डिकी डोल्माले डेन्डाङ बजार नजिकैको चिनिया गाउँको केटासँग दोस्रो बिहे गरिन् । लोग्नेसँगै माइत आएको बेला डोल्माका बाबु र दाजु अलैंची टिप्न जाने भए । टन्न छ्याङ खाएको उनको लोग्ने पनि अलैंची टिप्न जान खोज्यो । डोल्माले बिन्तीभाउ गरेर उसलाई रोकिन् । किनभने त्यो अलैंची बगान अरुण नदी छेउको कठिन पहरामा थियो।
डोल्माको पहिलो बिहे हुङगुङ गाउँको केटासँग भएको थियो । ससुराली बस्न आएको बेला टन्न छ्याङ खाएर अलैंची गोड्न गएको ऊ भीरबाट अरुण नदीमा खसेर मरेको थियो । बिहे भएको २ महिनामै उनी विधवा भएकी थिइन् ।
भोलिपल्ट डोल्माका बुढाबुढी अलैंची टिप्न जाने भए । जाने बेलामा जाँडरक्सी खान हुँदैन, फर्कने बेलामा पो खाने हो भनेर उनले सातु र चिया मात्र खान दिइन् ।
असजिलो ठाउँको अलैंची उनको बाबु र दाजुले टिपिसकेका रहेछन् । सजिलो ठाउँको अलैंची उनीहरूले टिपे र भारी बोकेर चौतारामा आएर खाजा खान लागे । यसैबीचमा दाउरा लिन गएका डोल्माका साथीहरू पनि आइपुगे । सबैजनाले बाँडीचुँडी खाजा खाए ।
छ्याङ खादै उनको लोग्ने छेवाङले सोध्यो – ” डोल्मा ! तिमीलाई के कुराको डर लाग्छ । ”
“मलाई अरू केही कुराको डर लाग्दैन । तर म तिमीलाई एक्लै हिमाल चढ्न र एक्लै अलैंची गोड्न टिप्न जान दिन्न । किनकि हिमाल चढ्न जाँदा मेरो जेठो दाजु र अलैंची गोड्न जाँदा मेरो पहिलो लोग्ने भिरबाट खसेर मरेका थिए । “डोल्माले प्याट्ट गालामा हान्दै बोलिन् । उनका साथीहरू भने ताली बजाउन थाले ।
मातातीर्थ ,बालागाउँ
काठमाडौं