आमा सपनामा
सुनको अन्डा दिने चरा देख्छु
असर्फी बर्साउने लालमोहर लागेको हरियो चरा
आहा त्यही चराको ढाडमा चडेर
परको रङ्गिन संसारमा जान पाए ??
स्वर्ग पुग्न पाए
झिलिमिलीको दरबार घुम्न पाए
संसार डुल्न पाए
हेर न गाउँभरिका
आकाशभरी उडिसके
गाडधन भएको ठाउँमा पुगिसके
आमा म पनि उड्न पाए
तिम्रो च्यातिएको गुनिउं फेरेर
रेसमले भर्ने थिए
मखमलको चोली ल्याउने थिए
बडामहारानी बनाउने थिए तिमीलाई
बालाई स्त्री गरेको पोसाकमा घोडा चडाउने थिए
तिम्री दुलही ढिडोको साटो कुरौनि पकाउथी
आमा मलाई पनि उड्न देउन हरियो चरो सङै
यी किरिङ मिरिङ अक्षरले दिक्क लाग्यो मलाइ
डल्ला फुटाउदा फुटाउदा भाग्यरेखानै मेटिन लाग्यो हातको
मेरो विद्यालयको मार्कसिटले जाउलो सम्म साट्दैन अरे
आमा म सपनामा बहकिदै गए
तितो लाग्छ यहाँको पानी
झर्को लाग्छ यहाँको भाषा
पाखे लाग्छ यहाँको पोसाक
मलाइ त्यही सपना
प्यारो छ
मलाई गोबर गनाउन थालेको छ
मालिगाइ हिंस्रक लाग्न थालेको छ
गाउलेहरु फोहोरी देख्न थालेको छु
गाउँ नर्क लाग्न थालेको छ
मलाइ छिटै यहाँबाट भाग्न मन छ
नभन्दै एकदिन
माखा मुन्द्रो चौगेडी कित्ता नम्बर कर्जा
पिलाउदा पिलाउदा
सरकारी तगारो नाघेर
सपना जस्तै विपनामा पनि
लालमोहर लागेको हरियो चरो आउँछ
र उडाएर लैजान्छ आकाशै आकाश
कयौँ माइल टाढा
समुद्र पारी पुऱ्याउँछ
र बजार्छ अन्कन्टार मरुभुमीमा अनि बेपत्ता हुन्छ हरियो चरा
भाषा नबुझ्ने अपरिचितको चङ्गुलभित्र पसेर ।
स्मरण रहोस त्यो हरियो चरो राहदानी हो
र बेपत्ता युवक नेपाली हो
यता आमा सपनामा मखमलको चोलो सुम्सुम्याईरहेकी छिन्
उनकि दुलही कुरौनी पकाइरहेकी छिन
बा स्त्री गरेको लुगामा घोडा चडिरहेका छन्
सपनाले खै क-कस्लाइ धोका दियो
खप्न नसकेर जवानले उतै बीस पियो
स्मरण रहोस हरियो चरो राहादानी हो ।
र बेपत्ता युवक नेपाली हो ।।।



