानिसलाई
बतास पनि मानिसलाई
तारा, जुन, घाम मानिसलाई
घोडाहरु, चराहरु तिमीलाई
माछाहरु पनि मानिस तिमीलाई ।
तर
मानिस
ऊ हेर त आकाश माथि !
बारुदका मुस्लाहरु ,
ऊ हेर त हस्तिनापुर र पाँच गाँउहरु !
मानिस तिमी तिम्रा निम्ति पनि छैनौं
यता हेर त वर्तमानको आफ्नै नेतृत्वलाई !
यी निरीह पसिनाका मानिसहरु
तिनकै पसिना माथिका परजीविहरु
ती कति काला छन् ?
कति रक्तपिपासु छन् सधैं ।
मानिस तिमीसंग
सदियौँ अविश्वाश छ
तिमीसंग फूलको झै
कुनै रुप छैन
हो
तिमीसंग फूलको झै
कुनै सुवास छैन , कुनै इतिहास छैन ।


