स्कुल पढ्दा देखि नै रोशनले सरितालाई मन पराउँथ्यो । कलेज पढ्दा खेरि पनि उनीहरु संगसंगै भए । रोशन ब्राह्मण जातको थियो भने सरिता नेवार जातकी । रोशनले प्रेमको प्रस्ताव राख्दा सरिताले जात नमिल्ने कुरा गरिन् । अहिले २१औं शताब्दीमा पनि के जातपातको कुरा गरेको मन मिल्नुपर्छ भईहाल्यो नि भनेर बुझाउने प्रयत्न गऱ्यो । सरिताको पनि भित्री इच्छा त रोशन नै थियो । तैपनि तिम्रो परिवारले स्वीकार गर्दैनन् भनेर सम्झाउने कोसिस गरिन् । रोशनको ढिपिको अगाडी सरिताको केही लागेन ।
रोशनले घरपरिवारमा आफ्नो इच्छा व्यक्त गऱ्यो । उनका बाबु कट्टर ब्राह्मण थिए । उनले त्यसो हो भने यो घरमा फर्किएर आउनै पर्दैन भने । रोशन निराश भएर फर्कियो र आफ्नो दुईचार जना साथीभाई बोलाई एउटा मन्दिरमा गई सरिताको सिउँदोमा सिन्दुर हाल्यो । उनीहरुले भगवान साक्षी राखी जुगजुगसम्म संगै जिउने बाचा गरे । सबैले थपडी बजाए ।
उनीहरुको एउटा छोरा पनि जन्मियो । उनीहरु शहरमा एउटा सामान्य चिया पसल चलाएर बसेका थिए । त्यसले गुजारा नचल्ने भएपछि रोशन वैदेशिक रोजगारीका लागि साउदी अरब तिर लाग्यो । त्यहाँबाट उसले दुईचार दिनमा फोन गरिरहन्थ्यो र महिनैपिच्छे पैसा पठाईरहन्थ्यो ।
समय बित्दै गयो पल्लो घरमा बस्ने अशोकसँग सरिताको हिमचिम बढ्दै जान थाल्यो । अशोक अफिसबाट आउँदा तरकारी पनि ल्याईदिन्थ्यो । बेलाबेलामा उनीहरु सँगै सपिङ्ग जान थाले । सरिता अशोकको काखमा लुटपुटिन थालिन् । अब उनले अशोकलाई छोड्नै नसक्ने बताइन् ।
उता रोशनले फोन गर्दा सब ठिक छ भन्थिन । रोशन पनि दुई वर्ष पूरा गरेर छुट्टीमा आउने भयो र खुसी हुँदै सरितालाई फाने गऱ्यो । उनले पनि बनावटी खुसी व्यक्त गरिन् । टिकट काटेर ऊ नेपाल फर्कियो । एयरपोर्टबाट सरितालाई फोन गऱ्यो । फोन स्वीच अफ भइसकेको थियो । एयरपोर्टको प्रक्रिया पूरा गरेर ट्याक्सी रिजर्भ गरी ऊ कोठामा पुग्यो र झस्कियो ।
टेबुलमा एउटा कागजको टुक्रा देख्यो र टिप्यो त्यसमा लेखिएको थियाे –
“प्रिय रोशन ! मैले जवानीको भोक खप्न सकिन र अर्कै बाटो रोजें । तिम्रो नासो तिमीलाई नै छोडेको छु । राम्रोसँग सम्हाल । म टाढा भइसकें ।”
उसलाई रिंगटा चल्यो । उसको मस्तिष्कमा संगसंगै जिउने बाचा गरेको त्यो पल घुमिरह्यो । उसले विदेशमा गरेको दुःख सम्झियो । ऊ रित्तो थियो । उसले हातमा ठेला हेऱ्यो र उसको हातमा कागज अझै थियो । कोठामा छोरो रोइरहेको थियो ।